
कसरी हामी शाकाहरी बन्यौं ?
अनुभुतिः अब मासु नखाने
राधिका अर्याल (फुयाल)
कभरआर्टिस्टः ज्ञानराज अर्याल
बडादशैंले सबैको घर आँगनमा रौनकता ल्यायो । दशैं भन्ने बित्तिकै सबैको मनमा एउटा कुरा आउँछ । मीठो मसिनो खाने, राम्रो लुगाफाटा लगाउने, आफन्तजनहरुसँग भेटघाट गर्न पाइने, बर्षभरि दुःख गरे पनि दशैंको समयमा निर्धक्कसँग परिवारसँग बसेर रमाइलो गर्ने । किसानले मुरी भित्र्याउने समय, परदेशीहरु आफ्नो ठाउँमा जाने समय, जागिरेहरुले चाडबाडको बोनस पाउने समय आहा ! कति रमाइलो समय । मौसमले पनि यत्तिकै साथ दिएको हुन्छ । न जाडो न गर्मि, ठिक्कको मौसम । शरद ऋतुको मिठो हावासँगै बयेली खेलेका पहेँलै फाँटहरु । सम्झदै आनन्द आउने ।
पहिले र अहिलेको दशैंमा भने धेरै नै अन्तर देखिन्छ । पहिलेको दशैं कहाँ अहिलेको जस्तो मात्र हुन्थ्यो र ? अहिलेको दशैं हेर्दा त आलङ्कारिक मात्र लाग्छ । दशैं आउनुभन्दा धेरै समय अघिदेखि सबै कुराको जोहो हुन थाल्थ्यो । अहिले जस्तो यातायातका साधनहरु पर्याप्त नहुने हुनाले सबैजना पहिल्यैदेखि आफ्नो तयारीमा जुट्थे । खेती भित्रयाउने चटारो त्यत्तिकै हुन्थ्यो । घर लितपोत, चोख्याउने काम, किनमेल सबैको लागि तयारी हुन्थ्यो ।
सबैको जस्तै मेरो पनि दशैं मनपर्ने चाड हो । सानैदेखि दशैंलाई विशेष पर्वको रुपमा बुझेकी छु । हुनपनि दशैं खाने, लाउने, रमाइलो गर्ने पर्वमात्र नभएर धार्मिक महत्व बोकेको पर्व पनि हुनाले यो पर्व अझ महत्वपूर्ण लाग्छ । ‘असत्यमाथि सत्यको जित’ भएको दिनको स्मरण गर्दै यो पर्व मनाइने भएकोले हरेक दशैंमा ‘सबै नराम्रा विचार र शक्तिहरुको नाशहोस्, भगवती दुर्गाले सबैमा राम्रो विचार र शक्तिको विजारोपण गर्नुहोस् ।’ विद्यालय पढ्दा शिक्षकले दशैंको बारेमा यसरी भन्नुहुन्थ्यो, ‘सोह्र श्राद्ध सोह्र दिन, नवरात्री नौ दिन, खानु छ तीन दिन, साहु आउँछ दिनदिन ।’ साँच्चै अभावमा बाँचेको मान्छेको वास्तविकता हो यो ।

दशैं आउनुभन्दा धेरै अघिदेखि आमा, काकीहरु टाढा–टाढा गएर घर रङ्ग्याउने माटोको व्यवस्था गर्न थाल्नुहुन्थ्यो । रातो माटो, कालो माटो, कमेरो आदि । हामी पनि रमाई–रमाइ आमा, काकीहरुलाई सघाउन भनेर स–साना झोलाहरु बोकेर टोल भरिका बच्चाहरु लाइन लागेर परसम्म जान्थ्यौं । बेला–बखतमा माटोको खानी लडेर गाउँका भाउजु, काकीहरु कसैको हात, कसैको खुट्टा घाइते नभएको होइन । तरपनि हरसाल बिहान सबेरै माटोलिन जानेको ताँती नै लाग्थ्यो । ढिला जाँदा नराम्रो माटोमात्र पाइन्थ्यो । आमाहरुले ल्याएको माटोलाई ठूलो भाँडोमा भिजाएर घरको माथि–माथि पु¥याएर घर रङ्ग्याउने काम भने बुबा–काकाहरुले गर्नुहुन्थ्यो । हामी बच्चाहरु भने आमाहरुसँगै रातो र कालो माटो लगाएजस्तो मात्र ग¥थ्यौं । कसको भन्दा कसको घर राम्रो भन्ने होडबाजी हामी बच्चाहरुको हुन्थ्यो । आमाहरुलाई भने खेती भित्रयाउने, खानेकुराको जाहो गर्ने, घर व्यवहार भ्याइनभ्याइ हुन्थ्यो । घटस्थापनाको दिन बिहानै हामीलाई नुहाउनुपर्छ भनेर आमा हामीलाई धारामा लानुहुन्थ्यो । अनि आमैले सबैकुरा ठिक पारेपछि काकालाई जमरा राख्न लगाउनुहुन्थ्यो । अनि हामी पनि रमाइ रमाई काकालाई साथ दिन्थ्यौं । बुबाले घरभरिका बच्चाहरुका लागि भनेर बजारबाट एउटै खालका लुगाहरु ल्याउनुहुन्थ्यो । भाइ, बैनी, मलाई दर्जि बुबाले घरको आँगनमा बसेर लुगा नाप्दै सिलाउनुहुन्थ्यो । कति रमाइलो थियो बालापन अनि दशैं । विद्यालयमा दशैं अघि अनेक कविता लेखेका पोष्टकार्डहरु आदानप्रदान हुन्थ्यो । अनि कसको पोष्टकार्ड धेरै भयो भन्ने होडबाजी हुन्थ्यो ।
पूmलपातीको दिनमा आमैंले हामी बच्चहरुलाई ‘आज यति घडिमा टुँडिखेलमा बढाईँ हुन्छ फुलपाती समयमै भित्र्याउनुपर्छ’ भनेर उखुको बोट, केराको पात, धानको बोट, दारिम, पूmलको बोट, अदुवाको बोट आदि ल्याउन लाउनुहुन्थ्यो । हामीलाई पनि रमाइलो लाग्थ्यो । हामी खुशी मान्दै सबै बटुल्थ्यौं । पिङ हाल्नका लागि गाउँका दाईहरुको अग्रसरता हुन्थ्यो । हामी भने लङ्गुरबुर्जाको खाल राख्ने तयारीमा लाग्थ्यौं ।
पूmलपातीको दिनसम्म सबैको घरमा खसी बोकोले म्या, म्या गर्न थालिसकेको हुन्थ्यो । प्रायः हरेक घरमा खसी–बोका ल्याइएको हुन्थ्यो । हाम्रो घरमा पनि बुबाले ल्याउनुभयो । हामीलाई रमाइलो लाग्यो । आफ्नो घरका भैंसि, बाख्रा, बोका बेच्दा क्वाँ-क्वाँ रुने हामी अर्काको घरमा पालेको खसी बोका ल्याएर काट्दाचाहिँ रमाइलो लाग्थ्यो । आफ्नो गाई, बाख्रा, भैंसीलाई चाहि काली, सेती, मुनि, गाजली, लाटु भनेर मायाले चाट्ने हामी अन्तबाट ल्याएका खसी बोका काटेर तिनको मासु खान भने मरिहत्ते ग-थ्यौं ।
अष्टमीको दिन आयो । सबैका घरमा खसी, बोका काट्ने तयारी हुँदैथियो । कतै पानी बसालीएको थियो, कतै काटेर मिलाउने ठाउँको तयारी भैरहेको थियो । हामी टोलभरिका बच्चाहरु कहिले कता, कहिले कता चाहार्दै हिड्थ्यौं । हाम्रोमा पनि बोका काट्ने भयौं । बुबाले पुजा गर्ने र पर्सने, सामान ल्याउन भन्नुभयो । सामान ल्याएर बोकोलाई पुजा गर्न लागेको बेला बोको फुत्त भागेर गयो । बुबाले हामीलाई बोको खोजेर ल्याउन भन्नुभयो । हामी बाकोलाई खोज्दै जाँदा घर नजिकैको पिपलको बोट पुग्यौं । त्यहाँ पुग्दा म र मेरा भइबैनीको आँशु थामिएन । संयोगले घर नजिकैको छिमेकीको घरमा र हाम्रो घरमा ल्याएको बोकाहरु जुम्ल्याहा रहेछन् । ती दुवै घरबाट भागेर मर्ने बेलमा भेटन आएछन् । हामी पुग्दा एक अर्कासँग गला मिलाएर चिन्तित मुद्रामा थिए । हामी त्यो देखेर अत्यन्त भाबुक बन्यौं र हाम्री बाख्रीले भर्खर पाएका मुनिहरुलाई सम्झियौं । हामी त्यहिँ रुन थाल्यौं । हामीलाई र बोकालाई खोज्दै बुबा अनि छिमेकी आइपुग्नुभयो र दुवैले आ–-आफ्नो बोकालाई लिएर जानुभयो ।
घर पुगेपछि बच्चाहरुको सानोतिनो आन्दोलन नै भयो । हामी बेसरी रोयौं र अब आइन्दा हाम्रो घरमा चाहिँ खसी बोका काटिने छैन भनेर बुबालाई वाचा गरायौं । त्यसै सालदेखि हामी शाकाहरी बन्यौं । ‘अब मासु नखाने’ भनेर सधैंका लागि मांसहार ल्याथ्यौं । अनि हाम्रो बाख्रीले कहिल्यै छोरा नपाओस् भनेर प्रार्थना ग-यौं किन भने छोरा पाउने बित्तिकै ऊ छिट्टो बिक्रि हुने पक्का थियो ।
मासु मेरो मनपर्ने परिकार थियो । बोकाको पोलेको कान र रातो काँचो मासु असाध्यै मन प-थ्र्यो । मासु चपाउँदै पिङ खेल्न जाँदा कम्ति आनन्द आउँदैनथ्यो । तर ती बचपनका दिनदेखि अहिलेसम्म साकाहारी नै हुँ । यद्यपी परिवार छोराछोरीका लागि जे भन्यौं त्यहि बनाइदिन्छु र मासु खानेहरुको उपेक्षा पनि गर्दिनँ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



