१ सय १० पुरुषलाई सोधेँ, ‘किन दुर्गाभवानीको मन्दिर धाएको ?’

महिलावादी दृष्टिकोणबाट नेपाली चाडपर्व

प्रतिमा शर्मा
अधिवक्ता, महिला अधिकारकर्मी

घटस्थापनाको दिनदेखि गाउँ र शहर हेर्ने लायकका हुन्छन् । शिक्षा तथा रोजीरोटीको लागि गाउँ बाहिर, शहर बाहिर र देश बाहिर गएका नागरिकहरु आ–आफ्नो घर फर्कदै गरेको दृष्य जति रमाइलो छ, त्यति नै रोचक छ दुर्गा भवानीको शक्तिपीठहरुमा बली चढाउने र पूँजा गर्नेहरुको घुइचो, विशेषगरी पुरुषहरुको उपस्थिती हेर्नेलायक छ । घटस्थापनाको दिनदेखि महाशक्तिशाली मानिएको काली र दुर्गाभवानीको मन्दिरमा बली चढाउने र पूँजा गर्नेहरुमध्ये पुरुषको लामो लस्कर देखिन्छ । यसलाई महिलावादी दृष्टिकोणबाट “शक्तिका भोका” र जिवित महिलाको उपेक्षा गर्नेहरुले महिला भगवानको मुर्तिमा दुई हात जोडेर, सीर निहुराएर र देवीको पाउ परेर काली र दुर्गाभवानीमा भएको महाँशक्ति मलाई प्राप्त होस भनेर यचना गरिएको देखिन्छ जसलाई ‘ढोगी र नौ टैकी’ भनेर बिश्लेषण गर्न सकिन्छ । जहिले पनि जहाँ पनि, सक्षम महिला भए पनि पुरुषहरुलाई समान शक्तिसम्बन्ध अस्वभाविक लाग्दछ र आफुलाई महिलाभन्दा श्रेष्ठ हुन मनपर्छ, महिलाको सही तर्कलाई पनि सहजरुपमा लिन र स्वीकार गर्न हिच्किचाउँछन् पुरुषहरु किनकी पितृसत्ताको प्वाल हो त्यो र पितृसत्ताकै कारण सिर्जित जड मानसिकता हो त्यो जो पुर्न जरुरी छ ।

पितृसत्ताकै कारण सबै धर्महरुमा महिलालाई प्रलोभनको रुपमा प्रस्तुत गरिएको छ । व्रत, पूँजा र पुरुषको आरधनामा नलाग्ने महिलालाई पापी, अलक्षिनी र भगवानले मन नपराउने व्यक्तिको संज्ञा दिएर जबरजस्ती व्रत, पूँजा र पुरुषको आरधनामा लाग्न मानसिकरुपमा बाध्य बनाइएको छ । लेखेपढेका महिलाहरु समेत यद्यपि स्नातक र स्नाकत्तोर गरेका, डाक्टर, वकिल, विद्यावारिधी गरेका व्यक्ति, शिक्षिका र तालिम दिदै हिड्ने प्रशिक्षक जस्ता महिलाहरुसमेत आफ्नो स्वास्थ्यका लागि होइन, पतिको आयु र स्वास्थ्य राम्रो होस् भनेर ब्रत बस्छन्, दिनभरी लाइनमा बसेर पूजा गर्दछन् र पत्नीको यो हालत देखेर अधिकांश पतिहरु वा रे वा मेरी पत्नी कति संस्कारी भनेर असाध्य खुसी हुन्छन् ।

चाडपर्व कुनै न कुनै धर्म र संस्कारसँग जोडिएको छ । मान्ने नमान्ने वा विश्वास गर्ने नगर्ने आ–आफ्नो कुरा होला तर पनि अन्धविश्वासको अनुसरण जारी छ गाजा र अफिमको लतजस्तो । कार्लमाक्र्सले धर्मलाई अफिमको संज्ञा दिएका थिए भने माओत्सेतुङले पनि धर्मलाई माक्र्सवादी दृष्टिकोणसँग जोडेर सन १९४९ मा परम्परागत आडम्बरी धर्मका बिरुद्ध नास्तिकताको निति घोषणा गरेका थिए तथापी समुदायमा यो निति स्थापित हुन सकेन किनकी धर्म अफिम जस्तै एउटा लत हो । माओले भने झै अन्धविशवासी धर्मबाट महिला र पुरुष दुबै बाहिर आउन सकेका छैनन् । कार्लमाक्र्सले त्यो जमानामा पनि धर्मलाई अफिम किन भनेका थिए ? किनकी अफिम एउटा जटिल लत हो । यस्तो लत बसेपछि खराब छ भन्ने थाहा पाएर पनि छुटाउन गाह्रो हुन्छ । धर्म पनि त्यही अफिम जस्तै खतरनाक लत हो, जो बानी परेपछि छुटाउन गाह्रो हुन्छ उदाहरणका लागि संस्कार र धर्मका नाममा जातिगत छुवाछुत, महिनावारी, छाउपडी, सुत्केरी हुँदाको छुवाछुत र भेदभाव, नछुने र बार्ने संस्कार, पतिका लागि पत्नी व्रत, छोरीको कुमारित्व र श्रीमतिको सतित्व पनि धर्म र संस्कारसँग जोडिएको खराव लत हुन, यो अन्धविश्वासीपन हो तर नबारेका कारण वा यौनिकताको अधिकार प्रयोग गरेवापत पाप लाग्ने विषय होइनन् ।

माक्र्सवादी समाजवादी महिलावादीहरुले पनि धर्मलाई लैंगिकमैत्री बनाउनका लागि पुर्नलेखन गर्न जोड दिदै आएका छन् । धर्म एउटा समाजव्यवस्था भएकोले लैंगिकमैत्री समाज व्यवस्था बनाउनका लागि सबै प्रकारका धार्मिक दर्शनहरुलाई पुर्नलेखन गर्नु आवश्यक छ र यसरी पुर्नलेखन गरिने वा संशोधन गरिने धार्मिक ग्रन्थहरुलाई लैंगिक दृष्टीकोणबाट सेन्सर गरेरमात्र प्रकाशन र वितरण गर्नुपर्दछ । लैंगिकमैत्री पाठ्यक्रम बनाउनेदेखि, शिक्षण सामाग्री, गीतसंगित, धार्मिक ग्रन्थ, उत्पादनका साधन, बिज्ञापन, वितरण प्रणाली आदि सबै लैंगिकमैत्री हुन जरुरी छ । यसको लागि खास जिम्मेवारी राज्यको हो भने दवाव सिर्जना गर्ने जिम्मेवारी हाम्रो पनि हो किनकी घिउ सजिलै निस्किदैन भन्ने कुर महिलाबादीले बुझ्न जरुरी छ ।

Ad

सैयौ वर्ष अगाडिको सन्दर्भमा राज्यसत्ता कव्जा गर्ने हेतुले बनाइएका देबी देवताका पौराणिक कथाहरु सोधखोज र बहसका बिषय होलान तथापी वर्ग र पूजीँवाद सँगै उत्पन्न भएका राज्यसत्तासँग साइनो गासेको कथाले वर्तमान समाजमा र शिक्षित परिवारमा समेत सामाजिक मुल्यमान्यताको रुपमा गहिरो जरा गाडेको छ जुन हानिकारक अभ्यास हुन् । चिनीया कम्युनिस्ट पार्टीले आफ्ना नेता र कार्यकर्तालाई परम्पराबादी अन्धविश्वासी धर्मको पछाडि नलाग भनेर निर्देशन दिइएको पाइन्छ । नेपालमा पनि क्रान्तिकारी कम्युनिस्टहरुले अन्धविश्वासी धर्मप्रति विश्वास छैन भन्दै आएता पनि बिभिन्न बहानामा सबै प्रकारका चाडपर्व मनाउदै आएको देखेकै छौ । विभिन्न युगको विकाससँगै सत्ता व्यवस्थापन गर्ने विविध विधिहरुमध्ये एक विधि हो धर्मव्यवस्था । गीता, रामायण, महाभारत, बाइबल, कुरान, उपनिषद आदि धार्मिक तथा आध्यात्मिक दर्शनलाई उपकरणका रुपमा प्रयोग गरिएको पाइन्छ । यद्यपि चाडपर्वले व्यक्ति, परिवार, समाजको जीवनमा एउटा फरक रौनकता, रमाइलो भेटघाट र अनुभव आदानप्रदानको लागि हौसला दिन सक्छ तथापि तिज, इद, दशै, तिहार, छड, माघी, ल्होसार आदि तिनै पुराना, माक्किएका, विभेदपूर्ण र पुरुषप्रधान राज्यसत्तालाई मलजल गर्ने परम्परागत धार्मिक, सास्कृतिक र राजनितिक अभ्यास हुन् । यस्ता चाडपर्वलाई अन्धाधुन्द अंगाल्नु भन्दा, वा सास्कृतिक मिथलाई पुस्तान्त्रण गर्नुभन्दा बैज्ञानिक तरिकाले समयसापेक्ष, मितव्ययी, लैंगिकमैत्री र सहअस्तित्वबोद्य हुने खालको रुपान्त्रित पर्व बनाउन जरुरी छ । नयाँ पुस्तालाई चाडपर्वभित्र पनि लैंगिक समानताको सन्देश दिन जरुरी छ ।

दन्त्य कथा होस् वा पौराणिक कथा, सत्ते कथा होस वा भ्रमपूर्ण धार्मिक सास्कृतिक मन्दविषपान गराउदै पूँजिबादी पितृसत्तात्मक राज्यसत्ता जोगाउने द्वैधसस्कृति बोकेको कथा होस्, राजनेतादेखि काजनेतासम्मले दुर्गाभवानीका शक्तिपीठको सहारा लिएर आफु पनि सफल हुन सकुँ भनेर बरदान माग्दछन् । यिनले नयाँ पुस्तालाई कस्तो सन्देस दिएका छन् ? यति बेला राजा, महाराजा, नेता, कार्यकर्ता, धर्मगुरु, आध्यात्मवादी, जागिरे, व्यापारी, उद्योगी, गृहणी, विद्यार्थी, विकासे कार्यकर्ता, मानवअधिकारबादी अभियान्ता, महिलाबादी आदिले बडा दशै मनाएका छन् । कसैले घरमै शक्तिपीठ निर्माण गरी पूजाआरधना गरेर मनाएका छन् भने कसैले दुर्गाभवानीको मन्दिरमै धाएर आफु पनि कालीजस्तै सशक्त र दुर्गाभवानी जस्तै सफल हुनको लागि आशिर्वाद लिने गरेको पाइन्छ । किनकी, दुर्गाभवानी, काली आदि महाशक्तिशाली भएको कथा पढाइएको छ, फोटो, मुर्ति, मुभी र सिरियल्सहरु बनाइएको छ जसका कारण सबैलाई शक्तिशाली हुन मनपर्छ । तर यो लैंगिक दृष्टीकोणले विभेदपूर्ण संस्कृति हो र विभेदपूर्ण सस्कृति भए पनि यसकै अनुसरण र पुस्तान्त्रण गरिएको छ । सन्तानलाई सस्कृति र संस्कार सिकाउने नाममा बिभेदपूर्ण, तडकभडकसहित, खर्चालु धार्मिक र परम्परागत सस्कारको पुस्तान्त्रण गर्नु अवश्य पनि कुनै दृष्टिकोणबाट पनि हितकर छैन । यसलाई समयसान्र्दभिक, लैंगिकमैत्री, वर्गिय विभेद नहुनेगरी तडकभडकको अन्त्य र असल संस्कारको विकास गर्न परिमार्जन जरुरी छ ।

यसै सन्दर्भमा मैले बिभिन्न शक्तिपीठमा आएका ११० जना पुरुषलाई सोधेको थिएँ, किन दुर्गाभवानीको मन्दिरमा धाउनु भएको छ ? १० प्रतिशतले मन शान्तिका लागि र बाँकी ९० प्रतिशतले आफुले चाहेको शक्ति प्राप्त गर्न भन्ने जवाफ दिएका छन् । यसबाट आंकलन गर्न सकिन्छ पुरुष मानसिकता । हाम्रो समाजमा सबैभन्दा बढी शक्तिशाली पुरुष नै छन् । महिला र पुरुषबिच असमान शक्तिसम्बन्ध छ भन्ने कुरा हामी सबैले भोगेकै छौ । महिलामाथि सधै हिंसा, बिभेद र कुदृष्टि लगाउनेहरुले दशैंका नौ दिन महिला भगवानको पूजा गरेर उनीहरुसँग भएको शक्तिको गुणगान गाएर आफुले त्यस्तै शक्तिप्राप्त गर्नको लागि आर्शिवाद माग्छन् दशौं दिन । त्यसैगरी तिहारमा दिदीबहिनीहरुले दाजुभाइलाई यमराजबाट बचाउनको लागि विधिपूर्वक पूजा गरेर टिका र माला लगाइदिने परम्परा छ । तिजमा पतिका लागि पत्नीले ब्रत बस्दै आएका छन् । छड र इद पनि यस्तै पर्व हुन् । मात्र पुरुषको हितमा परिकल्पना गरिएको छ यी पर्वहरु । पितृसत्तात्मक राज्यसत्ता टिकाउनका लागि धेरै रहस्यात्मक छन् यी पर्वहरु जसलाई मैले ‘महिलावादी दृष्टिकोणबाट हानिकारक अभ्यास हुन् र यी सबै परिमार्जन गर्न जरुरी छ’ भन्छु ।

चाडपर्वलाई समाजमा एकता स्थापित गर्ने, भेटभाट हुने र उत्सवको रुपमा मनाउने कुरा गर्दै गर्दा पुरुष प्रधानतालाई स्थापित गरेको पाइन्छ जस्तै पत्नीहरुले भोकभोकै आफ्नो श्रीमानको लागि लामो आयु र राम्रो स्वास्थ्य मागेर तिजको ब्रत बस्छन र ऋषिपञ्चमी गर्छन् । तिहारमा दिदीबहिनीहरुले दाजुभाइकै लागि पूजा गर्दछन् । दशै पुरुषहरुले नै शक्ति प्राप्तिका लागि बलि दिने पूजा गर्ने गर्दछन, त्यसैगरी छोरा जन्मेमा खुसी मनाउँदै खसी काट्दछन्, छैटी गर्दछन् । छड र इदमा पनि पुरुषप्रधानता देखिन्छ । यी सबै धर्मकर्म र चाडपर्वले पितृसत्तात्मक राज्यसत्तालार्ई बलियो र संस्थागत बनाउन सहयोग गरेका छन् ।

पुरुषलाई प्रधान मान्ने र लैंगिक भेदभाव भएका चाडपर्व, दर्शन, धर्म र संस्कृतिले लैंगिक बिभेद त गरेकै छ, महिलामानवअधिकारको हनन् पनि भएको छ, महिलाको प्रजनन् स्वास्थ्य अधिकार र यौनिकतामाथि नियन्त्रण गरिएको छ, र महिलाको सामाजिक जीवनमा अंकुश लगाइएको छ । विभिन्न समयमा विभिन्न कार्यक्रम, अन्तरवार्ता, लेख, बहस र सेमीनारबाट रुपान्त्रण हुुनुपर्छ भनेर भाषण गरे पनि रुपान्त्रणका लागि राज्यव्यवस्था तयार देखिदैन । यसलाई द्वैधवादी संस्कृति पनि भनिन्छ । महिलावादी आन्दोलनलाई कमजोर बनाउने खतरनाक भाइरस पनि हो यो जसले सकरात्मक रुपान्त्रणका लागि अंकुश लगाउँछ र महिलालाई आफ्नो अधिकार र यौनिकताबारे बोल्नबाट सैयौ वर्ष पछाडि धकेल्छ । महिला सक्षम छैनन् भन्ने कुरा आरोप मात्र हो । कानुनमा एउटा लेख्ने, व्यवहारमा अर्को गर्ने, भाषणमा एउटा भन्ने संस्थागत संरचनाको विकास र अवसरमा पहुँच बृद्धि गर्ने समयमा मुटु कमाउने प्रवृत्ति रहेसम्म रुपान्त्रण सम्भव छैन । त्यसैले महिलावादी दृष्टिकोण अनुसार लैंगिक समानताका लागि धार्मिक ग्रन्थको पुर्नलेखन, सामाजिक, सांस्कृतिक र राज्य व्यवस्थाको रुपान्त्रण र पूँजीवादी पितृसत्ताको अन्त्य हुनु आवश्यक छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button