के हो सेक्स ट्यूनिङ ?

श्रीरामसिंह बस्नेत
लेखक, जीवनका लागि यौन, यौनका सुखदुःख, यौनका फूल यौनका काँडा

अङ्ग्रेजी शब्द ‘ट्यूनिङ’ को अर्थ हुन्छ– लय, सुर, ताल मिलाउनु । यौनको मामलामा यो शब्दको प्रयोग कमै भएको पाइन्छ तर यसको अर्थ गहिरो छ । यदि कुनै जोडी पति–पत्नी, प्रेमी–प्रेमिका वा अरु कुनै पुरुष–महिलाबीच अत्यन्तै राम्रो यौन समझदारी (शारीरिक र भावनात्मक दुवै) छ भने त्यसलाई ‘सेक्स ट्यूनिङ’ अर्थात् यौन लय मिलेको जोडी मानिन्छ ।

यो अत्यन्तै महत्वपूर्ण विषय मात्र होइन, व्यक्तिको जीवनको दिशासमेत निर्धारण गर्ने विषय हो । पति–पत्नीकाबीच यौन लय मिलेको छ भने उनीहरुको दाम्पत्य जीवन अत्यन्त सुखद हुन्छ । अन्यथा उनीहरुको यौन सम्बन्ध भोग्ने र भोगिने कार्यमा मात्र सिमित रहन्छ । सन्तान हुनु नै यौन लय मिलेको प्रमाण भने होइन । लय नमिलेको यौन सम्पर्कबाट पनि सन्तान हुन सक्छ, आमरुपमा हुने त्यही नै हो ।

यहाँनिर यौन लय कसरी मिलाउने त भन्ने प्रश्न सबैभन्दा महत्वपूर्ण भएर उभिन्छ । यौन लय मिलाउनका लागि पहिलो आधार भनेको पति–पत्नीबीचको समझदारी र प्रगाढ माया नै हो । त्यसपछि शारीरिक सम्बन्धको कलात्मकता हो । यौन सम्बन्ध पनि एक कला हो, सफल यौन सम्बन्ध राख्न कुनै कलाकारले तनमनले साधना गरे जस्तै गर्नुपर्छ यौन क्रियाकलाप । यो कुनै एक पक्षको नभई पुरुष – स्त्री दुवैको सोच, समझदारी, सामथ्र्य र समर्पण भावमा निर्भर गर्दछ ।

कैयौं पुरुषहरु घरमा सुन्दर र सुशील पत्नी हुँदाहुँदै किन अरु नै महिलासँग यौन सम्बन्ध राख्न अग्रसर हुन्छन् ? भन्ने प्रश्नको जवाफ यौन लय नै हो । यौन लय मिल्दैन भने जतिसुकै सुन्दर र जवान पत्नी भएपनि पति ऊप्रति आकर्षित हुन सक्दैन । ठिक यही यथार्थ पत्नीमा पनि लागु हुन्छ । एउटा प्रचलित लोकगीतको प्रस्तुत पँक्तिले यो यथार्थलाई राम्ररी व्यक्त गरेको पाइन्छ–

‘… केको कोर्को केको कोर्को कुराउनीको कोर्को
अहिलेको त झिल्के मात्रै, पोइ त राम्रो पोरको… ।’

शारीरिक सौन्दर्य हुँदैमा, झिल्के हुँदैमा, सम्पन्न हुँदैमा ऊसँग यौन लय मिल्छ वा उसले त्यो लय मिलाउन सक्छ भन्न सकिंदैन । त्यस्ता सबै आकर्षणयुक्त पतिलाई छोडेर सामान्य पुरुषसँग भाग्ने वा गोप्य सम्बन्ध राख्ने महिलाहरुको कुनै पनि समाजमा कमी न पहिला थियो, न अहिले छ, न कहिल्यै हुनेछ । भारतमा नबाबहरुको दबदबा भएको युगमा नबाबहरुको विलाशिताका लागि सुरा र सुन्दरीहरुको कुनै अभाव हुँदैन थियो । त्यति हुँदा पनि कतिपय नबाबहरु कोठीमा धाउँथे र त्यहाँ आफ्नो प्यास बुझाउँथे । कतिपय नबाबहरु यसरी कोठीमा जाँदा सधैं एउटै केटीसँगमात्र एकान्तरत् हुने गरेको इतिहास पाइन्छ । यसको कारण त्यही केटीसँगमात्र यौन लय मिल्नु हो । एउटा सास्वत सत्य के हो भने यौन लय मिल्नका लागि स्त्री– पुरुषबीच तन मिल्नुभन्दा पहिले मनमिल्नु अत्यावश्यक हुन्छ ।

दुई, चार सन्तानको बाबु, आमा बनिसक्दा पनि यौन सम्बन्धको वास्तविक मिठास कस्तो हुन्छ भन्ने अनुभव गर्न नपाउनेहरु अनगिन्ती छन् । यति मात्र होइन, उनीहरुले यौनका नाममा जे जस्तो अनुभव गर्ने गरेका छन्, यौन मिठास भनेको त्यहि नै हो र त्यति नै हो भन्ने भ्रममा बाँच्नेहरु संसारभर नै छन् । यौनको वास्तविक उचाई र गहिराई अनुभव गर्न यौन लय राम्रो मिलेको हुनुपर्दछ, यद्यपि यो भाग्य सबैलाई मिल्दैन । यौन लय नमिल्नुको परिणाम वास्तविक यौन सन्तुष्टि प्राप्त नहुनु हो भने यौन सन्तुष्टि प्राप्त नहुनुको परिणाम सम्बन्ध विच्छेद वा वाध्यात्मक दाम्पत्य जीवन हुन्छ । बाहिर समाजलाई देखाउन र आफ्नो प्रतिष्ठा कायम राख्न पति– पत्नीले नाटकीय किसिमको देखावटी राम्रो सम्बन्धको व्यवहार पनि देखाउँछन् । तर उनीहरुभित्रको पीडा कसैले बुझ्न सक्दैन ।

Ad

पति–पत्नीबीच अरु सामान्य पारिवारिक ठाक्ठुक परिरहनु स्वभाविक हो । यसले यौन लयमा कुनै नराम्रो असर पार्दैन । भनिन्छ, पति–पत्नीबीच भाञ्छा कोठामा सुरु भएको ठाकठुक विछ्यौनामा पुगेपछि अन्त्य हुनुपर्छ । किनकि पति–पत्नीको विछ्यौनामा ठूलो शक्ति हुन्छ ।विछ्यौनामा नै नयाँ पुस्ताको सृष्टि कार्य सम्पन्न हुन्छ । यौन लय मिलेका पति– पत्नीबीच सम्बन्ध विच्छेद भएका उदाहरण ज्यादै न्यून पाइन्छन् भने कुनै कारणवस उनीहरुको सम्बन्ध विच्छेद भएपनि पछि पुनर्मिलन भएका उदाहरण बग्रेल्ती छन् । परिस्थितिवस् सम्बन्ध विच्छेद भईसकेका जोडीहरुले समेत बीच बीचमा भेटेर अन्तरङ्ग समय बिताउने गरेका हुन्छन् ।

वैवाहिक सम्बन्ध एक प्रकारको बाध्यताको सम्बन्ध पनि हो । त्यसैले यौन लय नमिले पनि पति–पत्नी जसोतसो जिन्दगी चलाउन वाध्य हुन्छन् र चलाउँछन् पनि । किनकि यौन लय नमिलेकै कारणले मात्र सम्बन्ध बिच्छेद गरिहाल्न सबैलाई सम्भव हुँदैन । तर प्रेमी– प्रेमिका, ‘लिभिङ टुगेदर’ वा अन्य अन्तरङ्ग सम्बन्धमा भने यदि यौन लय मिल्दैन भने छुट्टिएर आ–आफ्नो बाटो लाग्न कुनै कठिनाई हुँदैन । यौन लयले कतिसम्म फरक पार्न सक्छ भने लय नमिलेको जोडीसँग यौन उत्तेजना नै नआउनेसम्मको समस्या पनि आउन सक्छ । आफ्नै पति वा पत्नीसँग भन्दा अर्कैसँग बढि रमाउने कारण यही नै हो ।

यौनलाई जति सरल ठानिन्छ, यथार्थमा यो त्यति नै जटिल छ, र जति जटिल ठानिन्छ, सही ढंङ्गले यौनलाई बुझेर व्यवहार गरेमा यो त्यति नै सरल, सहज र सुखद् हुन्छ । हाम्रो समाजमा यौनप्रति वाल्यकालदेखि नै नकारात्मक धारणा राख्ने, पाप कर्म ठान्ने, लाजशर्मको विषय मात्र मान्ने आदि कारणले यौन संङ्कुचित घेराभित्र बाँधिन बाध्य भएको छ । पछिल्लो समयमा यौनमा केही खुकुलोपन आएको जस्तो त देखिएको छ, तर त्यसमा गुणात्मकताको नितान्त अभाव छ ।

यौनमा देखिएको खुकुलोपन प्राकृतिक र स्वतस्फूर्त नभएर यान्त्रिक र अनुकरणमा आधारित छ । संचार प्रविधि, स्वास्थ्य प्रविधि आदिका आधारमा आएका यौनमा खुकुलोपनले मानिसको प्राकृतिक यौन क्षमतामा धमिरा लगाईरहेको छ । आज ४० को उमेर पनि नकट्दै पुरुषहरु यौन उत्तेजनामा आएको ह्राशले गर्दा दिक्क छन् र यौन उत्तेजक क्रित्रिम उपायहरुको खोजीमा भौंतारिने गरेका छन् । महिलाहरुमा पनि प्राकृतिक यौन सुखमा भन्दा यौन खेलौनाहरुको सहारा लिएर नक्कली यौन सुखमा चित्त बुझाउने प्रवृत्ति संसारभर नै बढ्दो छ । यस्तो परिस्थितिमा यौन लय झन् झन् दुर्लभ हुँदै गएको छ । त्यसैले प्रत्येक स्त्री पुरुषले यौनप्रति सकारात्मक दृष्टिकोण राखी लयबद्ध यौन सम्बन्धका लागि हरसम्भव प्रयत्नशील रहनु आवश्यक छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button