
‘तुम्ही मेरा मन्दिर, तुम्ही मेरी पूजा, तुम्ही देवता हो’
प्रतिभा सुवेदी
एकपटक हामी कलेज छात्राहरुका लागि महिला–पुरुष सम विकास तालीम संचालन गर्दै थियौं । हामी दिनभर समानता, शान्ति र विकासमा आधारित नमूनाहरु दिएर कक्षा संचालन गर्ने गर्दथियौं ।
त्यसक्रममा महिला पुरुषका स्वरुप अनि सामाजिक मूल्यमान्यता समाजमा स्थापित गर्न कसरी गीत, संगीत, कथा र उखानहरुले भूमिका खेलेको हुन्छ भन्नेबारे पनि छलफल भएको थियो । बेलुकाको खानापछि केही समय सबै भेला भएर गीत गाउने, कथा भन्ने र अन्ताक्षरी गरेर एक–अर्काबीच लुकेको प्रतिभा र कला उजागर गर्ने पनि गर्दथियौं । नेपालीका साथै हिन्दी गीतहरु गाउने गर्दथियौं ।
त्यहिक्रममा थियौ । गीत गाउने भईयो । एउटा बहिनीले ‘हिन्दी फिल्म ‘खानदान’का लागि लता मंगेशकरले गाएको पुरानो रोमाञ्चकारी गीत ‘तुम्ही मेरा मन्दिर, तुम्ही मेरी पूजा, तुम्ही देवता हो’ मनपर्दछ तर यो तालीममा छलफलमा भाग लिएपछि त्यो गीत गाउँ कि नगाउँ भइरहेको छ’ भनिन् ।
वास्तवमा लता मंगेशकरले गएको त्यो गीत अत्यन्त मिठासपूर्ण छ । फिल्ममा पनि सुनिल दत्त र नूतनको फिल्मी जोडाको एक्टिड. उतिकै सुन्दर छ । गीतमा हिरोइनले हिरोको खुट्मा ढोगेर गीतको शुरु भएको दृश्य छ । भक्तिभावको पराकाष्ठा नै छ । त्यो गीतको बोल र फिल्मको दृश्य संझेर म पनि अलिकति झस्किएँ । किनकी मलाई पनि मनपर्ने मध्येको गीत हो त्यो । फिल्ममा गाइएको त्यो गीत मनोरन्जन दिने किसिमको छ । तर त्यस गीतले समाजको मान्यता बोकेको छ । आफैले प्रशिक्षण दिएका कलेजका बहिनीहरुले त्यसो भनेपछि म पनि सोच्न बाध्य भएँ । हाम्रो समाजमा हिन्दी सिनेमाको प्रभाव शुरुबाट नै ज्यादै छ । आजभोलि त्यो प्रभाव झन् बढेको छ ।
विवाह संस्कारमा मेहन्दी लगाउने चलनले यति व्यापकता पाएको छ कि यो विषय पनि अनिवार्य नै भएको छ । त्यतिमात्र होइन, लुगामा लेहंगाको चलन पनि उतैबाट आएको हो । विवाह उत्सवमा सारी भन्दा लेहँगाको चल्ती भएको छ । सब छिमेकका सिने कलाकारबाट प्रभावित भएर अपनाई रहेका छौ । आयातित संस्कृतिको पनि नकारात्मक पक्षहरु हामीले निर्वाध भित्राईरहेका छौं भने आफ्नो आन्तरिक संस्कृतिका राम्रा र नराम्रा पक्ष पनि केलाउन सकेका छैनौं । जसरी ‘तुम्ही मेरे मन्दिर, तुम्ही मेरे देवता’ गीतको मधुर स्वर र संगीतले मलाई लठ्ठ पारेको थियो । ती बहिनीले हाम्रो तालीमपछि त्यो गीत गाउन ठिक छ त भन्ने प्रश्नको उत्तर दिन अलमलिएको थिएँ ।

हिन्दीमात्र होइन, नेपाली गीतहरुमा पनि महिलाका लागि पुरुषले परेमा जुन तारा नै आकाशबाट खसाउन सक्ने रुपमा प्रस्तुत गरेको हुन्छ । अरुणा लामाको सुरिलो मिठो स्वरले गएका गीतहरु कालजयी छन् ।
‘हे कान्छा मलाई सुनको तारा खसाई देउन’
‘त्यो तारा मातर होइन जुन पनि झारिदिउँला
बादलको आचल बनाई दिउँला’
पुरुषले जुन तारा नै महिलाका लागि खसालेर ल्याउन सक्ने शव्दहरु गीतमा प्रस्तुत भएका छन् । महिलाहरुले ‘मेरो लागि सुनको तारालगायत विभिन्न कुरा पुरुषहरुसँग मागेर लिने भनौं आशा राख्ने गर्दछन्’ भन्ने चलन जस्तै भएको पनि छ । यस्ता किसिमका गीतका बोलहरुले नारीमाथि पुरुषअधिकार र हैकम रहने मानसिकता बन्नमा गीत संगीतको पनि प्रभाव परेको हो ।
‘कहिले काली मनपर्योे, कहिले गोरी मनपर्यो, ससुराली टेकेपछि साली मनपर्यो, लौन ससुरा बा मलाई साली मनपर्योे …… तर पनि भिनाजुको आँटै मनपर्यो’ हाल हिट गीतमा विवाहको दृश्य छ र सालीलाई भिनाजुले जिस्काउदै यो गीत गाएका छन् ।
ससुराली टेकेपछि साली मनपर्यो र त्यसैगरी सालीलाई पनि भिनाजुको आँटै मनपर्यो भनी गीतको माध्यमले समाजमा चलिआएको बोलीचालीमा भिजेको विषय झल्कन्छ । गीतले प्राय पुरुषहरु आँटिला हुन्छन् भन्ने सन्देश दिएको छ भने सालीको आनिवानी मनपरेको कुरा भिनाजु भन्दछन् । त्यो पनि दिदीसँग विवाह भैरहेको छ । सालीलाई पनि छड्के तिलहरी लगिदिने भैसके । यस गीतमा दुई विवाह पनि गर्न हुन्छ जस्तो पनि सुनिन्छ ।
हालसालै विद्यालयमा अध्ययनरत सानाभाई बहिनीहरुको कोचिङ क्लास अवलोकन गर्न गएकी थिएँ । त्यस क्लासका साना साना विद्यार्थीहरुले ‘कुटुमा कुटु सुपारी दाना’ गाएर मनोरन्जन गरिरहेका थिए ।
‘कुटुमा कुटु सुपारी दाना
हेर्दामा जिउ ज्यान खाईलाग्दो …‘
‘खैनी चुरोट खान्छौ कि दातै कालो छ
दिदीको मगनी भैसक्यो, मेरै पालो छ ।’
‘राजाको हात्ती मैसँग सौतोला सुन्छ ल्हासाको,
पढाइलेखाइमा अब्बल छु, वैज्ञानिक बन्छु नाशाको’
यो गीतको बोल नराम्रो भन्न पनि मिलेन । त्यसै सबैलाई मनपरेको पनि त होइन । तर सन्देश के दिन्छ त भनेर ध्यान दिएमा पुरुषप्रधान समाजको वकालत गर्ने किसिमको छ । यो गीतको अर्को पक्षचाहिं केटाहरु ठूला ठूला कुरा गरेर केटीहरुलाई फकाउन सक्छन भन्ने पनि सन्देश छ ।
हाम्रो समाजमा गाइने गीतहरु पनि महिला-पुरुषको स्वरुप निर्माणमा मद्धत दिने खालको छन् ।
भविष्यमा पनि यस्तै मूल्यमान्यताले प्रश्रय पाउँदै जानेछ र प्रश्रय पाउँदै आएको विषय छर्लङ्ग छ । ‘ए कान्छा मलाई सुनको तारा खसाइ देउन’देखि ‘कहिले काली मनपर्यो, कहिले गोरी मनपर्यो’ जस्ता गीतहरु अधिकाँशलाई मन पर्ने छन् । युवक बलियोबांगो र आँटिलो अनि युवतीचाहिं सुन्दरी र श्रृंगारपटारमा राम्रो हुने विषय आत्मसात गरिएको छ । यसरी हाम्रो गीत संगीतको संस्कृतिले पनि महिला-पुरुषबीचको अवस्थालाई प्रतिविम्बित गर्दै आएको छ ।
गीतहरु मनोरन्जंनात्मक हुन्छन् तर त्यसले सन्देश पनि दिएको हुन्छ । यसै कारण वैकल्पिक रुपमा पनि यसबारे शिक्षा दिन जरुरी हुन्छ र समाज सुधारमा जागरण गीतहरु पनि आवश्यक हुन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)