असल प्रयोगकर्ता भए कमसल संविधानले पनि राम्रो नतिजा दिन्छ

हर्कबहादुर रावल
अधिवक्ता

संविधान देशको मुल कानून हो । संविधानको पालन र पालना गर्नु हरेक नागरिकको कर्तव्य हो । जुन देशमा जति धेरै र जति लामो समयदेखि संविधानको पालन भइरहेको छ, त्यो देशको पद्धति र संस्था त्यत्ति धेरै मान्यता प्राप्त छ भन्ने बुझिन्छ ।

नेपालमा पनि नयाँ संविधान बनेपछि यसको स्विकार्यता र विरोधको चर्चा चलिरहेको छ । तर, संविधान मान्नु हरेक नागरिकको कर्तव्य हुन्छ । साथै संविधान पनि नागरिकमुखी, अधिकारमुखी र स्वीकारमुखी हुनुपर्छ । यो संविधानको स्किम, डिजाइन, र ड्राफ्ट समेतमा मेरो केही असहमति (फरक मत) छन्, तापनि देशको मुल कानून संविधान जीवन्त दस्तावेज हो, असल प्रयोगकर्ता भए कमसल संविधानले पनि राम्रो नतिजा दिन्छ तर कमसल प्रयोगकर्ता हुँदा असल संविधानले पनि राम्रो नतिजा दिन सक्दैन भन्ने वास्तविकतालाई हृदयङ्गम गर्दै, नेपालको संविधानले असल प्रयोगकर्ता प्राप्त गर्न सकोस् ।

संविधान कमसल भए असल बनाउन सकिन्छ तर देशमा अमन चयन, स्थिरता र ब्यवस्था (अर्डर)का लागि पनि संविधानको ग्राह्यता बढाउँदै त्यसको पालनाको संस्कार पनि बढाउँदै लैजानु पर्दछ । संविधानलाई अलोकप्रिय बनाउने, आलोचनाको विषय बनाउने अवस्था सकेसम्म बनाउनु हुँदैन । सरकारले त झन हुँदैन । तर केहि बर्ष यतादेखि संविधान दिवसको अवसरमा दिइने (बाँडिने?) पदकहरुका कारण संविधान दिवसको र संविधानको पनि आलोचना बढ्न थालेको देखिन्छ । यो राम्रो भैरहेको छैन । तसर्थ सकिन्छ भने आफ्नालाई दिइने पदक परिपाटीको न्यायोचित वितरणको पारदर्शी र ग्राह्य पद्धति बनाऔं । त्यसो नहुँदा कम्तीमा यस्ता पदक वितरण संविधान दिवसको दिनमा नगरौं ।

संविधानलाई सके सर्वस्विकार्य र नसके बहुजन स्विकार्य बनाउने सदबुद्धि शासक प्रशाशक र आम नागरिकमा पलाओस् ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button