
अज्ञानी भएर सेनाबारे टिप्पणी गर्नु उपयुक्त हुँदैन
प्रकाश रायमाझी
नेपाली सेनाबारे बेलाबखत भ्रामक समाचार सम्प्रेषण गराएर विदेशी षड्यन्त्रकारीहरूले सेनाको छविमा हिलो छ्याप्ने प्रयत्न गरिरहेका छन् । सेनाभित्रको आन्तरिक विसंगतिलाई हटाउन सेनाको बर्दीमा दाग लगाउने कुनै पनि व्यक्तिलाई संगठनभित्र खुलमखुला छाड्नु उपयुक्त हुँदैन । व्यावसायिक र देशभक्त राष्ट्रिय सेनालाई अनेकौं लाञ्छना लगाउने सेनाभित्रका विकृतिलाई हटाउँदा जनस्तरबाट स्याबासी दिइनुपर्दछ ।
सेनाभित्र कसैलाई पनि काखा र पाखा गरिँदैन । क्षमता, योग्यता, तालिम, ज्येष्ठता इत्यादिलाई आधार मानेर पदोन्नति गर्ने व्यवस्था हुन्छ । बजारी हल्लाजस्तो सेनामा कुनै पनि व्यक्तिलाई बिनाकारण दण्ड सजाय दिइँदैन । अनुशासित र मर्यादित ढंगले देशको रक्षा गर्नुपर्ने अति संवेदनशील संगठनभित्र व्यक्तिको आचरण अमर्यादित भयो भने संगठनलाई ठूलो चोट लाग्न सक्छ । सेनालगायत सुरक्षा निकायकाे विशेषता नै ‘चेन अफ कमान्ड’ हाे । यसलाई पालना नगर्नेलाई सेनामा कोर्ट मार्सल गर्ने प्रचलन रहिआएको छ । सैनिक अनुशासित एवं मर्यादित भएन र संगठनको ऐन नियम अनुसार आफूलाई परिमार्जित गर्न सकेन भने छानबिन गर्नुपर्ने अवस्था स्वाभाविक रुपमा उत्पन्न हुन्छ ।
देखेजस्तो सजिलाे सेनाभित्र छैन । तालिमले निपुण, व्यावसायिक र अनुशासित सैनिकको संगठनले कठिन घडीमा पनि मुलुकको स्थायित्व र आन्तरिक सुरक्षालाई मजबुत पार्ने काम गर्दछ । यदि अनुशासन, कडा परिश्रम र राष्ट्रियताको भावनाले ओतप्रोत रहेन भने सैनिक संगठन देशको खम्बा बनेर रहन सक्दैन । पश्चिमाहरुले नेपालको सेनालाई कमजोर तुल्याउने अनेकौं प्रयास बेलाबखत गर्ने गर्दछन् । केही समययता निर्दोष सैनिकलाई कारबाही भयो भन्ने भ्रम फैलाएर संगठनको चरित्रमाथि प्रश्न उठाउन खोजिएको छ । निर्दोषलाई कुनै पनि हालतमा संगठनले कारबाही गर्दैन । यहाँ कुनै आग्रह र पूर्वाग्रह राखिँदैन । सेनामा जाति र वर्ण विभेद पनि छैन । तराई, पहाड, हिमाल, पूर्वदेखि पश्चिमसम्म हामी सबै नेपालीको साझा संस्कृति, परम्परा र विविधतालाई समेटेर सेनाले आफ्नो छविलाई उच्च राखेको छ । विपतकालीन परिस्थिति र अन्तरिक सुरक्षाको अति कठिन घडीमा पनि सेनाले देशको रक्षा गरेको छ । देशवासीलाई सेनाका जवानले रगत दिएर पनि बचाइरहेका छन् । यदि सेनाभित्रको अनुशासन र कडा सांगठनिक चरित्रमा दख्खल पर्न गयो भने यो कार्य सम्भव हुन्छ त ? सेना एउटा घर हो, जहाँ सबै मिलेर आफ्नो दुःख सुखलाई भुलेर राष्ट्रको खातिर अहोरात्र खटिरहेका छन् । यस्तो सेनालाई अनेकौँ प्रकारका लान्छना लगाएर देशको सार्वभौमिकतालाई कमजोर बनाउने प्रयत्न कसैले पनि गर्नुहुँदैन । नेपालमा सेनालाई संख्यात्मक रुपमा घटाउनुपर्छ भन्ने व्यक्तिहरु पनि नभएका होइनन् । नेपालका सबै संरचनामा विदेशीले प्रत्यक्ष अप्रत्यक्ष रुपमा आफ्नो प्रभावमा लिन कोसिस गरिरहेका छन् । यद्यपि, नेपाली सेनालाई कमजोर बनाउने प्रयत्न असफल हुँदै आएको छ । त्यसैले विभिन्न कोणबाट गलत समाचारहरु सम्प्रेषण गराएर नेपालको प्राचीन सेनालाई कमजोर तुल्याउने षड्यन्त्रकारी तत्वसँग देशभक्त नागरिकहरु सजग र सचेत हुनुपर्दछ ।
सेना कुनै व्यक्तिको नभई सम्पूर्ण नेपालीको साझा संगठन हो । विगतमा पनि आरोह अवरोह पार गर्दै अब्बल दर्जाको रुपमा नेपाली सेनाले विश्वमा कीर्तिमान कायम गर्न सफल भएको छ । आन्तरिक विखण्डनको अवस्थामा नेपाली सेनालाई अझ बढी सुसंगठित, साधनस्रोतले सम्पन्न र सीप र ज्ञानले पूूर्ण बनाइनुपर्छ । आधुनिक हातहतियार र तालिम सेनाको लागि सधैँ आवश्यक पर्दछ । दक्ष सेना नेपालको लागि मात्र होइन, विश्व शान्तिमा समेत आवश्यकता पर्दछ । धर्म-संस्कृति, मौलिक पहिचान र भूगोलको रक्षा गर्न नेपाली सेना सक्षम रहिआएको छ । विस्तृत शान्ति सम्झौतामा पनि सेनाले महत्वपूर्ण भूमिका निर्वाह गरेको थियो । जित र हारको बाहिरी दुनियाँमा देखेजस्तो अवस्था थिएन, राज्यभित्र उपराज्यहरू खडा भएका थिएनन् । तैपनि, एउटा नेपालीले अर्को नेपालीको रगत बगाउन नेपाली सेना जाँदैन ।
सेना कुनै दलको दलीय स्वार्थको भूमरीमा पर्न चाहँदैन । यदि सेनालाई असहज परिस्थिति उत्पन्न भए पनि सैनिक कूटनीतिको माध्यमबाट राष्ट्रको रक्षा गर्नुका साथै देशवासीको आकांक्षालाई पनि सम्बोधन गर्न पछि पर्दैन । सेनाविरुद्ध नियोजित रुपमा अफवाह फैलाउने तत्वलाई देशभक्त नागरिकले राम्रोसँग चिन्नु पर्दछ । किनभने, उनीहरु कसैको इसारामा परिचालित भइरहेका छन् । हरेक सेनापतिले आफ्नो कार्यकालमा संगठनलाई सुदृढ गर्न र पारदर्शी रूपले संगठनको संरचनालाई मजबुत बनाउने इच्छाशक्ति देखाउनु पर्दछ । शान्तिपूर्ण अवस्थामा होस् या जटिल अवस्थामा, सेना सधैँ उच्च सतर्कताका साथ राष्ट्र रक्षाका लागि तम्तयार रहिरहेका हुन्छन् । देखेजस्तो सेनाले सुविधा मात्र भोगेका हुँदैनन् । सबभन्दा कम सुविधा दक्षिण एसियामा नेपाली सेनाले लिएका छन् । तसर्थ, अज्ञानी र अबुझ भएर सेनाका बारेमा टिप्पणी गर्नु उपयुक्त हुँदैन ।
नवनियुक्त प्रधानसेनापतिले आफ्नो कार्यकालमा विवादरहित कदम उठाएर सेनाको मनोबल उच्च राख्न र देशभक्त सेनाको रुपमा सफलता प्राप्त गर्ने अपेक्षा देशभक्तहरुबाट राखिएको छ । विगतका दिनमा पनि भूकम्पको विषम परिस्थिति, कोरोनाको भयावह अवस्था, आन्तरिक द्वन्द्व एवं सुरक्षा चुनौतीको कठिन घडीमा देशको सार्वभौमसत्ता सुरक्षित राख्न सेनाको महत्वपूर्ण भूमिका रहेको छ । आलोचना र कपोलकल्पित टिप्पणीबाट सैनिक संगठनलाई विचलित गराउने दुराशय कसैले नराखे हुन्छ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)



