माया पहिले एक्लै रुन्थिन्

जापानकी प्रख्यात पत्रकार तथा लेखिका याओरी मात्सुइ ‘वुमन इन द न्यू एसिया’ नामक पुस्तक लेख्दै रहिछन् । उक्त पुस्तकमा एशियाका महिलाहरुमा आधुनिक विकासको प्रभाव अनि उनीहरुका उन्नती, प्रगती र चुनौतीहरु समावेश गर्ने उद्धेश्य रहेछ । उनले जापान, थाइल्यान्ड, फिलिपिन्स, ताईवान, चीन, कोरिया र नेपालका महिलाहरुसँग अन्तक्रिया गरेर सो पुस्तक प्रकाशित पनि गरिन् ।

त्यही पुस्तक लेखनकै क्रममा हामीलाई पनि भेट्न आएकी थिईन् । पुस्तकको एउटा च्याप्टर ‘द विन्ड अफ चेन्ज इन अ माउन्टेन भिलेज अफ नेपाल’मा नेपाली महिलाहरुका स्थिति र चुनौतीहरु वर्णन गरिएको छ । उनले पुस्तकमा एशियाका महिलाहरुले बुहार्तन, हिंसा, गरीबी, बेचविखनजस्ता कठिन परिस्थितिको सामना गरिरहेका भए पनि आफनो स्थानबाट प्रयास गरेका विषय वर्णन गरेकी छन् ।

उनले नेपाली ग्रामीण महिलाहरु भेट्ने कुरा राखिन् । हामी नारी चेतना केन्द्रका महिलाहरुले काभ्रेको तत्कालीन चलाल गाविसका वार्ड न ६ बाट महिला बचत ऋण र सामुदायिक विकासका काम गरिरहेका थियौ । त्यस स्थानमा जाने निर्णय गर्यौं । हाल बेथानचोक गाउँपालिका भएको छ । पुस्तकमा उनले त्यहा“का महिलाहरुको दैनिकी र उनीहरुले भोगेका आर्थिक सामाजिक स्थिति जस्ताको तस्तै लेखेकी छन् ।

हामी महिलाहरु भेट्न गयौ । महिलाहरु साडी र पटुकीको पहिरनमा भारी बोकेर उकालो उक्लिरहेका दृश्य हेरेर छक्क पर्थिन् । त्यति बेला माया खड्काको घरको चोकमा गुन्द्रीमा बसेर २० जना ग्रामीण महिलाहरुसँग बसेर छलफल गरिन् ।

नेपाली महिलाको परिश्रमपूर्ण जीवनशैली अनि स्वास्थ सुविधाको अभावबारे एकोहोरो सुनिन् । उनले भेटेका २५ बर्षदेदेखि वृद्ध महिलाहरु पनि थिए । र, त्यो उमेरका धेरै जसो महिलाहरुमा पढाई लेखाई पनि थिएन । जापानीहरु विकासको मुख्य आधार नै शिक्षालाई मान्दछन् । नेपालमा पनि धेरै जापानीहरुले संस्थागत हिसाबमा पनि र व्यक्तिगत तवरमा पनि विद्यालयहरुका लागि मद्धत गरेका छन् ।

ती ६४ वर्षकी माया खड्काको अनुहारमा धेरै चाउरी परेको थियो, जुन याओरीलाई अनौठो लाग्यो । याओरीलाई उनको जीवनवारे जान्न मन लाग्यो । कति परिश्रमले होला, मुखभरी चाउरी परेको, जिउ पनि दुब्लो पातलो, हातहरु पट्पटी फुटेको देख्दा द्रवित भएको उल्लेख गरेकी छिन् । त्यसमाथि पनि माया खड्काले ११ वटा बच्चा पाएको, पाँचवटा मरेको कुरा बताइन् । एकै महिनामा दुईवटा बच्चा मरेको कुरा रुँदै बताइन् । त्यति बेला उनी ५० वर्षकी रहिछन् ।

‘अहिले महिला समूहमा आएर मलाई साथीहरुसँग मेरा दुःखपूर्ण दिनहरुबारे बताउँदै गर्दा दुख बिर्सिन मद्धत हुन्छ । त्यसैले तपाइहरुले अहिले मलाई हँसिलो देख्नुहुन्छ’, उनले भनिन् ‘त्यतिबेला कठिन समयमा एक्लै रुनुपर्दथ्यो भने अहिले समूहमा सबै कुरा खोलेर मन हलुका बनाउन सक्छौं ।’

उनी महिला समूहकी अगुवा भएको थिईन् । एक कार्यक्रममा उनी पनि काठमाडौं आएकी थिईन् । र, त्यति बेला उनले पहिलोपटक राजधानी देखेकी रहिछन् । जब कि उनी राम्रै परिवारकी अर्थात एकमाना वन्दोबस्त भएको घरकी सदस्य हुन् तै पनि राजधानी ५० वर्षसम्म देखेकै रहिनछिन् ।

हामी भेटघाट पछि त्यही दिन फर्कियौं । याओरीले महिलाहरुमा आफ्नोपन र एकअर्कामा भएको सहयोगी भावनाबाट प्रभावित भएको बताईन् । हाम्रो गाउँघरमा व्यक्तिवाद हावी भैसकेको थिएन । पत्रकार र पर्यटकका रुपमा नेपाल आएकाले हाम्रो सामुदायिक भावना, आतिथ्य र सद्भावबाट प्रभावित भएकी थिइन् । यहा“को प्राकिृतिक छटा विलक्षण भएका विषय र अतिथि देवो भवमा विश्वास गर्ने नेपालीबारे विदेशी पत्रकारहरुले लेखेका थिए । तर महिलाबारेमा लेख्ने भने विरलै छन् ।

याओरीसँग मेरो पहिलो भेट संयुक्त राष्ट्र संघीय सम्मेलनमा भएको थियो । उनी हस्तसिद्ध लेखिका हुन्, जसको निधन ६० वर्षको उमेरमा नै भयो । जापानमा त्यो उमेरलाई त्यति बुढो मानिँदैन । जापानमा उनले महिला हितको वकालत गर्दा धेरै तनावग्रस्त अवस्था आएएको बताउँछन् जापानीहरु ।

विकसित जापान पनि महिलाको लागि त्यति सहज नभएको विषय उनले बताईन् र उनले आफनो जीवन महिलाहरुका जीवन सहज हुनपर्छ भनेर वकालत र लेखन गर्ने गरेको त्यो दिन पनि भनिन् ।

यस्तै महिलाहरुको पनि दशकौँदशकको प्रयासपछि आजका दिनहरुमा नेपालमा विभिन्न जिल्लामा महिलाहरुले गरेका आर्थिक कार्यक्रम उदाहरणीय भएका छन् । दश रुपिँया मासिक बचत गरेर करोडौंकरोडको परिचालन समुदायस्तरमा भएका छन् । उल्लेख्य रुपमा महिलाहरु दिगो रुपमा संगठित भएको क्षेत्र बचत ऋण समूह र विभिन्न सहकारी संस्थाहरु हुन् । विडम्बना ! नेपाली विज्ञहरु हाम्रो देशको उदाहरण सभासम्मेलनमा दिन विर्सन्छन् वा थाहा नै छैन ।

सोल्टी होटलमा सहकारी महासम्मेलन आयोजना भएको थियो । केशव वडालको अध्यक्षता थियो । दक्षिण एशियाका विज्ञहरु पनि थिए । नेपाली वक्तामा अर्थविद् डा. विश्वम्भर प्याकुरेल थिए । उनले भाषणमा छिमेकी मुलुककै उदाहरण दिए । झन्डै एक हजार सहकारीकर्मीहरु सो सभाहलमा उपस्थित थिए । म पनि दर्शकदिर्घामा थिएँ । ‘उदाहरणीय नेपाली प्रयास र सफलतालाई उदाहरणको रुपमा प्रस्तुत गरेको भए नेपालको ईज्जत हुने थियो । सम्मेलनपश्चातको विवरणमा त्यो कुरा लिपिबद्ध हुने थियो’ भन्ने मनमा लाग्यो । छलफलको समयमा मैले श्रोताहरु मध्येबाट हात उठाएँ । सोध्ने पालो पनि पाएँ र त्यस विषयमा बोलेँ पनि । सबै श्रोताको मनमा मलाई जस्तै लागेको रहेछ । ताली बजाएर समर्थन गरे । मञ्चका विज्ञहरुले महशुससम्म गरे । मार्च महिनाको २५ मा २०१४ मा सोल्टी क्राउनप्लाजामा पहिलो राष्ट्रिय सहकारी महासम्मेलन भएको थियो, जसको आयोजना सहकारी मन्त्रालय, सहकारी विकास बोर्ड, सहकारी विभाग, राष्ट्रिय सहकारी सघं र गरीबी निवारण कोषले संयुक्तरुपले गरेका थिए ।

नेपाली अर्थतन्त्रमा सरकारी, सहकारी र निजी क्षेत्रलाई तीन मुख्य खम्बाहरुका रुपमा व्याख्या गरिएको छ । र, समाजवादउन्मुख भनेर सहकारीलाई अघि सारिएको छ । सहकारीहरुमा महिला सदस्यता र सहभागिता उल्लेखनिय छ ।

पुस्तक लेख्ने सिलसिलामा धेरै वर्ष पहिले ती विदेशी महिला पत्रकारले देखेका समस्याहरु र यहाँका महिलाहरुले समाधानका लागि गरिरहेका प्रयासले नेपाली समाजमा पनि आशा जगाएको विषय उल्लेख भएको थियो । देशभित्र यस्ता विषयको चर्चा आवश्यक छ ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button