महिला सशक्तिकरण र हरितालिका तीज

लता पौडेल

विषय प्रवेश

सशक्तिकरण भन्नाले आफ्नो विषयमा जानकार हुनु, अर्थात मजबुत हुनु वा सक्षम हुनु भन्ने बुझिन्छ । अक्फोर्ड डिक्सनरीमा सशक्तिरणलाई कुनै काम गर्न अख्तियार दिने वा शक्ति भनिएको छ । सशक्तिकरण त्यस्तो प्रक्रिया हो जसले व्यक्तिलाई बलियो र आत्मविश्वासी बनाउँछ । यसरी हेर्दा महिला सशक्तिकरणको शाब्दिक अर्थ महिलालाई बलियो र आत्मविश्वासी बनाउने प्रक्रिया हो भन्ने जनाउँछ । हरितालिका तीज महिला सशक्तिकरणसँग जोडिएको विषय हो । धार्मिक परम्पराअनुसार हिमालय पर्वतकी छोरी पार्वतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो । हिमालय पर्वतले विष्णुलाई छोरी कन्यादान दिन तयार भएको पार्वतीले थाहा पाएर उनी भागेर जङ्गल गईन् र महादेवको तपस्या गरिन् । छोरीले महादेव पति पाउनलाई कठोर तपस्या गरेको बुझी छोरीको चाहनालाई बाबु हिमालय पर्वतले स्वीकार गर्न वाध्य भएका थिए भनिन्छ । । यही ऐतिहासिक तथ्यलाई आधार मानी परापूर्वदेखि नै महिलाहरुको धार्मिक तथा साँस्कृतिक पर्वका रुपमा तीजलाई लिने गरिन्छ ।

तीजको ऐतिहासिक महत्व

धार्मिक दृष्टिकोण अनुसार तीजलाई नारीहरूको सौभाग्य र समृद्धिका निमित्त शिव र पार्वतीको उपासना र पूजा गर्ने ऐतिहासिक पर्वका रुपमा लिइन्छ । प्रत्येक बर्षको भाद्र शुक्ल तृतीया तिथिका दिन यो पर्व मनाइन्छ । यसलाई हरितालिका तीज पनि भनिन्छ । अलि (सखी) र (हिृता) शब्दको संयोजनले अलिहिृता शब्दको प्रयोग भएको र यही शब्द पछि गएर हरितालिका रुपमा विकसित हुनगएको धार्मिक मान्याता पाइन्छ । धार्मिक परम्पराअनुसार हिमालय पर्वतकी छोरी पार्वतीको सानै उमेरदेखि महादेवसँग गहिरो प्रेम थियो । बाबु हिमालय पर्वतले विष्णुलाई कन्यादान दिन तयार भएको थाहा पाएर पार्वती भागेर अनकन्टार जङ्गलमा गई महादेवको तपस्या गरिन् । उनलाई सखीहरुद्वारा हरण गरेर त्यस ठाउँमा लगिएको र उनको कठोर तपश्या र चाहनालाई हिमालय पर्वतले स्वीकार गरी महादेवलाई पति रोज्ने इच्छा पूरा गरेकी हुन् भनिन्छ । पार्वतीले आफ्नो इच्छा अनुरुप पति रोज्न पाएको यही स्वतन्त्र दिनको ऐतिहासिक महत्वका रुपमा हरितालिका तीजको धार्मिक तथा संस्कृतिक महत्व समाजमा विकसित भएको पाइन्छ ।

नेपाली समाजमा धार्मिक, सामाजिक तथा साँस्कृतिका रुपमा तीजको प्रभाव

नेपाली समाजमा विवाह भएर पराईघर गएका चेलीहरूलाई माइतमा बोलाएर तीजको अघिल्लो रात दर खुवाइन्छ र भोलिपल्ट अर्थात तृतीयाका दिन निराहार वर्त बसी शिव पार्वतीको पुजा आरधना गरी तीज पर्व मनाउने परम्परा छ । तीजको व्रतमा विवाहित नारीले पतिको दीर्घ जीवन तथा सुस्वास्थ्यको कामना र अविवाहित नारीले असल पति पाउँ भन्ने कामना गरिन्छ वा गर्छन् भन्ने धार्मिक जन विश्वास रहेको छ । तीजमा माइत गएका चेलीहरुले पतिको घरमा भोग्नुपरेका दुःख, नन्द, अमाजू, देवर र सासूको बुहार्तनका पीडाहरु माईतीको आँगनमा जम्मा भएर गीतका माध्यमबाट व्यक्त गर्ने गरेको परम्परा छ । वर्तमान समयमा भने तीजलाई नेपाली नारीहहरुले स्वतन्त्रता प्राप्तिको दिनका रुपमा, अधिकार प्राप्त गरेको दिनको रुपमा बुझ्न थालेको पाइन्छ । यो पर्व हाल आएर चेलीले माइतमा गएर मात्र होइन यो पर्व मनउने आम महिला दिदीबहिनीहरु वर्षभरि भोगेका पीडा, दुःखहरूलाई साटासाट गर्दै जनचेतना जगाउने उद्देश्यले खुल्ला चौर, मठमन्दिरको प्रङ्गण लगायत सार्वजनिक स्थलमा भेला भएर नाचगान गरेर मनाउन थालिएको छ । यसले यो पर्वले नेपालीहरूको एकता र संस्कृतिको संरक्षणका रुपमा विकसित हुँदै गएको जनाउ दिएको छ । तीज पर्वले नेपाली दिदीबहिनी र दाजुभाइसँगको भावनात्मक सम्बन्धसँगै सामाजिक सद्भावको विकास हुँदै गएको अनुभव हुन थालेको छ । यसैगरी माईतीघर सम्झेर निरास भएका दिदीबहिनीहरूका लागि यस्ता कार्यक्रमहरूले थोरै समय भएपनि आफ्नो जन्मघरको आँगनको अनुभूति गराउँछ । हिन्दुनारीहरूको महान् पर्व हरितालिका तीज नारी संघर्ष र अधिारको प्रतीक पनि हो । यसर्थ यसको महत्वलाई बुझेर हाम्रो धर्म, संस्कार र सांस्कृतिक मूल्य, मान्यता र तिनीहरूको मौलिकतालाई लोप हुन दिनु हाम्रो कर्तव्य पनि हो । तथापि पश्चिमा संस्कृतिको प्रभाव र बढ्दो आधुनिकीकरणले महिलाले भोगेका वेदना र समस्यालाई अभिव्यक्त गर्ने माध्यम बनेको महिलाको तीज पर्व अहिले आधुनिक गीत र सँगीतमा रमाउदै मनाउन थालिएको छ । तीज आउनुभन्दा दुई महिना अघिदेखि नै तीजका भाकाकामा श्रृङ्गारिक गीत घन्कनु, पार्टी प्यालेस तथा होटलहरुमा भेला भएर धेरै धनराशी खर्च गरेर देखासेखी रुपमा नाचगान गर्नुतथा र पालो पेंचो गरी दरखानु, लुगा गरगहना साटासाट गर्नु वा उपहार दिने जस्ता परिपाटीले तीजको पर्वको उपहास भएको । यस पर्वमा हुर्कदै गरेका यस्ता केही भड्कीलोपनले सामाजिक मर्यादामा खलल पुग्ने र विकृति भित्रिने कुरा निश्चत छ तर यस कुरामा खास गरी मध्यमवर्गीय नारीहरु सचेत भएर लागेको पनि पाइन्छ । तसर्थ यसलाई रोकेर तीजको धार्मिक, सामाजिक तथा साँस्कृतिक महत्वलाई अझै फराकिलो पार्दे लान सक्नु पर्दछ । जसले महिलाको महान पर्वको रूपमा रहेको तीजको ऐतिहासिक महत्वव अक्षुण राख्न सकोस् ।

तीजको दर र यसको महत्व

आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको साथमा उसको घरमा बसी बाँकी जीवन बिताउनु पर्ने हुन्छ । यसरी आफू जन्मेको घर, माता, पिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरको रूपमा तीज पर्वको गहन महत्व रहेको छ । महिलाहरूलाई पराइघरको भिन्न वातावरण, रहनसहन तथा जिम्मेवारी पारिवारको व्यवहारिक समस्यााले मानसिक तथा शारीरिक तनाव उत्पन्न हुन सक्छ । यसका साथै माइतीको सम्झना तीव्र हुनसक्छ । यो खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजको व्रत अन्य व्रत भन्दा फरक ढंगले लिइन्छ । यसमा पहिलो दिन विशेष महत्वकासाथ दर खाने गरिन्छ । दूधमा बनेका परिकारहरु खीर, ढकने साथै सेलरोटी आदि मष्ठिान्न भोजनदरको रुपमा खाने गरिन्छ । दरलाई आडिलो भोजनका रुपमा लिइन्छ । सामान्यतया दर मध्यरात १२ बजेअघि खाने चलन बसिसकेको छ । भोलिपल्ट दिनभर पानीसम्म पनि नखाई बस्नुपर्ने भएकोले दर खाने दिन राती ढीलासम्म बसेर पेटभरी खाने प्रचलन बसेको हो । दोस्रो दिन तिथिअनुसार भाद्र शुक्ल तृतीयाको दिन हरितालिका तीजको व्रत बसिन्छ । यस दिन पानीसम्म पनि नखाई व्रत बस्नुपर्ने परम्परागत मान्यता रहेको छ । व्रतको समयमा महिलाहरूले तीजको व्रतकथा सुन्ने र समापनमा पूजा लगाई व्रतकथा सुन्ने र बा़मणलाई दान दक्षिणा गर्ने चलन रहेको छ ।

निष्कर्ष

आधुनिक समाजमा तीजको महत्त्वलाई जुनरूपपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यताअनुसार महिलाहरू विवाह पश्चात् आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन बिताउनु पर्नेहुन्छ । महिलाहरूलाई पराइघरको विभिन्न जिम्मेवारी, तनाव, साथै माइतीको सम्झनाको खाडललाई कम गर्न यो पर्वको ठूलो भूमिका रहेको छ । तीजमा विवाहिता महिलाहरू आफ्नो लोग्नेको दीघायुको कामना गर्दै व्रत वसी नाचगान र मनोरञ्जन गर्दा मन प्रफुल्ल भई मानसिक तनाव कम हुनुका साथै शारीरिक व्यायममा पनि सकारातमक प्रभाव पर्न जान्छ तर यसको लागि आफ्नो स्वास्थ्यलाई ख्याल राख्न जरुरी छ । महिलाहरुका लागि तीजको व्रत बस्नु अनिवार्य नभई ऐच्छिक पनि हो । जसरी व्रत ऐच्छिक हो त्यसैगरी लुगा गरगहना, रातो वस्त्रको पहिरन पनि ऐच्छक बन्दै गएको छ । यो व्रत बस्दा कतिपय महिलाहरू विरामी हुने र समयमा उपचार पाउन नसक्दा समस्या पैदा हुने पनि गर्दछ । त्यसैले भोको पेट बस्न नहुने महिलाहरूले यो व्रत लिनुभन्दा पहिल्यै आफ्नो स्वास्थ्यको बारेमा ख्याल राख्नसके हाम्रो मानसिक चेतनामा परिवर्तन आउँछ जसले महिला शसक्तिकरणमा समेत टेवा मिल्छ । महिलाहरुमा सामाजिक चेतनाको विकास गर्ने उद्देश्यले तीज पर्व मनाऔं, यही शुभकामना ।

(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button