
तपस्यामा फल्छ धर्म, तत्वज्ञानमा फुल्छ सुख-शान्ति
धर्म
दीन पन्थी
धर्म भनेको धारणा हो । मान्छे, पशुपन्छी र वस्तुले पनि आफ्नो विशेषता धारण गरेका हुन्छन् । धर्म गरेर गरिने कुरा होइन, छोड्न नहुने कुरा हो ।
मान्छेहरु दुई खुट्टाले टेकेर हिड्छन् । चौपायाहरु चार खुट्टाले टेकेर हिड्छन् । पक्षीहरुका प्वाँख हुन्छन् ती आकाशमा सरर्र उड्छन् । बाघले अरु प्राणी मारेर खान्छ । हरिण घाँसमा चर्छ । आगो तातो हुन्छ । हिउँ चिसो हुन्छ । सिस्नाले पोल्छ । खुर्सानी पिरो हुन्छ । कागती अमिलो हुन्छ । सबै प्राणी र वस्तुले पनि आफ्नो धर्म निभाएका छन् । संसार धर्मले चलेको छ । मान्छेले पनि मानवधर्म निभाउनु पर्छ । धर्महीन मान्छे तापहीन आगो झैं असम्भव र व्यर्थ छ ।
धेरै मान्छेहरु आडम्बर र स्वाब्लाई धर्म ठान्छन् । पूजापाठ, कर्मकाण्ड, टुनामुना र स्वाब्सित धर्मको कुनै सम्बन्ध छैन । यी त जीवनशैली, लोकाचार र संस्कृति मात्र हुन् । ईश्वर पूजा गरे खुशी हुने र नगरे खिन्न हुने अज्ञानी मान्छे जस्तो हुँदैन । ईश्वर संसारको विधाता हो । यस संसारमा जे जति वैभव छ, सम्पत्ति छ त्यो ईश्वरकै हो । मान्छेले चढाएको भेटी पाएर भगवान् प्रसन्न हुँदैन । देवताहरु कंगाल छैनन्–मान्छेले चढाएका धूप, धजा, अक्षता र भेटी बटुलेर हिड्ने ! मान्छेले चढाएको नैवेद्य मान्छेले नै खान्छ । मान्छेले दिएको भेटी, अक्षता मान्छेले नै बटुल्छ । धर्मको गति सूक्ष्म छ । हाम्रो धर्मले जनसेवालाई नै जनार्दनसेवा मान्छ । परोपकारलाई पुण्य र परपीडालाई पाप मान्छ ।
हामी चन्द्र, सूर्य, पृथ्वी, वायु, जल, अग्नि, वृक्ष र नदीहरुलाई देवता मान्छौं । यसमा विश्वकल्याणको भाव छ । यसमा कृतज्ञताको भाव छ । हामीलाई रातमा शीतल उज्यालो दिने चन्द्रमा देवता होइन ? हामीलाई प्रकाश र ताप दिने सूर्य देवता होइन ? हामीलाई बोकेर हिड्ने, पालनपोषण गर्ने पृथ्वी देवता होइन ? जसविना हामी केही क्षण बाँच्न सक्दैनौं त्यस्तो प्राणवायु हाम्रो देवता होइन ? जलविना प्राणी, वनस्पति कोही बाँच्दैन, त्यस्तो जीवनाधार जल देवता होइन ? ताप दिने अग्नि हाम्रा ऋषिमुनिहरुको आविष्कार हो, त्यस्तो अग्नि के देवता होइन ? हामीलाई छहारी, इन्धन, औषधि र प्राणवायु दिने वृक्षलाई देवता मान्नु के उपयुक्त छैन ? हाम्रा देवताहरु प्रत्यक्ष छन् । तिनलाई भेट्न स्वर्गलोक जानु पर्दैन ।
हाम्रा ईश्वर पनि प्रत्यक्ष छन् । हामी तर्कले, अनुमानले, श्रद्धाले, अन्तर्दृष्टिले भगवान् देख्छौं । आँखा नहुनेहरुले रंग र आकृति देख्न सक्दैनन् । भित्री आँखा नहुनेहरुले ईश्वर देख्न सक्दैनन् । ज्ञानीहरु ईश्वरलाई जलमा, थलमा, नभमा, घटघटमा, कणकणमा यत्रतत्र सर्वत्र देख्छन् । हामी महलमा ईश्वर खोज्छौं तर ईश्वर झुपडीमा पनि हुन्छ । हामी झिलीमिली पोशाकमा ईश्वर खोज्छौं तर ईश्वर पसिनाले भिजेका पोशाकहरुमा पनि बस्छ । हामी सुनमा ईश्वर खोज्छौं, सुनमा त कलिको बास हुन्छ । ईश्वर त माटामा बस्छ र त्यही बसेर वनस्पति औषधि र अन्नहरुको सृजना गर्छ । आफैमा परिपूर्ण छ ईश्वर, सर्वव्यापी, शाश्वत, सर्वशक्तिमान् ।
रुपमा धर्म अनेक भए पनि सारमा धर्म एक छ । सबै धर्मको सार परोपकार, शान्ति र कल्याण हो । रmचिको भिन्नताले धर्ममा अनेक सम्प्रदाय, मत र पन्थहरु छन् । नदीहरु जता बगे पनि सागरमा पुग्छन् । सबै धर्महरुमा शान्ति, दया, परोपकार र मानवताका भाव छन् । सबै धर्म सम्मान्य छन् । जे नामले सम्बोधन गरिए पनि भगवान् एक छ । विश्वको विधाता एक छ । धर्मीहरु दोषी हुन सक्छन्, पाखण्डी हुन सक्छन्, आडम्बरी, दम्भी र ढोंगी हुन सक्छन् तर धर्म त गंगाजल झैं निर्मल हुन्छ । जल त स्वच्छ र शीतल नै हुन्छ । त्यसलाई बिगार्ने, मैलाउने त मान्छे हो । सभ्य, उन्नत र सर्वश्रेष्ठ भनिने मान्छे ।
धर्मका संकीर्ण अनुयायीहरुले धर्मलाई धमिल्याउँछन् । एकथरी मान्छेहरु भगवान्लाई आफैले पाले झैं गर्छन् । आफूलाई दाता ठान्छन् । देवतालाई आफूले दया गरेको ठान्छन् तर देवताहरु शक्तिशाली छन्–वायु झैं, जल झैं सूर्य झैं ? पृथ्वीलाई के दियौं ? वायुलाई के दियौं ? सूर्यलाई के दियौं ? बरु लियौं । भगवान्बाट जीवन लियौं । पृथ्वीबाट आधार लियौं । सूर्यबाट ताप र प्रकाश लियौं । जलबाट तिर्खा मेट्यौं । वायुबाट प्राण लियौं । बरु रुखले फल दिन्छन्, नदीले जल दिन्छन् । हामीले के दिन्छौं ? वास्तवमा मान्छे असहाय र अकिञ्चन छ । अर्काथरी मान्छेहरु आफूलाई अधर्मी र नास्तिक ठान्छन् । दुवैथरी मूर्ख हुन्–दुई छेउका । जसले धर्म मान्दिनँ भन्छ, त्यसले चैतन्य मान्दैन, त्यसले सत्य, शान्ति, कल्याण र बुद्धि मान्दैन । त्यसले कर्तव्य र मानवता मान्दैन । धर्म र ईश्वरविहीन जगत् र जीवन शून्य छ । पिताविनाको पुत्र हुँदैन । जगत्पिताविना जगत् पनि हुँदैन जगत् छ र त्यसको निर्माता पनि छ ।
घडा छ र कुमाले पनि छ । नास्तिकता एउटा उन्मादमात्र हो । सुखमा धर्म र ईश्वर चाहिन्न । दुःख र विपत् पर्दा चाहिन्छन् धर्म र ईश्वर । सुखको मूल धर्म हो । मान्छे सबै सुखको खोजीमा छन् । सुखकै खोजीमा बटुलियो धन । आनन्दकै खातिर लेखिए पुराणहरु । सुखशान्तिकै लागि पुजिए देवताहरु । धर्मविना सुख छैन । भगवान्मा विश्वासविना शान्ति छैन । धर्मबाटै चुहिएर झर्छ सुख टपाटप टिप्नुपर्छ हामीले । सुख चुहिरहेको छ, आनन्द बर्सिरहेको छ, क्षण-क्षण । हामी दिग्भ्रमित भएर जिल्लिइरहेका छौं । धर्मतङ्खव र ईश्वरतङ्खव बुझेपछि दुःख छैन, चिन्ता छैन । धर्ममा नित्य सुख छ, चिदानन्द छ । धर्ममा सर्वोत्तम शुभ छ, मंगल छ, शान्ति छ । धर्ममा सतहीहरु कि ढोंगी हुन्छन् कि नास्तिक हुन्छन् । ढोंगीहरु धर्मलाई लोकाचार ठान्छन् । नास्तिकहरु अज्ञानी हुन्छन्, आफैभित्रको ईश्वर चिन्न नसकेर भ्रमित हुन्छन् ।
धर्म त्यही हो जसले हाम्रो कल्याण गर्छ । ईश्वर त्यही हो जसले हाम्रो मनमा राज गर्छ । देवता तिनै हुन् जसको आधारमा हामी छौं । दैत्य तिनै हुन्–जसले हामीमा राग, द्वेष, ईष्र्या र अहंकार भर्छन् । स्वर्ग त्यही हो जहाँ शान्ति र प्रेम छ । नर्क त्यही हो जहाँ हिंसा, वैमनस्य र घृणाको बास छ । कुनै मुकुटधारी भगवान् छैन जसले लौरो लिएर मान्छे चराउँछ । भगवान् हामीभित्रै छ त्यसलाई खोज र चिन । कुनै त्यस्ता रंगीचंगी देवता छैनन् जसले हामीले चढाएका धूप, धजा, अक्षता र भेटी बटुल्छन् । देवता हाम्रै सेरोफेरोमा छन् तिनको स्वागत गर । सिब् र दाह्रा भएका कुनै दैत्य छैनन् बाहिर । दैत्य हामीभित्रै छन्, तिनलाई लखेट । भावनामा बस्छन् देवताहरु । कणकणमा बस्छन् भगवान् ।
शुद्ध चित्त भएमा भगवान् सर्वत्र भेटिन्छन् । तीर्थव्रत, मन्दिर, मूर्ति, पूजा, अनुष्ठान सबै आस्था बढाउने साधन हुन् । जसले कण–कणमा भगवान् देख्छ, अनुभव गर्छ त्यसलाई यी चाहिन्नन् । भगवान् जड छैन, नित्य चैतन्य छ । चैतन्यको अनुभव गर, चैतन्य पूज, चैतन्य बन । पूजा के हो ? केवल सेवा, केवल श्रद्धा । अक्षता चढाऊ–भोकाहरु अघाउँछन् । धजा चढाऊ–नाब्गाहरुको आब् ढाकिन्छ । पाद्य चढाऊ–प्यासीको प्यास मेटिन्छ । अर्घ चढाऊ–नातागतले तागत पाउँछ । फूल च्यातेर जग्गेमा फाल्दैमा स्वर्ग फल्दैन । मूर्तिमा पुर्पुरो ठोक्दैमा भगवान्को दर्शन मिल्दैन । जग्गेमा असत् आर्जनको चन्दा धकेलेर अहब्कार गर्दैमा धार्मिक भइन्न । आडम्बरी, ढोंगी, धनाभिमानी, भ्रष्टाचारी र दम्भीहरुलाई सुख स्वर्गको द्वार खुल्दैन ।
तपस्यामा फल्छ धर्म । तत्वज्ञानमा फुल्छ सुख-शान्ति ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला । सम्पादक)




धर्मलाई वस्तु वा प्राणीमा अन्तर्निहित गुण भनी यसरी सरल भाषामा बुझाउन सक्नु अनि ईश्वरद्वारा प्रदत्त जीवनलाई देवताद्वारा रक्षा गरिने कुराले अर्थ्याउँदै परोपकार पुण्याय पापाय परपीडनम भन्ने धर्मको निचोडका साथै ईश्वरप्राप्तिको सही मार्गचित्र कोरेर हामीलाई सही ज्ञान दिनुहुने दाजु हजुरमा कोटि कोटि नमन !