
उज्यालो सोचौं, नेपालमा छिट्टै पर्यटकको घुँइचो लाग्नेछ
ब्राह्मणपुत्र लकडाउन डायरी–२६
भरत शर्मा
मौसम पूर्वानुमान महाशाखाले विशेष मौसम बुलेटिन जारी गर्दै भनेको छ, ‘भारतको बंगालको खाडीमा रहेको न्यून चापीय क्षेत्रबाट आउन लागेको चक्रपातको असर नेपालसम्म पनि आउने छ ।’ केही दिनअघि मात्र भारतको महाराष्ट्र र गुजरातमा आएको चक्रपात भन्दा पनि ठूलो हुने भन्दै मौसमविदहरुले यसलाई ‘यास’ नाम दिएका छन् ।
भारतमा मात्र होइन, यो यासले नेपालमा पनि पहाडी र हिमाली जिल्लामा बर्षा हुने र केही क्षति हुने अनुमान गरिएको छ । हिमाल चढ्न गएका यात्रीहरुलाई चेतावनी दिइएको छ, ‘छिटो–छिटो सुरक्षित स्थानमा आइपुग्नु होला ।’
प्रकृतिमा ‘यास’ चक्रपात आए पनि वा जमिन भूकम्पले हल्लाए पनि देशका ‘अभिभावक’हरुलाई व्यवस्थापनमा चिन्ता छैन । देशमा नेताहरु ‘यास’ चक्रपात जस्तै पौठेजोरी खेलिरहेका छन् । उनीहरुलाई न त कोरोना महामारीमा अक्सिजन नपाएर मृत्यु रोजेका, उपचार नपाएर छटपटिएका जनताको चिन्ता छ न त ‘यास’ चक्रपातले पु-याउने सम्भावित क्षतिको ।
माथिका प्रसंगपछि अब पर्यटनतिर लागौं ।
विश्वजन मोहित हुने तराई, पहाड, हिमालसहितको सुन्दर तपोभूमि नेपाल । तर, के गर्नु ! यो सुन्दरता हेर्न पनि अब पर्यटक सन् २०२४ पछि मात्र आउने भए । अबको २६ महिनासम्म दिन र रात पर्खेर भए पनि ‘पर्यटन’ क्षेत्रचाहिँ अघि बढ्ने छ भन्ने विश्वास छ हामीलाई । र, पर्यटन क्षेत्रमा हिजो, आज र भोलिको बारेमा हामी कसरी जानसक्छौं ? यसै सेरोफेरोमा छलफल गर्नु उपयुक्त होला ।
हिजो जनतामाथि जनताको नाममा गरिएको जनयुद्वले पर्यटन क्षेत्रले निकै सकस व्यहोरेकैं हो । जेनतेन त्यतिबेला शहर केन्द्रित पर्यटकहरु आए । नेपाल आएका पर्यटकले मनभित्र भय लिएर पनि हिमाल र केही पहाडी दृश्य हेरेर फर्के । जनयुद्ध जंगलबाट सिधै सिंहदरवार आएपछिका केही बर्ष पर्यटकको आगमन बढ्यो । उत्साही भए पर्यटन व्यवसायी ।
सन् २०२० मा त उधुम नैं हुने गरी भ्रमण बर्ष र २० लाख पाहुना ल्याउने कुरा थियो । पहिलो गाँसमै ‘हिहिही’ भयो ।
पर्यटन क्षेत्रका कतिपय वैकल्पिक बाटो कृषितिर लागेका छन् । सनातन शास्त्रले सयौं बर्ष पहिले भनेको कुरा हो, ‘सबैभन्दा उत्तम खेती, मध्यम व्यापार र पछाडि मात्र जागिर ।’
हामीलाई पुरानो कुरा सुन्नु पनि छैन, पढ्नु पनि, त्यसैले भोग्दैछौं । अहिले शहरभित्रका छत–छतमा किसानी गरेका फोटा राखेर ‘म पनि किसान, मैले फलाएको अर्गानिक काक्रो खाने हो भन्दै हसिमजाक गर्दैछौं ।
कोरोनाकै साइडइफेक्ट स्वरुप गाउँमा बाँझो बसेका कतिपय खतेबारीले खनजोत पाएको छ । यो पनि ठीकै छ । यही सन्दर्भमा म आज नेपालनाम्चामा लकडाउन सुरु भएदेखि नै हरेक दिन लेख्दै आएको डायरीमा नेपाल पर्यटन बोर्डका पूर्व सिईओ दीपकराज जोशीलाई प्रस्तुत गर्दैछु, जो पर्यटन क्षेत्रको मर्म र भावना बुझेका सत्पात्र हुन् ।
जोशीको संयोजनमा नेपालमा पर्यटन क्षेत्रमा संघ सस्थाहरुले गरेको अध्ययन अनुसार काठमाडौंको ठमेल क्षेत्रबाट १७ प्रतिशत व्यवसाय सदाका लागि बन्द भएको, पर्यटन क्षेत्रले २ खर्ब रुपैयाँ गुमाएको र ६५ प्रतिशत पर्यटन क्षेत्रका मजदुर बेरोजगार हुनु परेको प्रक्षेपण छ ।
११ मिनेटसम्म टेलिफोन कुराकानी भयो । यो अवस्थामा पनि जोशीमा उत्साह उत्तिकै थियो । र, कोभिड महामारीपछि नेपालमा पर्यटनको एउटा सकारात्मक लहर आउनेमा आशावादी थिए । जोशीलाई मैले एउटै प्रश्न राखेको थिएँ, ‘भोलिको पर्यटन कस्तो हुन्छ, के गर्नुपर्छ ?’ उनले जे भने जस्ताको तस्तै ।
…
सबै प्रकारको पर्यटकका लागि नेपाल स्वर्ग होइन र ?
दीपकराज जोशी
‘अहो ! नेपाल त स्वर्ग हो’, एक पटक नेपाल आउने प्रत्येक यात्रीले अनुभव गरेर गएका छन् ।
हाम्रो सम्पति भनेको ‘नेचर’ हो । देशमा रहेका जल, जमिन र जंगलको बारे हामीले निरन्तर प्रचार गरिरहनु पर्छ । तर, हामीले नेपालमा पर्यटक ल्याउन धेरै प्रचार–प्रसार गरिरहनु पदैन । नेपालको भूगोलले नैं पर्यटकलाई स्वागत गरेको छ ।
हाम्रो कमी भनेको पूर्वाधार विकास नै हो । यहाँ सडक मार्ग र हवाई मार्गको सहजता हुने हो भने स्वीजरल्याण्ड जाने धेरै पर्यटक यता आउँछन् । यदि नेपालमा पूर्वाधार मात्र विकास गर्ने हो भने हरेक महिना पर्यटकलाई स्वागत गर्न हम्मे–हम्मे पर्छ ।
महामारीले हाललाई (आजको अवस्थामा) सबैभन्दा बढी क्षति पु-याएको छ । पर्यटक क्षेत्रसँग आश्रित ठूलो समूह छ । सबैलाई प्रत्यक्ष असर परेको छ तर अहिले आत्तिने बेला चाहिँ होइन ।
पर्यटन क्षेत्रमा लागेका हामी सबैले नेपालको प्राकृतिक सुन्दरताको बयान गरिरहनु पर्छ । महामारीपछि नेपालमा यात्रा गर्दा शरीर, मन र तन खुसी हुने स्थान हो भन्ने सन्देश दिन सक्छौं । नेपालीहरुको सहयोगी भावना र पाहुनालाई ह्रदयदेखि स्वागत गर्ने हाम्रो परम्परा भएकाले पनि कोभिडपछि नेपालमा पर्यटन क्षेत्र अवश्य उकालो लाग्ने छ ।
हामीसँग पर्यटकका चाहना अनुसारका घुम्ने स्थान र प्याकेजहरु छन् । कसैलाई हाइकिङको इच्छा हुन्छ, कसैलाई हिमाल जाने इच्छा हुन्छ त कसैलाई अध्यात्म यात्राको । सबै प्रकारको पर्यटकका लागि नेपाल स्वर्ग होइन र ?
विगत १० बर्ष नेपालमा पर्यटकिय उत्साहका बर्षहरु रहे । नेपालका आएका पर्यटकले खुसी, उत्साह र उमगं लिएर फर्कें । संसारभर लकडाउन भएका बेला हरेक मानिसले आफ्नो यात्राबारे समीक्षा गर्दा नेपालाई फेरि एकपटक सम्झेका छन् । समय अनुकुल भएपछि उनीहरु फेरि एकपटक नेपाल आउने छन् ।
विगतमा पर्यटक कसरी आएभन्दा पनि भोलि पर्यटकहरुको रोजाइमा नेपाल पर्न सक्छ । त्यसका कारण छन् ।
१) नेपालको खुल्ला सुन्दरता
२) आध्यामिक दर्शन गर्ने थलो
३) प्रकृति र हिमालको अवलोकन
महामारीले खुम्चेका पर्यटकका मनहरुलाई हामीले नेपाल यात्रा गराएर खुसी दिएर पठाउन सक्छौं । हाम्रा छिमेकी देश चीन र भारतमात्र होइन, दक्षिण एसियाली र अन्य विकसित देशका नागरिकहरुका लागि स्वास्थ्य मापदण्डको पालनासहित पर्यटकका लागि बस्ने होटल, चढ्ने मोटर र घुम्ने र घुमाउने सबै अलगै व्यवस्था मिलाएर नेपालमा पर्यटक भित्र्याउन सकिन्छ ।
चिनियाँ घुमन्ते छन् । उनीहरुको नजिकको घुम्ने देश भनेको नेपाल हुनसक्छ । भारतीयहरुको कुरा पनि त्यही हो । पर्यटन क्षेत्रका मानिसले सन् २०२४ पछि मात्र यात्रा फराकिलो हुने भनेका छन् । तर, मेरो व्यक्तिगत बुझाई के हो भने महामारीपछि घुम्नेक्रम छिटै शुरु हुन्छ । हिमालको सौन्दय, जंगल, पशुपतिनाथ, बुद्धको जन्मस्थली हेर्नका लागि पर्यटकहरु आउने नैं छन् ।
यतिबेला पर्यटन व्यवसायीहरुलाई चाहिँ ‘आर्थिक आपद’ परेको छ । पर्यटन क्षेत्रसँग जोडिएकाहरु बेरोजगार भएका छन् । यस्तो बेला राज्यबाट पर्यटन संरक्षण नीति चाहिएको छ ।
उज्यालो सोचौं, केही समय पर्खनु पर्छ, त्यो दिन आउने छ, नेपालमा छिट्टै पर्यटकको घुँइचो लाग्नेछ । होटल भरियो भन्ने समाचारले मिडियामा स्थान पाउने छ ।
पर्यटन व्यवसायी र यो क्षेत्रमा आश्रित मित्रहरुलाई मेरो अनुरोध छ, ‘अहिले धेरै निराश नहुनु होला । अब छिटै त्यो दिन आउने छ, हामीले नबोलाए पनि पर्यटकले भन्नेछन्, हामी नेपाल आउँछौं ।’