मेरो पहिलो अनुभव

शकुन्तला देवकोटा

१४ अक्टोबर २०१९ मेरो गाइड पेसा सुरु भएको दिन । पहिलो पल्ट नै ५० जना भारतिय पर्यटक लिएर म काठमाडौको ठमेलबाट भक्तपुर दरबार हिँडे, थोरै डर र धेरै उल्साह बोकेर ।

गाडीमै सबैलाई मेरो परिचय दिएँ । केटीमान्छे गाइड पाएकोमा सबै पर्यटक खुशी देखिन्थे । भक्तपुरको बारेमा मैले जानेको, सुनेको र पढेको सबै बाटोमै सुनाएँ ।

म नितान्त नयाँ गाइड । टिकट कता काट्ने भन्नेसम्म पनि थाहा थिएन । नजिक पुग्दा एकजना चिनेको गाइड साथी भेटेँ । मेरो चिनजान भएकोसँग सहजै बोल्ने बानी त्यहाँ काम लाग्यो । उहाँले पनि सहजै भन्नुभयो, ‘पहिलोचोटि धेरैजना लिएर आउनु भएको रहेछ । नआतिनु । विस्तारै सजिलो हुन्छ ।’

‘टिकट काट्ने पहिले । यता लग्ने अनि उताबाट निकाल्ने’, उहाँले सबै बताउनुभयो । मलाई धेरै सजिलो भयो ।

त्यसपछि पशुपतिनाथ गन्तब्य । पशुपतिमा थुप्रै घुम्ने ठाँउ । मुख्य मन्दिर दर्शनपछि मलाई ग्रुप जम्मा पार्न हम्मे पर्‍यो । केटीहरु कस्मेटिक सामान किन्न कता पसे । बल्लबल्ल जम्मा पारेर गाडीमा राखेँ ।

त्यो बेला काम सबै गाह्रो हुने महसुस गरें । त्यसपछि हामी बुढानिलकण्ठतिर लाग्यौं । बुढानिलकण्ठ परिसर घुम्यौं । ठाउँ थोरै भएकोले सजिलो नै भयो ।

भोक र थकाई निकै लागिसकेको थियो । स्वयम्भुनाथ घुम्न बाँकी थियो । स्वयम्भुनाथ पुग्दा पर्यटकहरु पनि थाकेका जस्ता देखिन्थे । तर पनि एकछिन घुमाएँ । फोटो खिचियो । रमाइलो गरियो । काठमाडौको सबैतिर हेर्न मिल्ने अग्लो ठाउँ । मौसम खुलेको थियो ।

मैले जाने बुझेको जति सबै बताएँ ।

त्यसपछि होटेल फर्कियौं । होटलमा गएर के भन्ने हुन पर्यटकले भन्ने एक प्रकारको डर मेरो मनमा थियो नै तर सबैजना खुशी नै देखिए । म ढुक्क भएर खाना खाएँ र घर फर्किएँ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button