प्रधानमन्त्रीको घोषणाः ‘एक्सिपिडिसन अवार्ड’ व्यवस्था गर्छौं
‘त्यो ‘माउन्टेन टाइगर’ ‘माउन्टेन टप्स’ अथवा अरु प्रकारका मान पदवी हुनसक्छ । हामी ‘एक्सिपिडिसन अवार्ड’को व्यवस्था गर्छौं ‘, विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ को शिशिर याममा सफल आरोहण गरी नयाँ अभिलेख बनाएका निर्मल पुर्जा ‘निम्स’ सहितका १० नेपाली आरोहीको सम्मान तथा अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी ओलीले भने ।
‘आरोहण मुस्किल छ, कठिन छ, सजिलो भएको भए त प्रधानमन्त्री पनि यो टिममा हुन्थ्यो, १० जनामा ११ हुन्थ्यो, प्रधानमन्त्री नै आरोहणमा गएपछि अझ बढी धुमधाम हुन्थ्यो होला ?’, ओलीले थपे, त्यो दुस्साहस आफूले गरेको भए फर्केर नआउने थिएँ होला ।’
सोही अवसरमा केटू आरोहणमा लगेको नेपालको राष्ट्रिय झण्डा आरोही टोलीले प्रधानमन्त्रीलाई हस्तान्तरण गरे । पुर्जासहित १० नेपाली आरोही समूहले केटू आरोहणमा कीर्तिमान कायम गरेका हुन् । पाकिस्तान र चीनको सिमानामा अवस्थित आठ हजार ६११ मिटर अग्लो केटूको जाडो याममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । निर्मलसँगै मिग्माडेभिड शेर्पा, मिङ्मा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमाचिरी शेर्पा, दावाछिरी शेर्पा, किलु शेर्पा, मिङमा जी, दावातेन्जिङ शेर्पा र सोना शेर्पा टोलीले केटू हिमाल आरोहण गरेको हो ।
नेपाली आरोही समूह यही माघ ३ राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरामा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराइएको थियो ।