कीर्तिमानी ‘केटू’ आरोही नेपाल आइपुगे, काठमाडौंमा भव्य स्वागत
विश्वकै दोस्रो अग्लो हिमाल ‘केटू’ हिमालको जाडोयाममा सफल आरोहण गरी नयाँ रेकर्ड बनाएका १० नेपाली आरोही काठमाडौँ आइपुगेका छन् । पर्वतारोहणको क्षेत्रमा विश्वमै दुर्लभ कीर्तिमान कायम गरेका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका निर्मल पुर्जासहित १० नेपाली आरोहीले ‘केटू’ आरोहणमा कीर्तिमान कायम गरेका हुन् ।
उनीहरु पाकिस्तान र चीनको सिमानामा अवस्थित संसारकै दोस्रो अग्लो आठ हजार ६११ मिटर अग्लो केटू हिमालमा जाडोयाममा आरोहण गर्ने विश्वकै पहिलो आरोही बन्न सफल भएका छन् । आरोहणमा पुर्जालाई मिग्मा डेभिड शेर्पा, मिङमा तेन्जिङ शेर्पा, ग्याल्जेन शेर्पा, पेमा चिरी शेर्पा, दावा शेर्पा, किलु शेर्पा, मिङमा जी, दावा तेन्जिङ शेर्पा र सोना शेर्पाको आरोही टोलीले सघाएको थियो ।
उनीहरूलाई पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्वतारोहण सङ्घलगायत पर्यटन क्षेत्रका संस्थाको सहभागितामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत तथा सम्मान गरिएको छ । विमानस्थलबाट आरोहीलाई राष्ट्रिय झण्डाका साथ मोटरसाइकल र्यालीद्वारा तीनकुने, नयाँबानेश्वर, माइतीघर, भद्रकाली, सुन्धारा, कान्तिपथ हुँदै ठमेल परिक्रमा गरी भृकुटीमण्डपस्थित नेपाल पर्यटन बोर्डमा एक कार्यक्रमबीच सम्मान गरिएको छ ।
विमानस्थल उत्रिएको आरोही टोलीलाई र्यालीका साथ ठमेलतर्फ लगिएको थियो । ठमेल परिक्रमा गराएर बोर्डको कार्यक्रम सकिएलगत्तै प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा हुने विशेष कार्यक्रममा आरोही टोलीलाई सम्मान गरिनेछ ।
नेपाली आरोही समूह यही माघ ३ शनिबार राति १ बजे केटूको शिखरमा पुगेको थियो । चुचुरोमा नेपालको राष्ट्रिय गानका साथ नेपाली झण्डा फहराएको तस्वीर सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो । प्रतिकूल मौसमका कारण आरोहण समय तालिका ढिलाइ भएको थियो । दोस्रो क्याम्पमा आरोहीको त्रिपाल र आरोहणका लागि आवश्यक उपकरण हावाले उडाएपछि आरोहणमा केही चुनौती थपिएको थियो । विभिन्न कठिनाइबीच आरोहीले शिखरयात्रा पार गरी नेपालीको शानलाई विश्वभर पुर्याउन सफल भए ।
जाडोयाममा माइनस ८० डिग्रीको तापक्रम र १०० माइल प्रतिघण्टाको वायु गतिजस्ता प्रतिकूल अवस्थामा समेत आरोहण रच्ने नेपाली आरोहीको सफलताले विश्वभर चर्चा पाएको छ । विश्वभरका पर्वतारोहीले केटु हिमाललाई किलर हिमालको रूपमा समेत चर्चा गर्ने गरेका छन् । केटू हिमालमा अहिलेसम्म जम्मा ३६७ सफल आरोहण भएका छन् भने आरोहणको प्रयासमा ८६ जनाले ज्यानसमेत गुमाइसकेको जनाइन्छ ।
पुर्जाको यो दोस्रो कीर्तिमान हो । उनले सन् २०१९ मा छ महिनाभित्रै विश्वका आठ हजारमाथिका सबै अग्ला १४ हिमालको सफल आरोहण गरेर विश्व कीर्तिमान बनाएका थिए । बेलायतको रक्षा मन्त्रालयमा माउन्टेन विज्ञको रूपमा कार्यरत रहँदा पुर्जाले ब्रिटिश सेनाको रोजाइमा रहेका विश्वका धेरै हिमालको आरोहण गरिसकेका छन् ।
सगरमाथापछि विश्वकै अग्लो केटू आरोहणका लागि निकै अफ्ठेरो हिमाल हो ।