साइकलमा सरर स्वर्गद्धारी
नेपाल साइकल उत्सव टोली पश्चिम नेपालको चर्चित गन्तव्य स्वर्गद्धारी आइपुगेको छ ।
प्युठान, स्वर्गद्धारी । नेपाल साइकल उत्सव टोली पश्चिम नेपालको चर्चित गन्तव्य स्वर्गद्धारी आइपुगेको छ । काठमाडौंबाट हिंडेको आठौं दिन एशियाकै विशालतम दाङ उपत्यकाबाट साइक्लिङ गर्दै टोली प्युठानस्थित स्वर्गद्धारी आइपुगेको हो । साइकल टोलीलाई स्वर्गद्धारी २ का सदस्य तथा श्री बालसंस्कृत माध्यामिक विद्यालय व्यवस्थापन समितीका अध्यक्ष विष्णु खनालले स्वागत गरे । टोलीले स्वर्गद्धारी क्षेत्रमै रहेको विद्यालय हातामा क्याम्प खडा गरेको छ ।
पश्चिम नेपालको दोधाराचाँदनी (महाकाली) पुलबाट प्याडलिङ सुरु गरेको नेपाल साइकल उत्सव टोली धनगढी, ठाकुरद्वार, नेपालगन्ज, कोहलपुर, अमेलिया, तुल्सीपुर, घोराही हुँदै स्वर्गद्धारी आइपुगेको हो । महाकालीदेखि पूर्व मेचीसम्मको यो विशेष साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर रहेको छ ।
नेपाल पर्यटन वोर्डको प्रवद्र्धन तथा ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान), नेपाल एशोसिएसन अफ टुर्स् एन्ड ट्राभल एजेन्ट्स् एशोसिएसन (नाटा) र नेपाल पर्वतारोहण संघ (एनएमए)को सहयोगमा भइरहेको तीन साताको साइकल यात्रापश्चात इलामको पशुपतिनगरबाट नेपाल साइकल उत्सव टोली काठमाडौं फर्किनेछ ।
विश्व साइकलयात्री पुष्कर शाहको नेतृत्वको साइकल टोलीमा राजेन्द्र सापकोटा, सुभाष केसी, एक्सपान्सन दाहाल, सम्राट पान्डे, महेन्द्र अधिकारी, हिम गुरुङ, माधव नेपाल, मुक्ति पान्डे, अशोक सिलवाललगायत रहेका छन् ।
कोभिड १९ ले पर्यटन कोमामै पुगेको यो बेला पर्यटनकर्मीहरुले नेपाली पर्यटन व्युँझाउन र आन्तरिक पर्यटन प्रवद्र्धनका लागि पर्यटन बोर्डको सन्देश प्रवाह गर्न यो सांकेतिक साइकल प्रयास गरिएको टोली सदस्य राजेन्द्र सापकोटाले बताए ।