माघे संक्रान्ती कहिले आउला भनेर पर्खने चाड थियो

मैले सम्झेको बाल्यकालको माघे संक्रान्ती

दुर्गा कार्की

पुसमा पकाएर माघमा खाने चाडको रुपमा परिचित यो पर्व बालबालिकाहरुका लागि साँच्चिकै रमाइलो चाड यद्यपि छँदै छ ! तरुल, सखर्कन्द, तील, मुरै, चिउरा र नरिबलका लड्डु घिउ चाकु आदि खान पाइने यो चाडमा भोलि कहिले होला भनेर पर्खाइमा हुन्थ्यौँ ।

आमा, दिदी, भाउजूहरुले बनाउदै गर्दा अघिल्लो दिन हामी टुलुटुलु हेरेर बस्न बाध्य हुन्थ्यौँ । किनकी त्यो मिष्टान्न खानेकुरा भोलिपल्ट मात्रै खान पाइन्थ्यो । खानका लागि भोलि पल्ट ठिही जाडोमा नुहाउनुपर्ने हुन्थ्यो । त्यति मात्र कहाँ हो र, हाम्रा घरका पितृ देवीदेवता, कुल्कुलायन, वायु देवता, सिमे भुमे आदि भित्री बाहिरी देवतालाई चढाएर मात्र खान पाइन्थ्यो । बेलुका लड्डु बनुन्जेल टुलुटुलु हेरेर थुक निल्दै बस्नु पर्ने बाध्यता यही थियो । एउटा रमाइलो पक्ष भने भोलि बिहान को चाँडो उठेर नुहाउने भन्ने प्रतिस्पर्धा हुन्थ्यो !

मेरी दिदी र छिमेकी माल्दिदी, कान्छीदिदीहरु ठुला थिए । चाँडै उठ्लान र जित्लान भन्ने कुराले सुत्ने बेला मन पोल्थ्यो । आधा रातमै २/३ बजे उठेर कुवामा गै नुहाउथ्यौँ । नुहाइसके पछि आगो बालेर तीलका झिङ्गटा हालेको आगो ताप्थ्यौँ । तीलको निक्कै मह्त्व रहेको सुन्थेँ । तीलको आगो तापेर काँचो तरुल खाए पछि गति परिन्छ भन्ने चलन थियो । त्यसदिनको स्नानलाई मक्कर स्नान भन्ने गरिन्थ्यो । नदी खोला छेउकाहरुले त्यही गएर नुहाउँथे । आगो ताप्दा आगोको रापले छालामा बिराली पर्यो भन्थ्य्यौँ, छलामा एक किसिमको रापले दाग देखिन्थ्यो । अब बल्ल अघिल्लो दिनको ब्याघ्रता समाप्त हुन्थ्यो किनकी परिवारका सबै उठेर खान तयार हुन्थे ।

देवतालाई अर्पण गरिसकेपछि सबैलाई बेलुका बनाएको खानेकुरा थालथालमा बांडिन्थ्यो । प्राय घर मूली आमाले सबैलाई बडो प्रेमले खान दिनुहुन्थ्यो । बालेको आगोको वरिपरि बसेर तरुल भ्यकुर लड्डुहरु खान्थ्यौँ । अलिकती अग्नि देवतालाई चढाएर खान पर्छ भन्ने सुनेकी थिएँ । सबैकुरा बडो अनुशासित हुन्थ्यो । त्यस दिन आमाले सबैलाई संक्रान्तीको टीका लगाइदिनुहुन्थ्यो । हामी छोरीहरुले भने दक्षिणा पनि पाउँथ्यौँ ।

यो चाड हाम्रा लागि कहिले आउला भनेर पर्खने चाड थियो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button