
एउटा कार्यक्रम थियो ‘नानीसँग ज्ञानी’
नानीसँग ज्ञानी
मित्र ‘उराठी’ गौतम
अमरपुर- गुल्मी हालःतिलोत्तमा न पा -२, रुपन्देही
विद्यालयमा वर्षभरी गरिने कार्यक्रमहरु वार्षिक कार्ययोजनामा राखिएको थियो । त्यस मध्येकै एउटा कार्यक्रम थियो ‘नानीसँग ज्ञानी’। यस कार्यक्रममा समाजका लब्ध प्रतिष्ठित व्यक्तित्वहरुलाई आमन्त्रण गरिन्थ्यो । उनीहरुले विद्यार्थीहरुलाई आफ्ना संघर्षका कथा सुनाउँथे । ज्ञानगुनका कुरा बाँड्थे । बालबालिकामा सकारात्मक सोँचको विकास गराउनु र उत्प्रेरणा जगाउनु नै यस कार्यक्रमको मुख्य उद्धेश्य थियो ।
देशमा चुनावको घोषणा भै सकेको थियो । नेताहरु देश दौडाहामा लागि सकेका थिए । यसै क्रममा पटक पटक मन्त्री भै सकेका यस क्षेत्रका सांसद पनि जिल्लामा आइपुगेका थिए । ‘नानीसँग ज्ञानी’ कार्यक्रमको सातौँ श्रृङ्खलामा प्रधानाध्यापकले उनैलाई अतिथिको रुपमा आमन्त्रण गरे । विद्यालयमा भव्य स्वागत गरियो । माला र खादाले उनका गला भरिए । ठूलो हलको मञ्चमा उनी विराजमान भए ।

प्रधानाध्यापकको संक्षिप्त स्वागत मन्तव्यपछि संचालकले अतिथिलाई आफ्ना विचार राखिदिन अनुरोध गरे ।
अतिथिले आफ्ना संघर्षका कथा सुनाए । जेल,नेल भोगेका कुराहरु बडो गर्वका साथ व्यक्त गरे । भन्दै गए, ‘नानीबाबु हो ! तपाईँहरु यो देशको भविष्यको कर्णधार हो । तपाईँहरु कर्तव्य परायण बन्नु पर्छ । इमान्दार र नैतिकवान बन्नु पर्छ । अनुशासन विद्यार्थीको सबै भन्दा ठूलो गहना हो । तपाईँहरु कक्षामा नियमित उपस्थित भएर लगनशील भै पढ्नु पर्छ । कहिले पनि कक्षा छोडेर भाग्नु हुँदैन । तपाईँहरुमाथि परिवारको, राज्यको ठूलो लगानी छ ।’
अतिथि बोलिरहेका थिए।विद्यार्थीहरु भने कोही झूलिरहेका थिए त कोही हाइ काढ्दै थिए ।
‘मूला ! जो भत्ताको लागि हाजीर लगाएर भाग्छ । जो संसद भवनमा ताण्डव मच्चाउँछ । जो मन्त्री हुँदा भ्रष्टाचार र अनियमितताको कारण हरेक दिन जसो सामाजिक सञ्जालमा भाइरल बन्थ्यो उसैले नैतिकता र इमान्दारीताका कुरा भट्याउँछ । अलिकति त लाज मान्नु पर्ने । कस्तो निर्लज्ज भै बोल्न सकेको ?’, अगाडि लाइनको बायाँ कुनोमा बसेको सञ्जयले विमलको कानमा फुसफुसायो ।
अतिथिको भाषणबाहेक हल पूर्ण शान्त थियो । सायद सञ्जयको आवाजको तिव्रता सम्मुख बसेको प्रधानाध्यापकको कानमा पनि पुगेछ कि ? उनको दृष्टि सञ्जयमा केन्द्रित भयो । सञ्जयले आँखा झुकायो तर प्रधानाध्यापकको अनुहारको रङ भने हेर्न लायकको थियो ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



