प्याङवासीहरुको इष्टदेवता तर सबैका साझा कालेश्वर महादेव मन्दिर

ललितपुर जिल्लाको दक्षिणी गाउँपालिका महांकालमा गोटिखेल, कालेश्वर, मानिखेल, चन्दनपुर, ठूला दुर्लुङ र बुखेल गाउँ पर्दछन् । गाउँपालिका केन्द्र गोटीखेलमा रहेको छ।

गोटिखेल बजार दक्षिणी ललितपुरको व्यापारिक केन्द्र मात्र नभएर धार्मिक गन्तव्य पनि हो। गोटीखेलमा कालखोला, धामीखोला र टुँगुनखोला जोडिएको त्रिवेणी धाम छ। त्यही त्रिवेणीलाई वैतरणीधाम भनिन्छ। त्यहाँ दक्षिणबाट उत्तरतिर बग्ने मसान खोला पनि छ। हिन्दू धर्मशास्त्रमा यस्तो उत्तरबाहिनी नदीको ठूलो महत्व हुने गर्दछ।

त्रिवेणीधामको पश्चिममा महाँकाल मन्दिर रहेको छ जसको नामबाट उक्त गाउँपालिकको नाम राखिएको छ। उहिल्यै यमराजले महादेवको तपस्या गरेर, त्रिवेणीमा नुहाएर कपडा सुकाएको ढुंगालाई नै ‘महाँकाल ढुंगा’ भन्ने गरेको विश्वास गरिन्छ। कालले नुहाएको हुँदा उक्त मसान खोलालाई कालमोचन खोला अर्थात कालखोला पनि भन्ने गरिन्छ।

करीब २,५०० मिटरको उचाइमा तथा गोटीखेलको दक्षिण छ किलोमिटरको दूरीमा रहेको कालेश्वर मन्दिर काभ्रे, मकवानपुर र सिन्धुलीको सिमानामा पर्ने ठुलादुर्लुङको शिखरमा अवस्थित छ। हरेक ललितपुरको शंखुबाट चापागाउँ बसाइ सरेका प्याङवासीहरुको इष्टदेवता पनि रहेका कारण चैत्र शुक्ल पूर्णिमाको दिन चापागाउँ क्षेत्रका प्याङवासी पैसा सुकाउने जात्रा भर्न कालेश्वर जाने गर्छन्। तर अहिले कालेश्वर क्षेत्र सबैको साझा पर्यटकीय तथा धार्मिक केन्द्र बनेको छ।

सतीदेवीको कण्ठ पतन भएर उत्पन्न भएको र शिवशक्ति स्वरूपले रहेको कालेश्वर महादेवलाई ६४ ज्योतिर्लिंगमध्ये एक ज्योतिर्लिंगको रूपमा पुज्ने चलन रही आएको छ।

कालेश्वरको देब्रेपट्टि अग्लो डाँडा छ जसलाई बुर्जा डाँडा भनिन्छ । त्यहाँ ग्रीष्म ऋतुमा पनि चिसो हुने र तुवाँलो लाग्ने गर्दछ। जहिले पनि आफूभन्दा माथि बस्ने गुनासो गरेपछि उक्त डाँडो महादेवले आफू बस्ने कालेश्वर डाँडा भन्दा अग्लो हुने गरी पार्वतीका लागि बनाइदिएको भन्ने कथन रहेको छ। त्यहाँबाट हिमालको दर्शनका साथै अनेकौँ हरिया थुम्का देखिन्छन्। कालेश्वर जाने बाटोमा पर्ने सिसवन भीरमा ठूलो चट्टान सानो चट्टानमा अडिएको देख्न सकिन्छ। कालपुरुषले यही चट्टानमा चन्दन घोटेर कालेश्वर महादेवमा चढाउने गरेको धार्मिक विश्वास रही आएको छ। सोही चुनढुंगालाई स्थानीय तामाङ समुदायले चुनदेवीको रूपमा पुज्ने गर्छन्। देख्दै अचम्म लाग्ने उक्त बडेमानको ढुङ्गा भुइँचालो जाँद पनि कसरी अडिएको होला भन्ने उत्सुकता जो कोहीलाई लाग्ने गर्दछ।

कालेश्वर डाँडा माथि खाने बस्ने सुविधा छैन। कालेश्वरको तल सिसवन र गोटीखेल बजारमा खाजाघर, लज र होमस्टे सुविधा पाइन्छ। हिउँदमा कालेश्वर मन्दिरको फेद देउरालीसम्म गाडी पुग्छ । गाडीबाट ओर्लेर थुम्को माथि रहेको मन्दिर पुग्न झन्डै २० मिनेट उकालो छ । गोटीखेलबाट कालेश्वर मन्दिर जाने बाटोमा रहेको सिसवन ‘होमस्टे’ मा बास बसेर बिहानै मन्दिरमा पूजा गर्न जान सकिन्छ।

लगनखेलबाट गोटीखेल करीब ५० किमीको दूरीमा रहेको छ। लगनखेलबाट ललितपुरको प्याङगाउँ बसपार्क हुँदै लेले, नल्लु, भारदेउ, सिमभञ्ज्याङ (चौघरे), कतवन भएर गोटीखेल जाने बस छुट्छन्। वैकल्पिक मार्गका रुपमा बनेपा पनौतीबाट खोपासी ढुंखर्क हुँदै कालेश्वरको फेदीबाट चन्दनपुर, गोटीखेल जान सकिन्छ। गोटिखेलबाट कालेश्वरसम्म सार्वजनिक सवारी साधन चल्दैनन्। कालेश्वर पुग्न गोटीखेलबाट करिब तीन घन्टा ठाडो उकालो चढ्नुपर्छ भने ओर्लन करीब २ घन्टा समय लाग्दछ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button