छोरी जोगाउने कसरी ?

देबकी के.सी.
समाज

कुनै बेला म मेरै गाउँको स्कुलमा पढाउने काम गर्दथेँ । त्यतिबेला मेरो गाउँमा एउटा परिवार कतैबाट कामको खोजीमा गाउँ आएको थियो । आमा दुई छोरा र एक छोरी थिए लोग्ने खाडी मुलुकमा रोजगारीको लागि गएको भन्थिन आमाचाहिँं । छोरीको नाउँ थियो लक्ष्मी । पछि ती छोराछोरी सबै मैले कामगर्ने स्कुलमा नै पढ्न थाले । आमा गाउँघर तिर मेलापात गर्थिन् । पढाई खासै राम्रो नभए पनि स्कुलले उनीहरुलाई छात्रवृत्ति पनि दिएको थियो उनकै छोरी लक्ष्मीलाई ।

लक्ष्मी कक्षा साततिर पुगेपछि विस्तारै उनको स्वभावमा परिवर्तन हुन थाल्यो । हुन त त्यो उमेर पनि त्यस्तै हो । अनेकौ संवेग र परिवर्तनले तिव्रता लिने उमेर । पछि त उनी घरबाट साथीकोमा जान्छु भन्दै भाग्ने पो गर्ने थालिन् । साथीले राम्रो काम लगाइदिन्छु भनेको छ भन्दै घरबाट भागने आदत बसेको उनले विस्तारै चुरोट खान सिकिन् । उनी त पछि गाँजा सेवन गर्ने केटाहरुको अखडातिर पो का म गर्न पुगिन् । त्यहाँ उनको काम भनेको गाँजा बनाउने र आफु पनि त्यसको सेवन गर्ने अनि नशाले लठ्ठ पर्ने रहेछ ।

अल्लारे उमेर विचरी त्यो किशोरीलाई कसैले राम्रो कपडा र पैसाको प्रलोभनमा पारेर उनलाई गलत बाटोमा पुर्याएरै छाडे । विचरी उनको आमाले छोरीलाई त्यो कुमार्गबाट उम्काउन ज्योतिष्ीकोमा पुगिनन् कि , छोरीलाई मायाले फकाइनन् कि । त्यतिले पनि छोरी जोगाउन नसकेर आफु मेलापात जाँदा छोरीलाई बाँधेर समेत हिडिन् । ति आमाले केहि सिप नलागे पछि छोरी जोगाउनकै लागि स्कुलमै आएर समेत हारगुहार गर्दै सहयोग मागेको सम्झना आज पनि मेरो मस्तिष्कमा ताजै छ । मैले भोकभोकै काम गरेको छोराछोरी भनेर हो आज यही छोरीलाई पनि यस्तो घिनलाग्दो काम गरेर खाने बनाइस भनेर मलाई समाजले थुक्छन् । मैले छोरी जोगाउन सकिन नि । मेरो दुख बुझेर छोरीले पढिदिए मात्र पुग्छ मलाई । स्कुलले छात्रवृत्ति दिएकै छ । मैले भोकै बसेर नि काम गरेकै छु भनेर ति आमाले रुदै हामी शिक्षकहरुसित भनेको अहिले पनि मलाई झलझली याद आउँछ । त्यतिबेला शिक्षकहरु मिलेर उनलाई नसम्झाएको पनि कहाँ हो र ? तर पनि उनी सहि बाटोमा आउनै सकिनन् ।

त्यसपछि मैले बिहे गरे । शिक्षणकै लागि त्यो ठाउँ छाडेर तराई गए । त्यसपछि उनको बारेमा पत्तो भएन । एक बर्षपछि माइती गएको बेला मात्र थाह पाए उनलाई त दुई तीन जना ठिटाहरुले बलत्कार पछि बिभत्स तरिकाले हत्या गरेछन् ।त्यो घटनाले म यति धेरै मर्माहत भए कि विचरी ति आमालाई झन् कस्तो भयो होला त ? त्यो आमाले छोरीलाई त्यो दलदलबाट जोगाउन गरेको प्रयास र बिलौना सम्झेर मेरो मन अझसम्म बेस्सरी दुखेर आउँछ । वास्तवमै ति आमाले छोरीलाई कुसंगतबाट जोगाउन प्रयास नगरेको होइन । त्यतिबेला ति आमालाई छोरी बचाउन परिवार , समाज, आफन्त सबैले साम दाम दण्ड भेद नीति अपनाएर भए पनि साथ दिएको भए उनलाई बलात्कृत हुनबाट बचाउन सकिन्थ्यो होला ? अकालमै उनी मर्ने थिइनन् होला ? छोरी गुमाउँदाको पीडा आमाले जीवनभर भोग्नु पदैनथ्यो होला?आज म आफै पनि छोरीको आमा भएको छु । मलाई डर लाग्छ मैले मेरो छोरीपनि कतै मेरो विद्यार्थीको आमाले जस्तै छोरी जोगाउन नसक्ने पो हो कि ।बाहिरका कुरा के गर्नु यहाँ छोरीहरु आफ्नै घरभित्र सुरक्षित छैनन् । दिनप्रतिदिन सुन्नमा आउँछ आफ्नै बाऊबाट छोरी ,हजुरबाबाट नातिनी बलत्कार भएका । एउटी आमाले आफ्नै छोराको गर्भ बोकेको , ससुराबाट बुहारी बलत्कार भएको ,दुई महिनादेखि अठार महिनाका छोरीहरु समेत बलत्कार भएको ,सत्तरी बर्षका हजुरआमाहरु बलत्कार भएको ,स्कुल गएका किशोरीहरु कतै बाटोमा त कतै स्कुलमै शिक्षकद्धारा बलत्कृत भएको घटना सुन्दा र देख्दा त मलाई उदेक लाग्छ । थुइक्क पातकी समाज भन्दै थुक्न मन लाग्छ । नवजात छोरीहरु बलात्कृत हुने समाजमा खोइ कसरी छोरी जोगाउने हो भनेर छोरीको आमालाई चिन्ता थपिनु त स्वभाविक पनि हो ।

यही समाज हो जहाँ असी बर्षे हजुरबाले पन्ध्र बर्षका किशोरी बिहे गरेका छन् । यही समाज हो जहाँ आफ्नै आमाले एउटै छोरीको धेरै जना सित धेरै पटक बिहे गराएर गहनापात असुल्ने भाँडो बनाएका छन् । यही समाज हो जहाँ उच्च तहका नेता मन्त्रीहरुन्ौ वेश्यालय संचालक छन् । केटी बेच्ने दलाल छन् । यही समाजमा बाउका टुङ्गो नभएका सन्तानहरु नगरिकता कै लागि बाऊ खोज्दै हिडेका छन् । थोरै मात्र देख्न पाइन्छ यो समाजमा विना भेदभाव छोरीलाई पनि उच्च शिक्षा दिएर उच्च तहमा पुर्याउने अभिभावकहरु । आजभोली त अझ दिनहुँ जस्तै बलत्कार ,हत्या र यौन शोषणका घटना देख्न र सुन्न पाइन्छ । यस्तो धमिरा लाग्दै जान थालेको समाजमा छोरी कसरी जोगाउने भन्ने चिन्ता पनि चुलीमै पुगेको छ ।

भन्छन् छोरी नभएको घर बत्ति निभेको घर जस्तै अध्यारो हुन्छ रे । पहिलो पटक नै छोरी जन्माउने आमाको कोख चोखो हुन्छ रे । सृष्टिका मुहान हुन् छोरी भनेका तिनलाई जन्माउने आमा धेरै भाग्यमानी । तर विडम्वना छोरी जन्माएकै निहँुमा कुटिन्छन् ,जलाइन्छन् ,मानसिक यातना दिइन्छ आमाहरुलाई । जब छोरी हुर्कदै गए त्यहि छोरीहरु बलात्कृत हुन पुग्छन् । तेजाव हालेर कुरुप बनाउँछन् । छोरी माथि गिद्धे नजर लगाउँदै उनीहरुका वैश लुटिन्छन् भने छोरीका आमाहरु त अहिले देखिनै सचेत भएर लाग्नु पर्ने बेला आएको छ छोरी जोगाउनकै लागि । छोरी जन्माउन भन्दा नि छोरी जोगाउनै गाहे हुने डरले पिरोलिन नपरोस् अवदेखि आमाहरु ।

One Comment

  1. सामाजिक घटनालाई अति मीठो तरिकाले प्रस्तुत गरिएको छ हार्दिक धन्यवाद अर्पण गर्छु । साथै उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button