शेर्पा सिरिज ६ः चाडपर्वमा पनि हिमालजस्तै अग्ला !
सेर्कु शेर्पा
भाषा, भेषभूषा, धर्म, रहनसहन, रीतिरिवाज, संस्कारसंस्कृतिका धनी शेर्पाहरूले विभिन्न किसिमको चाडपर्वहरू मनाउने गर्दछन् । शेर्पा समुदायले मनाउने चाडपर्वहरू धार्मिक र सामाजिक गरी दुई किसिमका छन् । शेर्पा समुदायको चाडपर्वहरू महायान बौद्ध धर्मको ञिङ्मा परम्पराको धार्मिक विधिअनुसार मनाइन्छ । उनीहरूको सम्पूर्ण परम्परागत मूल्य मान्यता, संस्कारसंस्कृति र परम्परा बौद्ध दर्शनमा आधारित छ ।
शेर्पा समुदायमा रहेको धार्मिक चाडपर्वहरू डुम्जी, मणिरिम्डु (मणि रिल्डब), डुक्पा छेश्यि, छेवा चिथम्बा, डुवा, ञ्युङ्ने, बज्रगुरु दुङ्ग्युर, बुद्ध जयन्ती आदि हुन् । त्यसै गरी सामाजिक चाडपर्वहरू लोसार, फङ्ङी, यारक्ष्याङ, लोसार पुलुक, मल्ज्यु दोङ्गु आदि हुन् । धार्मिक चाडपर्वहरू लामा अनि र गाउँलेहरूका उपस्थितिमा गोन्पामा मनाउने गरिन्छ भने कतिपय अवस्थामा केही धार्मिक पर्वहरू लामा आमन्त्रण गरी गोन्पाको अलावा घरमा सम्पन्न गरिन्छ । सामाजिक चाडपर्वहरू सम्पूर्ण गाउँले भेला भई सामूहिक रूपमा मनाउने चलन छ ।
हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने शेर्पा समुदाय विभिन्न पेसा व्यवसायका आबद्ध भएको हुनाले प्रायः जसो शेर्पा पुरुषहरू घरबाहिर रहने गर्दछन् । चाडपर्वहरूमा घर बाहिर रहेका सम्पूर्ण सदस्यहरू समेत घर फर्किने गर्दछन् । यी चाडपर्वहरूले उनीहरू बीचमा आपसी सद्भाव, भाइचारा तथा एकताको भावनाको विकासमा महत्वपूर्ण टेवा पु¥याउँछ । त्यतिमात्र होइन, यी चाडपर्वहरूले उनीहरूको सामूहिक परम्परागत पहिचान वृद्धि हुनाका साथसाथै भाषा, भेषभूषा, संस्कृति, धर्म, परम्परा, मूल्य, मान्यता आदिको प्रवद्र्धन तथा सम्बद्र्धन गर्ने अवसर प्रदान गर्दछ ।
शेर्पा समुदायले धार्मिक चाडपर्वहरू लामा आमन्त्रण गरी गाउँलेहरूका उपस्थितिमा गोन्पामा मनाउने गर्दछन् भने कतिपय अवस्थामा केही धार्मिक पर्वहरू लामा आमन्त्रण गरी घरमा सम्पन्न गर्दछन् । उनीहरूको अधिकांश धार्मिक चाडपर्वहरू महामानव भगवान् गौतम बुद्धको जीवनी तथा गुरु रिन्पोछे (गुरू पद्म सम्भव)को चरित्र लीलासँग सम्बन्धित रहेको पाइन्छ । गोन्पामा मनाउने डुम्जी, मणिरिम्डु, डुवा, ञ्युङ्ने, डुक्पा छेश्यि, बज्र गुरु मन्त्रजाप, बुद्ध जयन्ती जस्ता धार्मिक चाडपर्वहरू सञ्चालन गर्न परापूर्व कालदेखि नै वार्षिक रूपमा आयोजक समिति गठन गर्ने चलन छ । यी पर्वहरू प्रायः जसो एउटा गोन्पाले एउटा मात्र मनाउने परम्परा छ भने कुनै गोन्पामा दुई ओटासम्म मनाउने चलन छ । साथै कुनै पर्वहरू सबै गोन्पाले वार्षिक रूपमा मनाउने चलन छ । जस्तै ः टुक्पा छेश्यि, बुद्ध जयन्ती आदि । यी धार्मिक पर्व मनाउन आयोजक समिति गठन गरिएको हुन्छ । यस समितिलाई लावा भनिन्छ । समितिमा महिला र पुरुष दुवै हुने र कामको जिम्मेवारी पनि दुवैले लिने चलन छ । यसरी हेर्दा शेर्पा समुदायले मान्ने धार्मिक पर्वहरूमा महिला र पुरुष बीच लैङ्गिक विभेद देखिँदैन ।
डुम्जी (डुब्छेन)
हिमाली तथा उच्च पहाडी भेगमा बसोबास गर्ने महायान बौद्ध धर्म ञिङ्मा परम्पराको अनुयायी शेर्पा समुदायको महत्वपूर्ण धार्मिक पर्व डुम्जी हो । यस पर्वलाई डुब्छेन पनि भनिन्छ । यो पर्व गोन्पाको वार्षिक कार्यक्रम भित्र राखिएको हुन्छ । ठाउँअनुसार विभिन्न मितिमा यो पर्व वर्षको एक पटक गोन्पामा मनाउने चलन छ । यो पर्व गुरु रिन्पोछेको जन्म तिथि तथा लामा साङ्वा दोर्जेको जन्म जयन्तीको रूपमा मनाउने चलन छ । विशेष गरी यो पर्व चन्द्रमास भोट पात्रोअनुसार चौथो र पाँचौ महिना तथा नेपाली पात्रोअनुसार जेष्ठ र असार महिनाको विभिन्न बौद्ध धर्मको धार्मिक तिथिमा गोन्पाहरूका आ–आफ्ना वार्षिक कार्य तालिकाको आधारमा मनाउने चलन छ । यस पर्वको अवसरमा विभिन्न देवीदेवताको रूप धारणा गरी क्ष्याम (लामा नृत्य-मुकुण्डो नृत्य) प्रस्तुत गर्ने चलन रहेको छ । यो धार्मिक पर्व मनाउन लावा (आयोजक समिति) गठन गर्दछन् । गाउँका प्रत्येक परिवारले वर्षैपिच्छे पालैपालो लावामा बसी डुम्जी पर्वको आयोजना गर्दछन् । यसरी बसेको आयोजक समितिलाई डुम्जी लावा भनिन्छ । यो पर्व विशेष गरी लुक्ला, गुमिला, नाम्चे, थामे, खुम्ज्युङ, पाङ्वुचे, जुनबेँसी, गोली, किल्खोरदिङ, सकार साथै शेर्पा समुदायका सघन बस्ती भएका ठाउँहरूमा मनाइँदै आएको पाइन्छ । सर्वप्रथम पाङ्वुचे गोन्पाबाट लामा साङ्वा दोर्जेले डुब्छेन पर्व लसुरुवात गरेको इतिहास पाइन्छ । त्यसै गरी लामा रोल्वा दोर्जेले थामे गोन्पा र खेन्पा दोर्जेले रिमिज्युङ गोन्पामा सुरुवात गरेको पाइन्छ ।
यसरी विभिन्न तिथिमितिमा शेर्पाहरूको सघन बस्ती भएका ठाउँहरूमा डुम्जी पर्व मान्दै आएको पाइन्छ । खोटाङ्ग हलेसी गोन्पामा भने यो पर्व चन्द्र पात्रोको पहिलो महिना तथा नेपाली पात्रोको फागुनमा मनाउने चलन छ । यो पर्व मनाइ सकेपछि डुम्जी कार्यक्रमको खर्च विवरण आयोजक समितिले सार्वजनिक सुनुवाई गर्दै आयोजक समिति विघटन गर्छ । फेरि अर्र्कोे वर्षको डुम्जी पर्व मनाउनसम्पूर्ण उपस्थित महानुभावहरूद्वारा प्रसाद, नगद आफ्नो इच्छाअनुसार लेख्ने चलन छ । जसलाई खालेन (वाचा) भनिन्छ । साथै नयाँ लावा छनोट गरिन्छ । नयाँ लावा छनोटपछि गोन्पाको डुम्जी कार्यक्रमको आर्थिक व्यवस्थापन पुरानो आयोजक समितिले नयाँ आयोजक समितिलाई जिम्मा दिने चलन छ भने नयाँ समितिले अर्र्कोे वर्ष डुम्जी पर्व आउनुभन्दा तीन महिना अगाडिदेखि नै महानुभावहरूले दिएको वचन सङ्कलन कार्यको लागि घर दैलो गई सुनाउने र उठाउने कार्य जिम्मा लिनु पर्छ । त्यसपछि नयाँ लावाहरूलाई स्वागत तथा पुरानो लावाहरूलाई गोन्पाका प्रमुख लामाका साथै सम्पूर्ण गाउँलेहरूमार्फत खातकद्वारा बिदाइ गर्दै समापन गर्ने चलन छ ।
मणिरिम्डु (मणि रिल्डुब)
शेर्पा जातिको अर्र्कोे महत्वपूर्ण धार्मिक पर्व मणिरिम्डु हो । यसलाई मणि रिल्डुब पनि भनिन्छ । यो पर्व पनि विभिन्न गोन्पाको वार्षिक कार्यक्रम भित्र राखी स्थानअनुसार विभिन्न तिथिमितिमा वार्षिक रूपमा एक पटक मनाउने गरेको पाइन्छ । तर जुनसुकै गोन्पामा भए पनि वार्षिक कार्यक्रमभित्र डुम्जी अथवा मणिरिम्डु एउटा मात्र पर्व मनाउने चलन छ । यो पर्व विशेष गरी चन्द्रमास भोट पात्रोअनुसार नवौं महिना तथा नेपाली पात्रोअनुसार कार्तिक र मङ्सिर महिनामा मनाउने चलन छ । यो पर्व पनि महायान बौद्ध धर्मको ञिङ्मा परम्पराको लामा विधिअनुसार मनाउँछन् । यो पर्व सुख शान्ति तथा समृद्धिका लागि मनाइन्छ । यो पर्व विशेष गरी चार दिनदेखि पन्ध्र दिनसम्म मनाउने परम्परा छ । यो देशका विभिन्न गोन्पामा पनि मनाउने चलन छ । यो धार्मिक पर्व मनाउँदा बिशेष गरी आर्य अवलोकेतेश्वरको पूजापाठ र साधना गर्ने गर्दछन् । आर्य अवलोकेतेश्वरको मन्त्र ‘ओम् आ हूँ ह्रीः ओम् मणि पद्मे हूँ’ निरन्तर रूपमा जप गरी मणि रिल्वुसिद्ध गर्छन् । मणि रिम्डुको पहिलो दिन धर्म गुरुले सम्पूर्ण उपस्थित भक्तजनहरूलाई छेवाङ (दीर्घायु अभिषेक) प्रदान गरिन्छ । यसरी छेवाङ दिंदा मणि रिल्वुलाई प्रसादको रूपमा वितरण गरिन्छ । यसरी मणि रिम्डु मनाउँदा आयु अभिषेक, धार्मिक नृत्य, अग्नि पूजा, मण्डल विसर्जन आदि धार्मिक क्रियाकलाप गर्दछन् । आचार्य ङग्वाङ वोशेर लामा शेर्पाले शेर्पाहरूको इतिहास र सँस्कृति नामक पुस्तकमा सन् १९१९ मा जारोङफो गोम्पाको औतारी ङग्वाङ त्यञ्जीन नोर्बु लामा खुम्बुमा तेङपोछे गोम्पाको जीवन्यास (राबन्य) पूजा गर्न पाल्नु हुँदा उहाँको आज्ञाअनुसार शुभ आरम्भ गरेको मणि रिम्डु (ओम् मणि पद्ये हूँ ह्रीः) अवलोकेतेश्वरको मूल मन्त्र जप्ने पूजा विधि हो भनी उल्लेख गरेको छ । यस पर्वमा बेला भएका शेर्पा जातिले अन्तिम दिन सामूहिक साँस्कृतिक नृत्य श्याब्रु गर्ने चलन छ । कुनै बेला श्याब्रु गर्दा दुई वटा गाउँको प्रतिस्पर्धा पर्छ भने प्रायः जसो पुरुष समूह र महिला समूहको प्रतिस्पर्धा हुन्छ । यसरी श्याब्रु गर्ने भेला गोन्पाको प्रमुख लामा अथवा लामाको परिवारले उपस्थित सम्पूर्णलाई खातक लगाइदिने चलन छ ।
डुवा
शेर्पाहरूको अर्र्कोे महत्वपूर्ण धार्मिक पर्व डुवा (साधना) हो । यो पर्व वर्षमा एक पटक स्थानअनुसार विभिन्न मितिमा गोन्पाहरूमा मनाइन्छ । यो पर्व ३ दिनदेखि महिनौ दिनसम्म मनाउने परम्परा छ । पर्व सञ्चालनका लागि लावा (आयोजक समिति) गठन गरिएको हुन्छ । पर्व मनाउन लावाद्वारा लामाहरू र गाउँले सम्पूर्णलाई आमन्त्रण गरिन्छ । लावाद्वारा सम्पूर्ण गाउँलेहरूलाई डुवा समापन कार्यक्रममा आउन निम्तो दिन्छन् । सबै जना दिउँसोदेखि नै भेला भई कार्यक्रम समापन कार्यमा लावाहरूलाई सहयोग गर्छन् । लामाहरूले महायान बौद्ध धर्मको ञिङ्मा परम्पराको लामा विधि अनुसार डुवा समापन पूजा गर्दछन् । पूजा गर्ने क्रममा कसैले घरबाट चिया ल्याएर खुवाउँछन् भने कसैले पैसा बाड्ने गर्छन् । चिया खुवाउनेलाई माङच्या भनिन्छ भने पैसा बाँड्नेलाई गेप भनिन्छ । कुनै बेला चियाको सट्टा लावाहरूलाई माङ्च्या भनी पैसा नै चढाउने पनि चलन छ । साँझमा लामाले पूजा गरिसकेपछि सम्पूर्णलाई पूजाको प्रसाद दिन्छन् । यसलाई डुवी छोक भनिन्छ । प्रसाद ग्रहण गरिसकेपछि फेरि कार्यक्रमको खर्च विवरण आयोजक समितिले सार्वजनिक सुनुवाई गर्ने चलन छ । त्यसपछि अर्र्कोे वर्षको डुवा पर्व मनाउन सम्पूर्ण उपस्थित महानुभावहरूद्वारा प्रसाद, नगद आफ्नो इच्छाअनुसार लेख्ने चलन छ जसलाई खालेन (वाचा) भनिन्छ । यो लेखिएको खालेनको फेरि सार्वजनिक सुनुवाई गर्दै आयोजक समिति विघटन गर्छन् र नयाँ लावा छनोट गर्दछन् । नयाँ लावा छनोटपछि गोन्पाको डुवा कार्यक्रमको आर्थिक व्यवस्थापन पुरानो आयोजक समितिले नयाँ आयोजक समितिलाई जिम्मा दिने चलन
छ भने नयाँ समितिले अर्र्कोे वर्ष डुवा पर्व आउनुभन्दा तीन महिना अगाडिदेखि नै महानुभावहरूले दिएको वचन सङ्कलन कार्यको लागि घर दैलोमा गई सुनाउने र उठाउने कार्य जिम्मा लिनु पर्छ । त्यसपछि नयाँ लावाहरूलाई स्वागत तथा पुरानो लावाहरूलाई गोन्पाको प्रमुख लामा साथै सम्पूर्ण गाउँलेहरूमार्फत खातकद्वारा बिदाइ गर्ने चलन छ । यी सम्पूर्ण कार्य सकेपछि सबै जना गोन्पाको बाहिरपट्टि भेला भई पेय पदर्थ सेवन गर्दै शेर्पा समुदायको परम्परागत गीतहरूमा रमाइलो गर्ने परम्परा रहिआएको छ ।
ञ्युङ्ने
शेर्पा समुदायको अर्र्कोे महत्वपूर्ण धार्मिक पर्व ञ्युङ्ने (मौन व्रत) हो । यो पर्व पनि वर्षमा एक पटक ठाउँअनुसार विभिन्न मितिमा गोन्पाहरूमा मनाइन्छ । यो पर्व जम्मा चार दिनको हुन्छ । पर्व सञ्चालनका लागि लावा (आयोजक समिति) गठन गरिएको हुन्छ । पर्व मनाउन लावाद्वारा लामाहरू र गाउँले सम्पूर्णलाई आमन्त्रण गरिन्छ । पहिलो दिन बिहान साङ छोक पूजा हुन्छ भने बेलुका सुरुमा मौन व्रतपूजा हुन्छ । जसलाई जुक्तेन भनिन्छ । दोस्रो दिन सबै मौन व्रत बस्ने तथा गाउँलेहरू पूर्ण रूपमा जम्मा हुन्छन् । समितिले मध्यान्ह बाह्र बजेतिर सम्पूर्णलाई खाना खुवाउँछन् । यसलाई गुङ्साङ भनिन्छ । यसपश्चत् मौन व्रत बस्नेबाहेक आ—आफ्नो घर जाने चलन छ । मौन व्रत बस्नेहरू गोन्पामा नै बस्छन् । प्रमुख लामाले मौन व्रत सुरु गरेपश्चात् सम्पूर्ण मौन व्रत बस्नेहरूले खानापिन, बोलचाल बन्द गरी क्ष्याक्तोङ च्येन्तोङ फाग्पा च्यन¥यशिग (एक हजार हात एक हजार आँखा भएको अवलोकेतेश्वर) को मन्त्र “ओम मानि पद्यमे हूँ” जप गर्दछ । तेस्रो पूर्णिमाको दिन मौन व्रत बसी चौंथो बिहान सबेरै ठु (पवित्र जल) खुवाएर मौन व्रत विधिपूर्वक सम्पन्न गरिन्छ । त्यसपछि खिर खुवाउँछन् । सबै मौन व्रतमा बसेको व्यक्तिहरू एकछिन घर नजिक छ भने घर जान्छन् र टाढा छ भने गोन्पामा नै बस्छन् । लावाद्वारा सम्पूर्ण गाउँलेहरूलाई ञ्युङ्ने समापन कार्यक्रममा आउन निम्तो दिन्छन् । सबै जना दिउँसोदेखि नै बेला भई कार्यक्रम समापन कार्यमा लावाहरूलाई सहयोग गर्छन् । ढुवा पूजामा जसरीनै ञ्युङ्ने पूजा कार्यक्रम पनि समापन गर्ने परम्परा छ ।
डुग्पा छेश्यि
महामानव गौतम बुद्धले ६ वर्षको कठोर साधनाबाट प्राप्त ज्ञानलाई सारनाथको मृगदाव वनमा पहिलो पटक आफ्ना पाँच भिक्षुहरूलाई चार आर्यसत्यको विषयमा धर्मोपदेश दिनुभएको थियो । उक्त पवित्र दिनलाई धर्मचक्र पवर्तन दिवस भनिन्छ । दथो (चन्द्रमास) भोट पात्रोअनुसार छैटौं महिनाको चौथो तिथिलाई डुग्पा छेश्यि वा टुक्पा छेज्यी भनिन्छ । नेपाली पात्रोअनुसार यो धार्मिक पर्व श्रावणमा पर्छ । यो पर्व मनाउन पनि वार्षिक रूपमा लावा (आयोजक समिति) हुने गर्दछ । गौतम बुद्धको चार महत्वपूर्ण महोत्सवहरूमध्ये डुग्पा छेश्यि पनि एक हो ।
यस तिथिमा शेर्पा समुदायले बुद्ध अवलोकितेश्वरको अमृतमय वचनको स्मरण गर्दै गोन्पामा भेला भई पूजा अर्पण गरी पुण्य लाभको कामना गरिन्छ भने बेलुका सामूहिक रूपमा मणि क्ष्योकोर गर्ने चलन छ । मणि क्ष्योकोर गर्दा पूजामण्डपमाथि अवलोकितेश्वर बुद्धको प्रतिमा राख्ने र एक जना लामा गुरुले मणि वाचन गर्ने चलन छ भने बुद्धको प्रतिमा र लामालाई परिधि लगाएर लामाले बुद्ध वाचन पाठ गरेअनुसार मणि क्ष्योकोर नाच्ने चलन छ । साथै उच्च र पवित्र स्थानहरूमा लुङतर (पताका) चढाउने परम्परा रहिआएको छ । यो धार्मिक पर्व मनाइसकेपछि फेरि अर्र्कोे वर्षको लागि लावा छनोट गरिन्छ । जसलाई डुग्पा छेश्यि लावा भनिन्छ । पुरानो लावाहरूलाई बिदाइ तथा नयाँ लावाहरूलाई खातकद्वारा स्वागत गर्दै यो धार्मिक पर्व समापन गरिन्छ ।
छेवा च्यिथम्बा-छेच्यु
शेर्पा समुदायमा दथो (चन्द्रमास) भोट पात्रोअनुसार प्रत्येक महिनाको दशमीको दिन गुरु रिन्पोछेको जन्म दिवसको पूजा गर्ने चलन छ । यो धार्मिक पर्व अवस्थाअनुसार गोन्पामा अथवा घरमा मनाउने परम्परा छ । यो पर्व बाह्रै महिना मनाउने परम्परा छ किनकि प्रत्येक महिना गुरु रिन्पोछेको एउटा चरित्र लीला रहेको छ । उक्त गुरु रिन्पोछेको चरित्र लीलाको सम्मान स्वरूप यो धार्मिक पर्व मनाउने चलन छ । यो पर्वलाई छेच्यु (दशमी) भनिन्छ । यस धार्मिक पर्व सम्पूर्ण गाउँलेहरूले पालैपालो महिनै पिच्छे मनाउँछन् । यो पर्व आयोजना गर्ने परिवारलाई छेच्यु जिन्दाक भनिन्छ । आयोजकले लामा तथा सम्पूर्ण गाउँलेहरूलाई आमन्त्रण गर्छ । लामाले महायान बौद्ध धर्मको ञिङ्मा परम्पराको लामा विधिअनुसार पूजा गरिन्छ । सम्पूर्ण सहभागीलाई आयोजक परिवारबाट खाना तथा पेय पदार्थको व्यवस्थापन हुन्छ । पूजा सकेपछि सम्पूर्णलाई पूजाको प्रसाद बाँड्छन् । आयोजक परिवारबाट लामालाई बिदाइ यिठु वा गदेन गीत गाएर खातक तथा गच्छेअनुसार दक्षिणा दिई बिदाइ गर्ने चलन छ । त्यसपछि सम्पूर्ण सहभागीहरू परम्परागत शेर्पा नृत्य तथा नेपाली नृत्यमा रमाइलो गर्ने परम्परा रहेको छ ।
युलसाङ
शेर्पाहरुले प्रत्येक वर्ष भोट चन्द्र पात्रो अनुसार पहिलो महिनाको प्रतिपदादेखि पूर्णिमासम्ममा राम्रो साहित हेरी सम्पूर्ण प्राणीहरुको सुस्वस्थ्य, दीर्घायु र वर्ष दिनमा गाउँमा कुनैपनि अनिष्ठ नहोस, गाउँलेहरूबीच एकता, मेलमिलाप होस् भनी कामनाका साथ गाउँको बीच भागमा सामूहिक रूपमा विशेष पूजा गर्ने गर्दछन् । यसलाई युलसाङ भनिन्छ । यो पूजा सञ्चालनका लागि लावा छनोट गरिएको हुन्छ । यो पूजा वार्षिक रूपमा समुदायमा मनाउने चलन छ । यो पूजा गाउँको उच्च स्थानमा लामा आमन्त्रण गरी सम्पूर्ण गाउँलेहरूको उपस्थितिमा सञ्चालन हुन्छ । पूजा स्थलमा छोतर (प्रार्थना ध्वजा) र लुङ्तर (पातका) लगाई पूजा सम्पन्न गर्ने गर्दछन् ।
नाम्गङ च्योङा
दथो (चन्द्रमास) भोट पात्रोअनुसार प्रत्येक महिनाको नाम्गङ च्योङा (औंसी पूर्णिमा) को दिनलाई शेर्पा समुदायको लागि महत्वपूर्ण तिथि मानिन्छ । यस दिन आ–आफ्नो घरमा र गोन्पाहरूमा दीप प्रज्ज्वलन गर्ने परम्परा छ भने हातमा ठाङा (धार्मिक माला) बोकी क्ष्योर्तेन (चैत्य), गोन्पा तथा मणिहरू दाहिनेबाट सक्दो बेजोर नम्बर जस्तै ३ पटक, ५ पटक आदि घुम्ने परम्परा रहिआएको छ ।
सगदावा
सगदावा अर्थात् बैशाख महिनालाई बौद्धमार्गीहरूले एक पवित्र महिनाको रुपमा लिने गर्दछ । विशाखा नक्षत्रको नामबाट रहन गएको यो महिनालाई हिमाली बौद्धमार्गीहरूले सग (विशाखा) दावा (महिना) ‘सगदावा’ भनिएको हो । शाक्यमुनि बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण हुनु भएको त्रिसंयोग महापुण्य तिथि बैशाख पूर्णिमाका दिन पर्दछ । विशेष गरी यो महोत्सव बुद्धजयन्तीलाई लक्षित गरी मनाइने पर्व भए तापनि हिमाली बौद्धमार्गीहरूको समाजमा यो पर्व बुद्ध जयन्तीको ठीक एक महिनापछि पर्दछ । तर पनि नेपालमा प्रचलित पात्रोमा चन्द्र अधिकमास परेको वर्ष भने एकै महिनामा पर्ने गर्दछ । किन भने भोट ज्योतिष पात्रोमा अधिकमास परे तापनि नेपाली चन्द्रपात्रोमा अधिकमास नपरेको हुँदा सगदावा पुनः जेष्ठ महिनामा पर्दछ ।
यो महिनामा पुण्य, पाप जुन सुकै कार्य गर्दा पनि लाखमा परिवर्तन हुने जना विश्वास रहेकोले यो महिनालाई बुम ग्युर दावा पनि भन्ने गर्दछ । तसर्थ बौद्धमार्गीहरुले यो महिनामा ञ्युङ्ने व्रत, बुद्ध वाचन (कंग्युर) को पाठ, धार्मिक प्रर्वचन, बौद्ध, स्वयंभू आदि पवित्र स्थल परिक्रम, अष्ठाङ्ग ढोक, पाठपूजा, नगद दान, भोजन दान, रक्तदान आदि शुद्ध मनले पुण्य कार्य गर्ने गर्दछन् ।
बज्रगुरु दुङ्ग्युर मन्त्र जप
शेर्पा समुदायले वार्षिक रूपमा गुरु रिन्पोछेको मन्त्र “ॐ आ हूँ वज्र गुरु पद्मा सिद्धि हूँ” दस करोड जप्ने कार्यक्रम गर्दै आएका छन् । यसलाई वज्रगुरु दुङ्ग्युर भनिन्छ । यो कार्यक्रम सञ्चालनका लागि लावा (आयोजक समिति) गठन गरिएको हुन्छ । यसलाई वज्रगुरु दुङ्ग्युर लावा भनिन्छ । यो कार्यक्रम वार्षिक रूपमा शेर्पा समुदायको सघन बस्तीहरूको विभिन्न ठाउँमा हुने गर्दछ । यो कार्यक्रम विश्वमा शान्ति फैलाउन गरिन्छ । यसरी वज्र गुरुको मन्त्र जप्नाले विश्वका नराम्रा परिस्थितिहरू शान्त हुने र चाहेको कुराहरू सजिलैसँग प्राप्त हुने विश्वस गरिन्छ । साथै पाँच विषहरू जस्तै: राग, द्धेष, मोह, ईश्र्या, घमण्डबाट उत्पन्न हुने सम्पूर्ण पापहरू काटिन्छन् र ६ पारमिता जस्तैः दान, शील, क्षान्ति, वीर्य, ध्यान र प्रज्ञा चाँडै पूर्ण भएर पञ्च बुद्धका कार्यहरू प्राप्त हुन्छन् भन्ने विश्वासका साथ यो कार्यक्रम सञ्चालन गरिन्छ ।
सुङ्मा क्ष्येतु
शेर्पाहरूले वार्षिक रूपमा आ–आफ्नो कुल देवता बुझाउने चलन छ । यसलाई सुङमा क्ष्येतु अथवा तारा बुलुप भनिन्छ । कुल देवता बुझाउँदा घर मालिकले लामा आमन्त्रण गर्दछ । यो धार्मिक विधि पनि महायान बौद्ध धर्मको ञिङ्मा परम्पराअनुसार गर्ने चलन छ । थरअनुसार नै कुल देवता बुझाउने तरिका फरक फरक छ । सबै थरको कुल देवता एउटै तरिकाले बुझाउँदैन । कुल देवताको पूजा आफ्नो घर परिवार तथा सम्पति रक्षाको लागि गरिन्छ । कुल देवता बुझाउँदा ठाउँअनुसार कुनै ठाउँमा वार्षिक रूपमा दुई पटक बुझाउने चलन छ भने कुनै ठाउँमा वर्षको एक पटक मात्र बुझाउने परम्परा छ ।
छोजिन (छोक्छेन)
शेर्पाहरूले मान्ने धार्मिक चाडपर्वमध्ये छोजिन पनि एक हो । यो धार्मिक पर्वलाई छोक्छेन पनि भनिन्छ । खुम्बु पासाङ्ग ल्हामु गाउँपालिका वडा नं. ५ केरोक स्थित साङाक छोलिङ गोन्पाको प्रमुख लामा श्रेद्धय धर्मगुरु ल्हक्पा शेर्पा (ङवाङ छुल्डिम)का अनुसार चन्द्रमास भोट पात्रोको चौथो महिनामा शुभ साइत हेरी एक दिन ल्हप्साङ पूजा गर्ने चलन छ भने लावा (आयोजक समिति)सँग छोजिन पूजाको लागि सल्लाह गर्ने परम्परा छ । यसरी सल्लाह गरी सकेपछि भोट पात्रोअनुसार पाँचौँ महिनामा र नेपाली पात्रोअनुसार असार महिनामा यो पर्व मनाउने चलन छ । यो पर्व वार्षिक रूपमा चन्द्र पात्रोको चौथो महिनामा एक दिन र पाँचौँ महिनामा छ दिन गरी जम्मा सात दिन मनाउने चलन छ । विगतमा यो पर्व मनाउन वार्षिकरूपमा पालैपालो आठ जनाको लावा (आयोजक समिति) छनौट गरिन्थ्यो भने हाल चार जनाको आयोजक समिति छनौट गर्ने परम्परा छ । लावाले यो धार्मिक चाडपर्व मनाउन लामा आमन्त्रण गर्छन् । साथै गाउँलेहरूलाई यस धार्मिक पर्वमा आउन निम्तो दिइन्छ । यो धार्मिक पर्व पनि महायान बौद्ध धर्मको ञिङ्मापा परम्पराअनुसार नै गर्ने चलन छ । यस पर्वको पहिलो दिन कोमा बोउ, दोस्रो दिन पूजाको लागि सामग्री निर्माण तथा सजावट, तेस्रो दिन ल्हप्साङ तथा थुक्सो पूजा, चौथो दिन लोक्पार तथा क्ष्याम (लामा नृत्य) र पाँचाँै दिन वाङ (अभिषेक) साथै नयाँ छोजिन आयोजक समिति छनोट गर्ने चलन छ । त्यसै गरी छैटौं दिन कार्यक्रम सकेको उपलक्ष्यमा सहभोज खाने चलन छ । यसलाई किदेबुक् भनिन्छ । यो पर्व सोलुखुम्बु जिल्लाको खुम्बु पासाङ ल्हामु गाउँपालिका स्थित केरोक गोन्पामा मनाउँदै आएको पाइन्छ । यस पर्वमा गाउँलेहरू भेला भई धार्मिक पूजा सकेपछि परम्परागत श्याब्रु नृत्य तथा शेर्पा लोकदोहोरीमा रमाउने चलन छ ।
गुरु छेन्ग्ये
आचार्य पद्म सम्भवले प्राणी हितार्थ अनेकौं कार्य गर्नु भएता पनि विशेष प्रकारको आठ प्रमुख कार्यहरू गर्नु भएकाले त्यस कार्य अनुसार १. गुरू छोके दोर्जे २. गुरू शाक्य सिङ्गे, ३. गुरू लोदेन छोग सेद ४. गुरू पद्म सम्भव ५. गुरू पद्म ग्लापो ६. गुरू ङिमा होद् सेर ७. गुरु सेङ्गे डाडोग ८. गुरु दोर्जे डो लोद् आदि उहाँका ‘गुरु छेन ग्याद्’ अर्थात् गुरुका आठ प्रकारका स्वरूप रहेका छन् । गुरू रिन्पोछेको आठ ओटा रूप धारण गरी क्ष्यामा (लामा नृत्य) गर्ने धार्मिक पर्वलाई गुरु छेन्ग्ये क्ष्याम भनिन्छ ।
आठ प्रकारका नाम अनुसारको उहाँको स्वरुप पनि भिन्न–भिन्न रहेका छन् । उहाँलाई बुद्ध अनुयायीहरूले निर्माण कायको रुपमा मानिन्छ । उहाँको जन्म तिथिको स्मरणमा प्रत्येक महिनाको दशमीमा ‘छेच्यु’ पूजा गर्ने गर्दछन् । ठूला–ठूला गोन्पाहरूमा वर्षमा एक पटक ‘गुरू छेन ग्याद्’ अर्थात् गुरुका आठ प्रकारका नाम अनुसार रूप धारण गरी नृत्य (छ्याम) गर्ने प्रचलन रहेको छ । यो धार्मिक पर्व सोलुखुम्बु जिल्लाको दूधकुण्ड नगरपालिका स्थित ज्या–सा गोन्पामा चन्द्रमास भोट पात्रोअनुसार नवौं महिनाको छ तिथिबाट सुरु गरिन्छ अर्थात् नेपाली पात्रोअनुसार कार्तिक महिनामा मनाउने चलन छ । यो पर्व सात दिनको हुन्छ । दथो (चन्द्र पात्रो अनुसार नौ महिनाको ६, ७ र ८ गते गोन्पामा डुवा (साधना) बस्ने ९ र १० गते क्ष्याम (लामा नृत्य) गर्ने र ११ गते वाङ (अभिषेक) दिने परम्परा छ । यो पर्वमा देश तथा विदेशबाट लामा नृत्य हेर्न भक्तजनहरू आउने गर्दछन् । यो पर्व पनि गोन्पाको वार्षिक कार्य तालिका भित्र रहने गर्दछ ।
बौद्ध धर्मावलम्बीहरूको विभिन्न महत्वपूर्ण धार्मिक चाडपर्वहरू रहेका छन् । ती धार्मिक चाडपर्वहरू भोट पात्रोअनुसार मनाउने परम्परा रहेको छ । भोट चन्द्र पात्रोको पहिलो महिनाको पूर्णिमाको दिनलाई बुद्ध शाक्यमुनिले प्रतिहार्य चमत्कार देखाउनु भएको दिन जसलाई ‘क्षो टुल दुक्षेन’ भनिन्छ । चौथो महिनाको पूर्णिमाको दिन महामानव गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्त र महापरिनिर्वाण भएको दिन जसलाई सगदावी दुछेन भनिन्छ । छैठाँै महिनाको चौथो तिथिका दिन महामानव गौतम बुद्धले छ वर्षको कठोर तपस्याबाट प्राप्त ज्ञानलाई सारनाथ मृगदाव वनमा पहिलो पटक आफ्ना पाँच भिक्षुहरूलाई चार आर्यसत्यको विषयमा धर्मोपदेश दिनुभएको पवित्र दिन जसलाई ‘क्षोखोर दुक्षेन’ भनिन्छ । छैठौं महिनाको दशामीको दिन गुरु रिन्पोछेको जन्म जयन्ती जसलाई गुरुई दुछेन भनिन्छ । त्यसै गरी नवौं महिनाको बाईसौं तिथिमा गौतम बुद्ध तेत्तीस कोटी देवालोकबाट मनुष्य लोकमा आगमन हुनु भएको दिन जसलाई ल्हाबप दुछेन भनिन्छ । यी पवित्र दिनहरूमा शेर्पाहरूले गोन्पाहरूमा धार्मिक पूजा गर्दछन् भने घरघरमा दीप प्रज्ज्वलन गरी प्रार्थना गर्ने चलन छ ।
सामाजिक चाडपर्व
शेर्पा समुदायमा सम्पूर्ण सामाजिक चाडपर्वहरूमा गाउँलेहरू भेला भई सामूहिक रूपमा मनाउने चलन छ । शेर्पा समुदायको बस्ती प्रायः जसो छरिएर रहेको हुनाले सबै जना गाउँलेलाई बस्तीको शिरान घरमा अथवा बस्तीको अन्तिम घरभेटीले निम्तो दिई एउटा घरमा जम्मा हुने गर्दछन् । त्यस पछि सबै गाउँलेको घरमा क्रमशः गई चाडपर्व मनाउने चलन छ । चाडपर्व मनाउने क्रममा सामूहिक रूपमा परम्परागत शेर्पा नृत्य श्याब्रु गर्ने चलन रही आएको छ । त्यसै गरी एउटा घरबाट अर्र्कोे घरमा जाँदाखेरि सबैले बाटोमा शेर्पा लोकगीत गाउने चलन रहेको छ । शेर्पा समुदायको सामाजिक चाडपर्वहरू निम्न प्रकारका छन् –
लोसार
आदिम कालदेखि नेपालको हिमाली तथा उच्च पहाडी भू–भागमा बसोबस गर्ने सम्पूर्ण महायान बौद्ध धर्मावलम्बी नेपालीहरूको नयाँ वर्ष तथा राष्ट्रिय पर्वको रूपमा लोसार मनाउने गर्छन् । यो पर्व चन्द्र पात्रोअनुसार मनाउने परम्परा छ । चन्द्र पात्रो (दथो अनुसार प्रकृतिमा रहेका १२ वटा पशुपक्षीको नामबाट वर्षको नाम राख्ने चलन छ । प्रत्येक दुई वर्षसँग ६ वटा धातुमध्ये कुनै न कुनै एक धातुको नाम जोडेर आउँछ । नेपाली वर्षको जस्तै १२ महिनाको नाम र सात बारको नाम पनि चन्द्र पात्रोमा अङ्कित छ । उक्त वर्षमा जन्मेका बालबच्चाहरूको वर्ष पनि तिनै पशुपक्षीहरूको नाम र धातुबाट नै गणना हुन्छ । साथै कुनै पनि कार्य गर्न बौद्व धर्मावलम्बीहरूले आफू जन्मेको वर्ष, धातु, बार र महिना हेरी गर्ने चलन रहेको छ । जस्तैः वैवाहिक सम्बन्ध, नयाँ कार्य थालनी आदि ।
हिमाली समुदायमा परम्परागत रूपमा तीन प्रकारको लोसार रहेका छन । ती हुन् – तमु लोसार, सोनाम लोसार र ग्यल्पो लोसार । भोट चन्द्र पात्रोअनुसार ११ औं महिनामा तमु लोसार, १२ औं महिनामा सोनाम लोसार र पहिलो महिनाको पहिलो तिथिमा ग्याल्पो लोसार मनाउँदै आएको छ । यी लोसारहरू विगतमा समुदायगत विभाजनभन्दा पनि ठाउँ र समय–अनुसार हिमाली भूभागमा बसोबास गर्ने बौद्ध धर्मावलम्बीहरूले मानिदै आएको पाइन्छ ।
लोसारको शाब्दिक अर्थ हो लो (वर्ष) र सार (नयाँ) । लोसार मनाउँदा सर्वप्रथम पुरानो वर्षलाई बिदाइ र नयाँ वर्षलाई स्वागत गरिन्छ । यो पर्व चन्द्र पात्रोअनुसार माघ-फाल्गुन महिनामा पर्दछ । शेर्पा समाजमा बित्न लागेको पुरानो वर्षलाई बिदाइ गर्नको लागि लोसार आउनुभन्दा दुई दिन पहिले लामाहरू आमन्त्रण गरी कृष्ण पक्षीय चतुर्दशीका दिन भव्य पूजा गरिन्छ र पुरानो वर्षको बिदाइ गर्न गुथुक खाने चलन छ । गुथुक भनेको नौ किसिमको गेडागुडी मिसाएर पकाएको परिकार हो ।
लोसारभन्दा एक दिन अगाडि विशेष गरी घरहरू सजाइन्छ र घरको भित्तामा अष्टमङ्गल चिह्नहरू कोर्छन् । घरको पूजा कोठामा रोटी (खाप्से र विभिन्न फलफूलहरूले सजाइन्छ । लोसारको बिहान सबेरै पानी लिएर त्रिरत्नलाई शुद्ध पानी चढाई यो वर्ष मङ्गलमय वातावरणमा बितोस् भनी प्रार्थना गरिन्छ । त्यसपछि, विभिन्न किसिमको चीजबीज हालेर बनाएको पिठोको परिकार छिमार (अमृत) खाने चलन छ । घर परिवारमा एक आपसमा टशी देलेग भनी शुभकामना आदानप्रदान गरिन्छ । लामालाई आमन्त्रण गरी घरमा लोसारको पूजा गर्दछन् र घरको बाहिर बौद्ध धर्मावलम्बीहरूको ध्वजाहरू फरफराउँछन् । लोसारको दोस्रो दिन आफ्ना अग्रज मान्यजनहरूबाट आर्शीवाद लिने परम्परा रहिआएको छ । तेस्रो दिन सम्पूर्ण लोसार प्रेमीहरू गाउँको एक सार्वजनिक ठाउँ जस्तै ः गोन्पा, विहारमा भेला भई महायान बौद्ध धर्मावलम्वीको विधिअनुसर धर्मपाल र कुलदेवताहरूलाई खुसी पार्न अमृत र धूप चढाउँदै साङसर्किम पूजा गरी सबैले एउटै स्वरमा ‘कि कि सो सो ल्ह ग्यल्लो’ (देवताको जय होस् भनी जयको प्रतीक चाम्पा अथवा सेतो पिठो आकाशमा तीन पटक छर्कउने चलन छ । यसलाई ल्हप्सो पूजा भनिन्छ । त्यसपछि, र्पूिर्णमाको दिनसम्म आफ्नो नातागोता र छरछिमेकी पाहुनासँग चाड मनाउने, सँगै खाना खाने र सुखदुःख बाँड्दै एक अर्कामा लोसारको मङ्गलमय शुभकामना आदानप्रदान गरिन्छ ।
साथै यस अवधिमा महायान बौद्ध धर्मावलम्बीहरू विभिन्न तीर्था घुम्न जाने र डाँडापाखाहरूमा रङ्गीचङ्गी बौद्ध धर्मावलम्बीहरूको ध्वजाहरू फरफराउने कार्य गर्दछन् । त्यति मात्र होइन, शेर्पा समाजका केही व्यक्तिहरूले लामो आयुको लागि घर पालुवा जनवारहरूलाई पूजा गरी जङ्गलमा लगी छोडने परम्परा रहेको छ । यसरी दीर्घायुको कामना गर्दै जङ्गलमा पशु छोड्नुलाई छेथर (जीवन दान) भनिन्छ । यस कारण लोसार भनेको हिमाली भू–भागमा बसोबस गर्ने सम्पूर्ण नेपालीहरूले मनाउने राष्ट्रिय चाड हो । यो चाड पन्ध्र दिनसम्म मनाउने परम्परा छ ।
लोसार मनाउने विधि
–चन्द्र पात्रो (दथो) अनुसार बाह्रौ महिनाको पूर्णिमाको भोलिपल्ट घरमा टुसा उमार्ने उद्देश्यले एउटा गमलामा जमराको लागि उवा अथवा गहुँ रोप्ने ।
–लोसारभन्दा तीन दिन अगाडि खाप्से पकाउने ।
–चन्द्र पात्रो (दथो) अनुसार बाह्रौ महिनाको उनन्तीसौँ दिन दिउँसो घरहरू सफा गर्ने र बेलुका नौ थरीको अन्नहरू मिसाएको विशेष परिकार (गुथुक)को साथमा छुट्टाछुट्टै आटाको डल्लोभित्र नुन, खोर्सानी, चामाल,कपास, कोइला र घ्यू आदि हाली पकाउने ।
–गुथुक पस्काउँदा एउटा आटाको डल्लो साथमा पस्किएर दिने र आटाको डल्लोलाई फुटाउन लगाउने ( नोट : जसले आटाको डल्लो फुटाउदा जुन वस्तु भेटाउँछ, त्यसले त्यो मानिसको एक वर्षको व्यक्तित्व र बानीव्यहोरा झल्काउँछ भन्ने विश्वस गरिन्छ । उदाहरणको लागि सेतो वस्तु जस्तै: चामाल र कपास भेट्ने व्यक्ति सफा र दयालु मनको, कोइला भेट्ने कालो मनको,खोर्सानी भेट्ने रिसाहा र घ्यू भेट्ने व्यक्ति चिप्ले हुन्छ भन्दै रमाइलो गरिन्छ ।) र सबै जना रमाइलो गर्दै गुथुक खाई सकेपछि बाँकी रहेको गुथुकलाई दोबाटो अथवा चौबाटोमा धूप बत्तीसँग फाल्ने ।
–औशीको दिन क्षिमार ( उवाको पिठो, घ्यू र चिनीको मिश्रण) क्ष्याङ, खाप्से, ताजा फलफूल, मिठाई र जमरा आदिद्वारा पूजा कोठा सजाई चम्पले घरको भित्ताहरूमा अष्टमङ्गल अथवा स्वस्तिक चिह्न बनाउने ।
–नयाँ सालको बिहान मिर्मिरेमा नै उठी नुहाएर आफ्नो संस्कारसंस्कृतिअनुसारको नयाँ पोशाक लगाउने र सफा खातक (खादक)को साथमा धूप, घ्यू चढाएर शुभ कार्य प्रारम्भको लागि पानीको मुहानमा पूजा गरी प्रातःकालमा पानी लिएर आफ्नो घरको कुलदेवतालाई शुद्ध पानी चढाई यो वर्ष मङ्गलमय वातावरणमा बितोस् भनी प्रार्थना गर्ने ।
–सबै परिवारका सदस्यहरू आफ्नो संस्कारसंस्कृतिअनुसारको पोसाकमा पूजा कोठामा जम्मा भई नयाँ साल सुख र समृद्धि होस् भनी प्रार्थना गर्ने साथै आफ्नो गुरु, बुबाआमा र आफूभन्दा ठूलोबाट आशीर्वाद लिने र लोसारको परिकार खाँदै लोसारको शुभकामना आदानप्रदानको साथमा आफ्नो इच्छाअनुसार रमाइलो गर्ने ।
–दोस्रो दिन आफ्नो घर परिवारको अग्रज ब्यतिmहरूसँग आशीर्वाद लिन जाने ।
–तेस्रो दिन सबैको घरमा महायान बौद्ध धर्मावलम्बीको नयाँ ध्वजा (च्योतर) र पताका (लुङदार) चढाउने साथै सबै जना गाउँ अथवा समुदायमा रहेको गोन्पा (गुम्बा)मा महायान बौद्ध धर्मावलम्बीको पूजा विधिअनुसार ल्हप्सो पूजामा जम्मा भई धर्मपाल र कूलदेउताहरूलाई खुसी पार्न धूप चढाउँदै सम्पूर्णले आकाशतिर पिठो (चाम्पा) छर्कदै तीन पटकसम्म ‘कि कि सो सो ल्ह ग्यल्लो’ (देवताको जय होस्) भनी नयाँ वर्षको सुख र समृद्धिको प्रार्थना गर्दै एक अर्कामा ‘ल्होसारकी टशी देलेग’ भनी शुभकामना अदानप्रादान गर्दै आफ्नो संस्कृति नृत्यमा इच्छाअनुसार रमाइलो गर्ने ।
– चौथो दिन देखि र्पूिर्णमाको दिनसम्म आफ्नो नातागोता, इष्टमित्र,छरछिमेकी र आमन्त्रित अन्य पाहुनासँगसँगै चाडपर्व मान्ने, भोज खाने, सुखदुःख बाँड्दै एक अर्कामा लोसारको मङगलमय शुभकामना आदानप्रदान गर्ने, यस अवधिमा तीर्थाटन घुम्न जाने, डाँडा पाखाहरूमा बौद्ध धर्मावलम्बीहरूको ध्वजाहरू चढाउने र लामो आयुको लागि घर पालुवा जनावारहरूलाई बौद्ध धर्म विधिअनुसार पूजा गरी जङ्गलमा लगी छोड्ने आदि ।
फङ्ङी
फङ्ङी हिमाली भूभागमा बसोबास गर्ने शेर्पा समुदायको ग्रीष्मकालीन चाडपर्व हो । यो चाड दथो (चन्द्रमास) पात्रोअनुसार छैटौँ महिनामा पर्छ भने नेपाली महिना श्रावणमा पर्छ । चन्द्रमास पात्रोअनुसार छैटौं महिनामा गुर्जे फग भन्ने तिथि आउँछ । यो तिथिमा पानी, खाद्यबाली र फलफूलहरूमा विषेश प्रकारको पौष्टिक तत्वयुक्त हुने जनविश्वास रहेको छ । यो एक हप्ताको हुन्छ । यस अवसरमा शेर्पाहरूले फङ्ङी मनाउने चलन छ । यस चाडमा सबै उमेर समूहको मानिसहरू एकै ठाँउमा भेला भई एक अर्कामा खुसी साटासाट गर्ने र सहभोज खाने चलन छ । यो चाड मनाउनको लागि परम्परागत रूपमा समिति छनोट गरिएको हुन्छ । यसलाई फङ्ङी लावा भनिन्छ । यो चाड तीन दिनदेखि सात दिनसम्म मनाउने चलन छ । यो चाडमा शेर्पा समुदायको परम्परागत सामूहिक श्याब्रु नृत्य तथा शेर्पा लोक गीतहरू जलु, ठलु आदि गाउने परम्परा छ । चाड मनाइ सकेपछि अर्र्कोे वर्षको लागि आयोजक समिति छनोट गरिन्छ । समिति छनोटपछि नयाँ आयोजक समितिलाई स्वागत तथा पुरानो आयोजक समितिलाई खातक (खादा) द्वारा बिदाइ गर्ने चलन छ । तर हिजो आज यो चाड लोप हुँदै गएको पाइन्छ ।
यारक्ष्याङ
शेर्पा समुदायले मान्दै आएको चाडपर्वमध्ये यारक्ष्याङ पनि एक हो । यारक्ष्याङको शाब्दिक अर्थ वर्षातको जाँड हो । यो चाड उच्च पहाडी तथा हिमाली क्षेत्रमा चरनमा रहेका आफ्नो घरपालुवा जनावरको रक्षाका लागि दथो (चन्द्रमास) पात्रोअनुसार छैटौँ महिनामा पर्छ भने नेपाली महिना श्रवणमा मनाउने गर्दछन । यो चाडलाई शेर्पाहरूले ल्हछेतु भनिन्छ । यो चाड ठाउँअनुसार घरघरमा अथवा लावा (आयोजक समिति) गठन गरी मनाउने चलन छ । यारक्ष्याङको अवसरमा समितिले लामा आमन्त्रण गरी सम्पूर्ण गाउँलेहरूलाई निम्तो दिई सबै जना निश्चित पहाडको टुप्पोमा जम्मा हुन्छन् । गाउँलेहरू यस चाडमा आउँदा घरबाट क्ष्याङ (जाँड) घिउ, पिठो, दही र केही प्रसाद तथा छोतर र लुङ्तर (ध्वाजा) ल्याउँछन् । यो चाड महायान बौद्ध धर्मको ञिङ्मा परम्पराअनुसार लामाले साङी छोक् गरी स्थानीय देवीदेवताहरूको पूजा गर्दछन् । पूजा सामग्री निर्माण गर्दा चम्पा अथवा चामलको भातबाट स्थानीय देवीदेवता मान्दै आएको हिमाल र पहाडको स्वरूप साथै घर पालुवा जनवार याक र नाकको रूप आदि बनाउँछ । पूजामा सबैभन्दा महत्वपूर्ण प्रसाद फेमार (चम्प, घिउ, चिनी, दूध आदि मिसाएर बनाएको प्रसाद) हुन्छ । स्थानीय देवीदेवताको पूजा गरी देवीदेवतालाई क्ष्याङ चढाएर डाँडामा सामूहिक रूपमा पशुपक्षीहरूको रक्षाका लागि छोतर (ध्वजा) ठड्याउने तथा लुङ्तर लगाउने कार्य गर्दछन् । त्यसपछि लावा (समिति) द्वारा भगवान्लाई चढाएको प्रसाद सम्पूर्ण सहभागीलाई बाँड्ने र खाना खुवाउने चलन छ । यसै गरी अर्र्कोे वर्षको लागि नयाँ लावा (आयोजक समिति) को छनोट गरिन्छ । आयोजक समितिको छनोटपछि नयाँ समितिलाई स्वागत तथा पुरानो समितिलाई खातक (खादा) द्वारा बिदाइ गर्दै पर्व समापन गर्ने चलन छ ।
लोसार पुलुक
शेर्पा समुदायको सामाजिक चाडपर्वमध्ये लोसार पुलुक पनि एक हो । लोसार पुलुक दथो (चन्द्रमास) भोट पात्रोअनुसार नवौं महिनाको पूर्णिमाको दिन पर्छ । नेपाली पात्रोअनुसार कात्र्तिक महिनाको पूर्णिमाको दिन पर्र्छ । यो चाडलाई खुम्बु क्षेत्रमा लोसार पुलुक र दोलखाको माथिल्लो क्षेत्रमा लोसार लोङ्गु भनिन्छ । यो चाड विशेष गरी परापूर्व कालदेखि नै लोसार आउनुभन्दा तीन महिना अगाडि मनाउने चलन छ । जसले गर्दा लोसार आउँदै गरेको सङ्केत दिन्छ । यो चाडमा जुनसुकै उमेर समूहका एक हूल भएर घरघरै देउसी भैली जसरी खेल्ने चलन छ । यसरी हूल भएर खेल्ने क्रममा भट्याउनेलाई श्येपा भनिन्छ । विभिन्न अध्ययन अनुसन्धानले यो चाड बालीनाली थन्क्याई सकेको खुसीयालीमा मनाउँछन् । प्रायः जसो यो चाड मनाउँदा जम्मा भएको अन्न तथा नगद विभिन्न सामाजिक कार्यको लागि प्रायोग गरिन्छ । तर हाल यो चाड पनि लोप हँुदै गएको पाइन्छ ।
मल्ज्यु दोङ्गु
शेर्पा समुदायले मान्दै आएको विभिन्न सामाजिक चाडपर्वमध्ये मल्ज्यु पनि एक हो । यो चाड दथो (चन्द्रमास) पात्रोअनुसार छैटौं महिना अर्थात् फङ्ङी भन्दा एक हप्ता अगाडि मान्ने चलन छ । यो चाडमा गाउँघरका सबै उमेर समूहको हूल बनाएर खाजा बोकी गाउँघर नजिकैको धार्मिक आस्था बोकेको खोलानालामा गएर समूहगत रूपमा नुहाउने चलन छ । यसलाई मल्ज्यू दोङ्गु (मल्क्ष्यु दुतुप) भनिन्छ । ठमिछो शेर्पा किदुकको अध्यक्ष पासाङ छिरी शेर्पाका अनुसार काठमाडौंमा बसोबास गर्ने शेर्पाहरू गोदावरीको खोलामा गएर नुहाउने चलन छ भने खुम्बु क्षेत्रका शेर्पाहरू खुम्बु पासाङ ल्हमु गाउँपालिका स्थित खुम्बीयुल्हको ठेस्यो खोला, इम्जा खोला तथा गोक्योबाट बग्ने खोलामा गएर नुहाउने चलन छ । यसरी नुहाउँदा वर्षभरि निरोगी हुने र स्वस्थ्य तन्दुरुस्त रहने विश्वास गरिन्छ । यसरी नुहाई–धुवाई सकेपछि सामूहिक सहभोज गर्ने परम्परा छ । त्यसपछि सामूहिक रूपमा शेर्पाहरूको परम्परागत नृत्य श्याब्रु गर्दै रमाइलो गर्दछन् । घर फर्किदा सबै जनाले शेर्पा भाषामा लोकदोहोरी गीत गाउँदै फर्किन्छन् साथै गाउँको गोन्पा, क्ष्योर्तेन, मनि आदि धार्मिक स्थलहरू सामूहिक रूपमा दर्शन गर्ने परम्परा छ । यसरी चाडपर्वले गाउँका सबै उमेर समूहको सम्बन्धलाई बलियो तथा नातागोता चिनजान साथै समुदायमा लोप हुँदै गरेको संस्कृति जगेर्नामा महत्वपूर्ण टेवा पुग्दछ । तर, हिजोआज आधुनिकताले गर्दा यो चाड पनि लोप हुँदै गएको छ ।
…
नेपालनाम्चाले सुरु गरेको शेर्पा इतिहास, संस्कृति, उसको शान, सम्मान र संघर्षको गाथाकथा समेटिने ‘शेर्पा सिरिज’को छैटौं श्रृंखलामा शेर्पा इतिवृत समेटिएको युवा लेखक सेर्कु शेर्पाको पुस्तक ‘शेर्पा समुदायको मौलिक पहिचान’ बाट केही सम्पादनसहित यो लेख साभार गरिएको छ । शेर्पा सेरोफेरोसँग जोडिएका कुनै पनि सामाग्री आफ्नो स्पस्ट परिचयसहित नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाई तपाईं पनि ‘शेर्पा सिरिज’को अभिन्न हिस्सा बन्न सादर अनुरोध छ । सम्पादक, नेपालनाम्चा ।