‘खर्क’ गर्ख, गर्खा हुँदै गोरखा !

'म मेरा सैनिकहरुलाई संसारका कुनै सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ ।'

जिल्लानाम्चा -२

गोरखा ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक दृष्टिले अत्यन्त महृत्व बोकेको जिल्ला हो । भौगोलिक रुपमा मध्यपहाडी क्षेत्रदेखि उत्तरी हिमाली क्षेत्रसम्म फैलिएको यो जिल्ला जैविक विविधताको धनी र पर्यटकीय दृष्टीले महत्वपूर्ण छ । समुद्र सतहबाट २२८ देखि ८१६३ मिटर उचाईमा अवस्थित यस जिल्लामा उष्ण, समशितोष्ण, शितोष्ण, लेकाली र हिमाली हावापानी पाईन्छ ।

गोरखा दरवार, गोरखनाथ मन्दिर, तल्लो दरवार जस्ता ऐतिहासिक सम्पदा, मनकामना मन्दिर, गोरखकाली मन्दिर जस्ता धार्मिक सम्पदा, कल्छुमन ताल, कालाताल नारदकुण्ड, दुधपोखरी जस्ता ताल तथा पोखरीहरु, मनास्लु, हिमालचुली जस्ता हिमचुचराहरु, विभिन्न कोटहरु, गुम्बाहरु तथा गुफाहरु यहाँका मुख्य आकर्षण हुन् ।

नेपाल राज्यको एकीकरण गर्ने श्रेय गोरखा जिल्लालाई दिने गरिन्छ । तत्कालीन अवस्थामा लिगलिग भन्ने ठाउँमा घले थरका मगरहरुले राज्य गर्ने गर्दथे । त्यहाँ प्रत्येक वर्ष विजयादशमीका दिन दौडमा प्रथम हुनेलाई राजा बनाउने प्रचलन थियो । त्यस उत्सवलाई हेर्न उपस्थित भएको बेला द्रव्य शाहले अप्रत्याशित रुपमा आक्रमण गरी त्यहाँ आफ्नो प्रभुत्व कायम गरे । लिगलिगकोटमाथि विजय भएपछि तुरुन्तै गोरखा आक्रमण गरी १५ दिनसम्म युद्ध भएकोमा गोरखा विजय हुन सकेन । द्रव्य शाह निकै महत्वाकांक्षी भएकोले प्रथम पराजयले उनलाई खासै असर पारेको थिएन भने भागिरथ पन्त, गणेश पाण्डे, सर्वेश्वर खनाल, गंगाराम राना, गजानन भट्टराई, केशव बोहोरा, मुरली खवासहरुले उनको उत्साहलाई बढाईरहेका थिए । द्रव्य शाहका सैनिकहरु थापा, भुसाल, मास्के, रानाहरु समेतले गोरखाका राजाको दरवारलाई घेरी आक्रमण गरे । द्रव्य शाहको हतियारबाट खड्का राजाले वीरगति प्राप्त गरे । यस प्रकार वि. सं. १६१६ भाद्र २५ मा द्रव्य शाह गोरखाका राजा भए ।

द्रव्य शाहले पछि गोरखा राज्यमा उनका वंशजहरु पुरन्हर शाह, छत्र शाह, राम शाह, डम्बर शाह, कृष्ण शाह, पृथ्वीपति शाह र नरभूपाल शाहले राज्य गरेको पाइन्छ । राजा नरभूपाल शाह र रानी कौशल्यावतीको ज्येष्ठ सुपुत्रको रुपमा वि।सं। १७७९ पौष २७ गते पृथ्वीनारायण शाहको जन्म भयो । तत्कालीन अवस्थामा नेपाल बाईसी-चौबिसी गरी ५२ भन्दा बढी स-साना राज्यमा विभाजित भएको थियो । यी राज्यहरुबीच एक आपसमा शत्रुताको व्यवहार, मत्स्य न्यायको अवस्था थियो भने अर्का तिर भारतमा ब्रिटिस साम्राज्य फैलिसकेकोले तिनीहरुको आँखा नेपालमा परेको थियो । पृथ्वीनारायण शाह सानैदेखि दुरदर्शी, परिश्रमी, लगनशील, दृढ प्रतिज्ञाका भएकाले उनलाई अन्य राजकुमारहरुलाई जस्तो सुख सुविधा, भोग विलास भन्दा त्यस्तै खालको शिक्षा दिक्षा दिईएको थियो । पिताको शासनकालमा उनले राज्य संचालन गतिविधिबारे नियालेर सुक्ष्म अध्ययन गरेका थिए । वि.सं. १७९९ मा २० वर्षको कलिलो उमेरमा राजा भएका पृथ्वीनारायण शाहले आफ्ने एकमात्र उद्देश्य जे जसरी हुन्छ टुक्रिएर रहेका स(साना राज्यहरुलाई एकीकरण गरी विशाल नेपाल राज्यमा गाभ्ने अठोट लिए । तद्नुरुप वि.सं. १८०१ मा नुवाकोट, १८९९ मा मकवानपुर, १८२२ मा किर्तीपुर, १८२५ मा कान्तिपुर, ललितपुर, १८२६ मा भक्तपुर विजय गरी गोरखा राज्यबाट विशाल नेपाल राज्यको एकीकरण गरे र देशको राजधानी पनि काठमाण्डौ बनाए । त्यसपछि उनका वंशज खासगरी प्रतापसिंह शाह, बहादुर शाह, राजेन्द्रलक्ष्मी एवं तत्कालीन भारद्वाज कालु पाण्डे, वंशीधर पाण्डे, भीमसेन थापा, अमरसिंह थापाले एकीकरण विस्तार गरी वर्तमान स्वरुपमा ल्याईपुर्‍याए ।

यसरी वर्तमान नेपाल राज्यको उत्पत्ति गोरखा राज्यबाट भएको इतिहासमा वर्णित छ । गोर्खालीहरु वीर, बहादुर र परिश्रमी भएकोले तत्कालीन अवस्थामा नेपाल राज्यको एकीकरणमा उनीहरुले पऱ्याएके ठूलो योगदान एवं नेपाल अंग्रेजबीच वि.सं. १८७१ देखि १८७३ सम्म भएको युद्धमा नेपाली सैनिकहरुले देखाएको अदम्य साहस र वीरताको कदर गर्दै अंग्रेजहरुले भारतमा नेपालीहरुलाई भर्ती गराए । पहिलो र दोश्रो विश्व युद्धमा नेपालले बेलायतलाई साथ दिई युद्धमा भाग लिएको थियो । गोर्खाली सैनिकहरुको वीरगतिको कदर गर्दै जर्मन सम्राट कैजार विलियमले ‘म मेरा सैनिकहरुलाई संसारका कुनै सेनासँग लडाउन रत्तिभर पनि डर मान्दिन तर गोरखा सैनिकको नाम सुन्नासाथ मेरो मुटु थर्कमान हुन्छ’ भनेका छन् भने बेलायतकी महारानी एलिजवेथ दृतीयाले ‘गोरखा सैनिकले ईतिहासमा छुट्टै र गरिमामय स्थान ओगट्न पुगेका छन्’ भनेकी छिन् ।

गोरखावासीहरुका आराध्य देवता योगी गोरखनाथको नामबाट व गाईको रक्षा (गो रक्षा) गरिने ठाउँ भएकोले सोही आधारमा यो ठाउँको नाम “गोरखा” रहेको मानिन्छ । नेपाली भाषामा घाँसको फाँटलाई खर्क मानिने गरेकोमा खर्क शब्द विकृत भएर गर्ख, गर्खा हुँदाहुँदै गोरखा भएको मानिन्छ । यो जिल्ला अन्तरत घाँसका ठूला ठूला फाँट र खर्कहरु छन् । लिच्छवीकालमा पनि गोरखाको बारेमा चर्चा गरिएको छ । जयदेव द्धितीयको शिलालेखमा वर्णन भए अनुसार त्यस समयमा गोरखालाई केन्द्रबाट नै शासन गरिन्थ्यो । यहाँको एक ठाउँमा सिद्धपुरुष गोरखनाथ बाबाको मठ भएकोले सोही ठाउँको आधारमा जिल्लाको नामाकरण गरिएको मानिन्छ । यस जिल्लाको उत्तरी भागमा अवस्थित गुरुङ् र घलेहरुको वस्तीले पर्यटकहरुलाई आकर्षण गरिरहेको छ ।

(जिल्ला समन्वय समितिको कार्यालय, गोरखाको वेभसाइटबाट)

…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button