
नुवाकोटमा नेपालीलाई प्रश्न, ‘काँ सिक्नुभा’को नेपाली ? नेपाल बसेको कति भो ?’
नियात्रा
प्रकाशप्रसाद उपाध्याय
नेपालको इतिहास र गोर्खाका राजा पृथ्वीनारायण शाहको राष्ट्रिय एकीकरणको अभियान पढ्ने क्रममा नुवाकोटको प्रसङ्ग बारम्बार आउँदा मेरो मनमा त्यस ठाउँले एउटा छाप पारेको थियो । र, विचार आउने गथ्र्यो, ‘कस्तो होला त्यो ठाउँ ? एकपल्ट हेर्न जानु पर्ला ।’
अन्ततः अवसर जु¥यो सेवानिवृत्त भएपछि ६२–६३ वर्षको उमेरमा, कोरोनाकाल सुरु हुनभन्दा पूर्व । यात्राकालमा साथ थिए पत्रकार मित्र शंकरलाल श्रेष्ठ । उनी सँगमा रहेकाले यात्राकाल र नुवाकोट बसाई सुखद रह्यो ।
बाटोमा देवीघाट पुग्दा तादी नदी र त्रिशुलीको संगम देखियो । शंकरलालले भने, ‘एक छिन याँ’ घुमौँ सर । यो पनि एउटा रमणीय र ऐतिहासिक स्थान हो ।’ र हामी बसबाट ओल्र्यौँ । वास्तवमा नै त्यो एउटा मनोहर स्थान रहेछ । एकातिर पंक्तिबद्ध डाँडाहरूको हरियाली अर्कोतिर त्रिशुली र तादी नदीको संगमलाई पावनता प्रदान गरिरहेको जालपा देवीको मन्दिर । काठमाडौंदेखि १५ किलोमीटरजति मात्र टाढा रहेका हुँदा यस स्थललाई पर्यटकीय स्थलको रूपमा विकास गर्न सके कति राम्रो हुने थियो भन्ने सोच पलाएर आयो ।
जालपा देवी मन्दिर एउटा धार्मिक स्थल भएको हुँदा त्यसको त्यसै रूपमा विकास गर्न सकिन्छ र राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको समाधिस्थललाई पनि ऐतिहासिकता प्रदान गर्न सक्दा पर्यटकीय दृष्टिबाट यस क्षेत्रको महत्व पनि बढ्न सक्तछ भन्ने कुरा खेल्न थाल्यो । त्यहाँको प्राकृतिक सुन्दरताले जत्ति प्रभावित पा¥यो, त्यत्ति नै मोहित पृथ्वीनारायण शाहको जीवनसित सम्बद्ध स्थलहरूले पनि पारे ।
घुमिसकेर हामी चिया खान पुग्याँैँ । साहुनीसित दुई कप चियाको आग्रह ग¥यौँ । चिया आई पुग्यो । यसो सुर्केको त खल्लो । जिस्किँदै भनेँ, ‘साहुनी माया गर्नुभएकोमा धन्यवाद । चिया त स्वादिलो छ, तर चिनी नहुँदा अलि खल्लो लाग्यो । पाउँ न चिनी ।’
‘ए, म त चिनी खानुहुन्नँ, भन्ठानेकी ।’
सायद मेरा फुलेका केशहरू देखेर उनलाई यो भ्रम परेछ । चिनी ल्याउँदै कपमा हालिन् । अनि सोधिन्, ‘काँ सिक्नुभा’को नेपाली सर ? नेपाल बसेको कति भो ?’
भनेँ, ‘म पनि तपाईंजस्तै नेपाली । तराईको भएकोले यताको हावापानी र भाषाको छाप परिसकेको छैन ।’
‘म त अम्रिकी भन्ठानिरहेकी ।’
मेरो लवाई र ढाँचाकाँचा देखेर उनलाई यस्तो भ्रम परेको हो जस्तो लाग्यो । तर उनको खुलस्त स्वभावले पनि प्रभावित पा¥यो । पर्यटकहरूसित खुलेर बोल्ने स्वभाव व्यापारिक दृष्टिले लाभकारी नै हुन्छ । पुनः उनलाई धन्यवाद दिँदै निस्क्यौँ ।
‘फेरि पनि आउनुहोला सर ।’
‘हुन्छ’ भन्दै बस स्टपतिर लाग्यौँ । केही पाइला सारेका थियौँ कि एक जना वरिष्ठ नागरिक भेट्टिए । सोध्न थाले, ‘याँहरू काँबाट ? याँको त पक्कै होइन । कहिल्यै नदेखिएका ।’
मैले भनेँ, ‘म काठमाडौंबाट । यहाँ त यतातिरकै । तर काठमाडौँमा बस्दै राजनीतितर्फ लाग्नुभा’ छ ।’
शंकरलालजीले थप्दै भने, ‘याँ’ त्रिशुलीबजारमा घर छ ।’
‘त्यै त, नौला अनुहार देखिए ।’
यति कुरा भएपछि हामी अगाडि बढ्यौँ । बस पनि आई पुग्यो । बसमा बस्दै गर्दा सोच आयो, ‘कुनै नौलो स्थानतिर घुम्न जाँदा स्थानीय मानिसको साथ लाभकारी नै हुँदो रहेछ ।’
यसरी घुम्दैफिर्दै हामी त्रिशुलीबजार पुग्यौँ । भोलिपल्ट बिहान पृथ्वीनारायण शाहको जीवनसित सम्बद्ध ऐतिहासिक स्थलहरू घुम्न निस्क्यौँ । आँखा सामुन्ने बिहानको सूर्योदयको आलोकमा हिमश्रृँखलाहरू टल्किरहेका देखिए । शंकरलालले भने, ‘यी गणेश हिमालका श्रृँखला हुन् सर । राउचुली र झ्याकुमचुल्ली चाहिँ यस जिल्लाका उच्चतम शिखरहरू हुन् ।’
पृथ्वीनारायण शाहको जीवनका २५ वर्ष युद्ध, रक्तपात आदिबाट भरिएको भए पनि बाइसी–चौबीसी राज्यहरूमा विभाजित देशलाई एकीकृत गर्ने उनको एकीकरण अभियानकै परिणाम हो यो देश । अनि प्रशंसनीय रहेको छ उनले स्थापित गर्न लगाएका नुवाकोटको साततल्ले दरबार, जहाँबाट उनले आफ्नो राष्ट्रिय एकीकरणको अभियानलाई दशा र दिशा दिँदै कान्तिपुर, कीर्तिपुर र भादगाउँ आदिलाई आफ्नो कब्जामा पादै काठमाडौँलाई आफ्नो राजधानी बनाए र देशका विभिन्न जातजातिका भावनाको कदर गर्दै एउटा नयाँ नाउँ दिए– नेपाल । आजका दिनमा साततल्ले दरबार नुवाकोट जिल्लाको पर्यटकीय आकर्षणको प्रमुख केन्द्र रहेको छ ।
त्रिशुलीबजारबाट केही किलोमीटर टाढा एउटा डाँडामा अवस्थित यो ऐतिहासिक स्मारक हेर्दा मनमा अनेक भाव उत्पन्न भए । वि.सं. १८०१ मा नुवाकोटमाथि विजय प्राप्त गर्दै त्यसलाई आफ्नो राजधानी बनाउँदा आफ्नो निम्ति आवासीय सुविधाको निर्माण गराउने क्रममा बनाउन लगाएका यो भवन पृथ्वीनारायण शाहको सामरिक र रणनीतिक योजनाकै अङ्ग थियो । आजभन्दा साढे दुई सय वर्षअघि जब देशमा न त मालसामानहरू ओसार्ने परिवहनको आधुनिक सुविधा थियो, न महलमा लगाइएका ढुङ्गाका भारी–भारी सामानहरू उचाल्ने साधन थिए, वीर गोर्खाली सैनिक एवम् श्रमिकहरूले कसरी सात–सात तल्लासम्म ती सामान पु¥याए होलान् भन्ने प्रश्नले दिमागलाई खलबलाई राख्यो । ऐतिहासिक वृत्तान्तअनुसार निर्माणकालमा यो नौ तल्लाको थियो तर वि.सं. १९९० को भुकम्पमा दुई तल्ला ढल्दा वर्तमानमा यो सात तल्लाको भयो र आजपर्यन्त यो सात तल्लेदरबारकै नाउँबाट प्रसिद्ध छ ।

यो महल उनको सुखसुविधा र भोगविलासका लागि मात्रै नभई सामरिक दृष्टिले महत्वपूर्ण एक अद्भुत भवन थियो भन्ने कुरा यसको वर्गीकरणबाट थाहा पाइन्छ । यहाँका विभिन्न तल्लाहरू राजा–रानीको निवास स्थल, भाई–भारदारहरूबस्ने कक्ष, पूजा–कक्ष, सभाकक्ष, सैनिक आवास र कालकोठरीका रूपमा बाँडिएका थिए । यसको अतिरिक्त सुरक्षाका लागि माथिल्लो तल्ला सेनाले निगरानी गर्ने बार्दलीको रूपमा छुट्याइएको थियो । यसबाट के बुझिन्छ भने उनले आवश्यकता पर्दा रक्षाको सबै व्यवस्था तत्कालै उपलब्ध होस् भन्ने उद्देश्यले यो भवनको निर्माण गराई तदनुसार बन्दोबस्त पनि गरेका रहेछन् ।
समान रूपमा यसकै छेउमा अवस्थित भैरवी मन्दिर नजिकै बग्ने त्रिशुली नदी र त्रिशुलीबजारका पनि इतिहास रहेका पाइन्छ । भैरवी देवीको मन्दिर यस क्षेत्रको महत्वपूर्ण दर्शनीय स्थल हो । मल्लकालीन यस दुई तल्ले मन्दिरको निर्माण वि.सं. १७८२मा भएको रहेछ । भैरवी जात्रा यहाँका प्रमखु जात्राहरूमध्ये हो । यस मन्दिरसित पनि पृथ्वीनारायण शाहको निकै सम्बन्ध रहेछ र आफ्नो नुवाकोट बसाईकालमा साधनाको प्रमुख स्थल थियो यो देवालय । एक किंवदन्तीअनुसार, एकजना ज्योतिषिले जब पृथ्वीनारायण शाहको आयु अब धेरै नरहेको भविष्यवाणी गरे अनि उनी आफ्नो राष्ट्रको एकीकरणको अभियानले पूर्णता नपाउने भयो भन्ने विचारबाट विचलित भए । उनी मध्यरातमा देवी भैरवीको साधनामा बस्न थाले । एक दिन ध्यानावस्थामा छँदा आकाशवाणी भयो, ‘तेरो आयु मैले थपिकन हुँदैन् । यो जनम भोग गरिसकिस् । आर्को जनम नेपालको भोग माग्छस् भन्या मेरा शरणमा प्राण छोड । तँलाई नेपालको ठूलो भोग म दिउँला ।’ यस्तो भविष्यवाणी सुनेपछि चित्त बुझाउँदै पृथ्वीनारायण शाह काठमाडौं फर्के । र अन्तिम अवस्थामा उनको इच्छानुसार उनलाई नुवाकोटको देवीघाटमा लगियो, जहाँ उनले वि.सं. १८३१मा प्राण त्यागे ।
समुद्री सतहदेखि २,९७० फिटको उचाईमा रहेको नुवाकोटको नामकरण ‘नौ किल्लाहरूका कोट’ भएको आधारमा भएको हो । इतिहासकारहरूका अनुसार, गोपाल राजवंशीहरूले नुवाकोटको क्षेत्रलाई ‘नव क्वट्ठ’ को संज्ञा दिएका थिए । यही नव कट्ठ शब्द अपभ्रंश हुँदै कालान्तरमा नुवाकोट भयो ।
त्रिशुलीबजारलाई महत्व प्रदान गर्ने त्रिशुली पनविद्युुत केन्द्रले नेपाल–भारत सहयोगको गाथा बताइरहेको पाएँ । जसको स्थापनाको समाचार केही दशकअघि समाचारद्वारा प्रेषण गर्न पाएको थिएँ ।
जाडोको मौसिम र दिसम्बरको महिना भए पनि त्यहाँको मौसममा पनि नयाँपन पाएँ । अलिकति पनि जाडो अनुभव हुन पाएन । लगिएका स्वीटर र ज्याकेट काठमाडौंबाट हिँड्दा उपयोगी ठहरे पनि त्यहाँ भारी मात्र भए । यसरी २ दिन बिताएर सुखद अनुभूति र मिठो सम्झनाका साथ काठमाडौं फक्र्यौ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)