पौडेल प्रकरण: ‘मण्डले प्रवृतिको उन्माद’
नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेललाई तनहुँका विभिन्न कार्यक्रमहरुमा सहभागि हुने सन्दर्भमा प्रशासन समेतको आडमा यो वा त्यो वाहानामा रोक्ने र विथोल्ने कार्यहरु भएका छन । यो कम्युनिस्ट सरकारको दम्भ र घमण्डको पराकाष्ठा हो, निरंकुश र फासीवादतर्फ उन्मुख प्रवृत्ति हो । लोकतन्त्र प्राप्तिको लडाइमा कुनै योगदान नभएका र लोकतान्त्रिक गणतन्त्र नेपाल भन्न र लेख्न डराउनेहरुको मण्डले प्रवृतिको उन्माद हो ।
आज तनहुँको व्यास नगरपालिका वडा नम्बर १, १० र ११ जोड्ने तालघरे दुम्सीचौर सडकको बुल्दी खोला पुल उद्घाटन गर्ने क्रममा प्रहरी परिचालन समेत गरी नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्व सभामुख रामचन्द्र पौडेलसहित तनहुँका नेताहरुलाई हिरासतमा लिइएको र सर्वसाधारण जनता तथा नेपाली कांग्रेसका कार्यकर्तामाथिको लाठीचार्ज, धरपक्कड र दमन घोर निन्दनीय छ । यस कार्यको घोर भत्सर्ना गर्दछु ।
निरंकुश राणा र पञ्चायत ढालेर लोकतान्त्रिक गणतन्त्र नेपालका लागि लडेको ऐतिहासिक पार्टी नेपाली कांग्रेस यस्ता अलोकतान्त्रिक प्रवृत्तिसँग निरन्तर लडिरहनेछ ।
प्रकाश पन्थ, राष्ट्रिय सभा सदस्य