‘रिङ्केबुङ’का सुरेश गन्धर्वलाई सहयोग
रिङ्केबुङको राँगोलाई
चुङ्केबुङ्को चुलेसीले
ताप्लेजुङमा ताकेर
कालेबुङमा काटेर
अरुण तमोर तरुँला
तिते फापर छरुँला
फूल लाउँला केसरी, खाउँला बेसरी ।
धरान । यो बहुचर्चित गीतका गायक सुरेश गन्धर्वलाई पछिल्लो समय ५८ हजार पाँच सय रुपैया आर्थिक सहयोग उपलब्ध भएको छ । नेपाल चलचित्रकर्मी महासंघ प्रदेश नं १ को पहलमा संकलित सहयोग रु. १३ हजारसहित दिपलक सुब्बाले २० हजार, किशोर पङ्धाक (पन्धाक ठुले), सीता तुम्बापो (इछिङ साइंला तुम्बापो पंधाक) ले २० हजार र सन्तोष लिम्बू तिल्लिङ (तिल्लिङ्ग साईला लिम्बु) ले ५ हजार ५ सय गरी जम्मा ५८ हजार ५ सय सहयोग धरानको घोपास्थित बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको मेडिकल वार्डमै गएर प्रदान गरिएको हो ।
सहयोग रकम हस्तान्तरण कार्यक्रममा नेपाल चलचित्रकर्मी महासंघ १ नं प्रदेश अध्यक्ष चलचित्र निर्देशक अरुण प्रधान, नाटकघर निर्माण आर्थिक उपसमितिको संयोजक गीतकार मिना सिंङ्गक, होप धरानका अध्यक्ष निश्चलमोहन पलिखेलगायत उपस्थित थिए । रमेश प्रसाईंले कभर गीत गाएर पछिल्लो समय फेरि चर्चामा आएको चर्चित गीत रिङ्केबुङका गायक र शब्द संकलक गन्धर्व मुटु रोग, बाथ, मधुमेह, प्रेसर, थाइराइडजस्ता रोगहरुबाट ग्रसित भइ उपचारको क्रममा रहेको गीतकार मिना सिंङ्गकले बताइन् ।
‘सुरेश दाजुको सिघ्र स्वास्थ्य लाभको कामना !’ समाजसेवी तथा गीतकार सिंङ्गकले भनिन्, ‘कलाकार देशका सम्पत्ति हुन । सबैले सम्मान र माया गरौं ।