आई मिस यु ममी !
एलिना कार्की
सुन्दा र अनुभूत गर्दा मात्रै पनि आमा प्यारो लाग्ने शब्द हो । संसारमा यो जति ममतामयी अर्काै कुन शब्द होला र ! एउटी आमाले नौ महिना गर्भमा राखेर प्रसव पिडा सहेर यो संसारमा जन्म दिन्छिन् । सबै पिडा भुलेर नवजात शिशुको अनुहार हेर्दै मुस्कुराउँछिन् । वास्तवमै आमा महान छिन् । कहिले आधा पेट खाएर त कहिले भोकै बसेर मजदुरी गरेर भए पनि सन्तानको पेट भर्ने एउटा मात्रै नाम छ भने त्यो हो आमा ।
आमा साक्षात् भगवान पनि हुन् । काखीमा पानीको गाग्रो र पिठयुँमा बच्चा बोकेर सन्तान हुर्काएकी आमा । जति रोए पनि कराए पनि फकाउनतर्फ लाग्ने आमाको सहनशिलता र सत्मार्गमा हिँड्न प्रेरित गरिरहने आमाको वर्णन गरेर सकिन्छ जस्तो लाग्दैन ।
सन्तानलाई पेटभरि खुवाउँदा आफु सन्तुष्ट हुने, आफुले टालेर लाए पनि बच्चालाई नयाँ कपडाको जोहो गरिदिँदा मनमनै मुस्कुराउने आमाले उनका कयौँ चाहनाका खातिर सन्तान हाँसेको हेर्न चाहन्छिन्, उनिहरुको लागि विभिन्न सपना बुन्छिन् । यस्तै गरी जन्माई हुर्काई बढाई गरेकोमा मेरी आमालाई धेरै धेरै धन्यवाद, जसका कारण मैले यो संसार देख्ने अवसर पाएँ ।
मेरी आमा जस्तै यो संसारका सबै आमाको चाहना उहि हुन्छ, आफु नखाएर पनि छोराछोरीलाई खुवाउने । यसमा आमासँगै बुबा पनि जोडिएर आउनुहुन्छ ।
हजारौँ दुख गरेर सन्तान हुर्काएका उनै बाबुआमा बुढेशकालमा छोराछोरीको सेवाबाट बञ्चित भएर वृद्दाश्रममा पुग्न बाध्य छन् । यस्तो अवस्था कोही बाआमाले भोग्न नपरोस् । छोराछोरीको लागि जीवन समर्पित गरेका बाबुआमालाई क्षमताअनुसारको लालनपालन गरौँ ।
आमाले जति निश्चल माया गर्नै अर्काै कुनै प्राणी छैन यो संसारमा । सन्तानको सधैँ भलाई चाहने नाफा घाटाको हिसाबमाथि माथिको अचुक नाता हो आमा ।
ममताका खानी सम्पूर्ण आमाहरुमा आज सदियौँदेखि परम्पराका रुपमा चलिआएको आमाको मुख हेर्नै दिनको शुभकामना ।
आई मिस यु ममी !
बाध्यतावश् टाढा पुगेका छोराछोरीसँग भेट हुँदाको जस्तै तमाम आमाहरुको जीवनमा सधै खुशी छाइरहोस् ।