किताबमा युद्धबन्दी गोर्खाली

नेपाल प्रज्ञा–प्रतिष्ठानले १०६ वर्षअगाडिको ऐतिहासिक लोकसामग्रीलाई प्रकाशनमा ल्याएको छ । पहिलो विश्वयुद्धमा जर्मनी पुगेका र त्यहीँ बन्दी भएका गोर्खाली सेनाहरूले सुनाएका लोकगीत, लोककथा, आत्मकथा, निबन्ध र गाउँखानेहरूलाई सङ्कलन गरेर ‘युद्धबन्दी गोर्खालीका लोकभाका र कथा’ नामक कृति प्रकाशन गरिएको प्रतिष्ठानले जनाएको छ । प्रथम विश्वयुद्धमा बेलायतका पक्षबाट युद्ध गर्ने गोर्खाली सेनाहरू जर्मनीमा बन्दी बनाइएका समयमा जर्मन प्रोफेसर हाइनरिक ल्युडर्सद्वारा तिनको वासस्थानमा नै गएर रेकर्ड गरिएका र जर्मनीको हुम्बोल्ड विश्वविद्यालयको ध्वनि सङ्ग्रहालयमा आजसम्म पनि सुरक्षित राखिएका लोकसामग्रीहरूको सूचना पाएपछि प्रज्ञा–प्रतिष्ठानले सङ्कलन गरी प्रकाशन गरिएको बताइयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य विभागको अनुसन्धान परियोजनाअन्तर्गत डा. अलका आत्रेय चूडालले उक्त सामग्रीलाई ध्वनिबाट लिपिमा उतारेको प्रतिष्ठानका सूचना तथा सञ्चार शाखा प्रमुख शशी लुमुम्बुले बताए । तीन परिच्छेदमा विभाजन गरिएको कृतिको पहिलो परिच्छेदमा प्रस्तुत सामग्रीहरूको स्रोत, खोजी र प्राप्तिका सन्दर्भमा महत्त्वपूर्ण जानकारीहरू प्रस्तुत गरी ती सामग्रीहरूको विश्लेषण गरिएको छ भने दोस्रो परिच्छेदमा गोर्खाली युद्धबन्दीका लोकभाका र कथाहरू राखिएका उनले जानकारी दिए ।

गोर्खाली सेनाले गाएका लोकगीत, सवाई, सिलोक, फुटकर गीत, फुटकर सिलोक, ख्याली, हिन्दी गीत र भजन, हिन्दी दोहा र सिलोकहरू, सोरठी जस्ता गेय विधा लोककथा, आत्मकथा, निबन्ध र केही गाउँखाने कथा जस्ता गद्य विधाका जम्मा ८६ ओटा ऐतिहासिक महत्त्व राख्ने लोकसामग्रीहरू समेटिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button