
दुप्चेश्वरको प्रत्येक वडामा कानुनी क्लिनिक
दुप्चेश्वर गाउँपालिकाले प्रत्येक वडामा एक दिने सामुदायिक घुम्ती कानुनी क्लिनिक कार्यक्रम सुरु गरेको छ ׀ राष्ट्र निर्माण मञ्च, नेपालसँगको सहकार्यमा यो क्लिनिक कार्यक्रम पालिकाले वडा न ७ स्थित शिखरबेशीबाट सुरु गरेको हो ।
पालिका अन्तर्गतका कानुनी पक्षहरुलाई सहज बनाउन र भइपरी आउने सामाजिक बेथितिहरुको लागि के कस्ता सजायँ र कारबाही तोकिएका छन् भन्नेबारे नागरिकलाई जानकारी दिनु कार्यक्रमको उद्धेश्य रहेको छ । कार्यक्रममा महिला, बुद्दिजिवी, स्वयंसेविका, विद्यार्थी र अन्य सरोकारवाला सहभागी थिए ।
बालविवाह अन्त्य, आर्थिक मामिला, पुननिर्माणजस्ता विषयहरुसँग सम्बन्धित ऐन, नियम तथा कानुनी पक्षहरुका साथै स्वास्थ्य शाखाबाट विपन्न नागरिक उपचार सिफारिसको लागि पुरा गर्नु पर्ने व्यवधानहरु जस्ता विषयलाई अन्तरक्रियाको बिषय बनाईएको छ ׀
‘हरेक नागरिकले जान्न पर्ने सामाजिक र ब्यवहारिक मामिलासम्बन्धि कानुनी परामर्शहरुको बारेमा जानकार गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो’, पालिका अध्यक्ष योविन्द्रसिंह तामाङ्गले भने ।
‘महिलासम्बन्धि कानुनी परामर्शलाई पनि प्रथामिकतामा राखेका छौ’, पालिका उपाध्यक्ष अन्जु आचार्यले भनिन्, ‘वालविवाह अन्त्य र वालविवाह गरे वा गराएमा हुने कानुनी कारबाहीको बिषयमा पनि अन्तरक्रिया गर्छौं ।’