स्वस्थानी सिरिज ३ः मूलपूजारीको माधवनारायण व्रत महिमा

सुदनराज राजोपाध्याय

हिन्दूशास्त्र एवं किंवदन्ती अनुसार भगवान विष्णु स्वयंले माता पार्वतीलाई स्वस्थानी माताको व्रत बस्ने विधी ज्ञानोपदेश दिनुभयो र स्वयं नारायणले पूर्ण ज्ञान, व्रत कथा र व्रत साङ्ग्गे पनि गुरु स्वरुप भई माता पार्वतीको स्वस्थानी व्रत पूर्ण गरिदिनुभयो ।

माता पार्वतीले स्वस्थानी (अष्टमातृका, त्रिदेवी, लक्ष्मी, सरस्वती, गायत्री, शक्ति) माताको व्रत फलस्वरुप श्री महादेव स्वामी पाईन् र गुरु नारायणको आशिर्वादमा कैलाश पाईन् । सोही अनुरुप अहिलेसम्म गुरु श्रीश्रीश्री माधवनारायण भगवानलाई साक्षी राखी यो व्रत निरन्तररुपमा पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म साँखु शालिनदीमा माधवनारायणको व्रत गर्दै आएको हो ।

भगवान विष्णुको आदेशमा माता पार्वतीको आज्ञा अनुसार तीनलोकमा नै स्वस्थानी माताको व्रत बसाल्न स्वर्गलोकमा नारद ऋषि र मत्र्यलोकमा सप्तर्षी एवं पाताललोकमा अस्वस्थामा ऋषिलाई पार्वती माताले पठाउनु भएको थियो । किंवदन्ती एवं पुराणको अनुसरण गर्दै अहिलेसम्म पनि यो स्वस्थानी माताको व्रत बस्ने परम्परा चलिआएको छ । सोही अनुरुप भगवान विष्णुको स्वरुप श्री माधवनारायणको प्रतिमालाई साक्षी राखि यो व्रत प्रत्येक वर्ष पौष शुकल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म निरन्तर रुपमा चल्दै आईरहेको छ ।

यहाँ माधवनारायणको नाम कसरी रहन गयो भन्ने कुरामा ध्यान दिनु जरुरी छ । भगवान नारायण (माधव नारायण)को १२ महिनामा १२ वटै नामबाट पूजा गर्नुपर्छ । शक्ति स्वरुपा माता लक्ष्मीको नाम पनि महिना अनुसार फरक फरकै हुन्छ । जुन तल उल्लेख गरिएको छ–

१) बैशाखमा मधुसुदन नारायण र घृति लक्ष्मी हुन्छ ।
२) जेष्ठमा त्रिविक्रम नारायण र इच्छा लक्ष्मी हुन्छ ।
३) आषाढमा वामन नारायण र महिमा लक्ष्मी हुन्छ ।
४) श्रावणमा श्रीधर नारायण र रति लक्ष्मी हुन्छ ।
५) भाद्रमा ऋषिकेश नारायण र माया लक्ष्मी हुन्छ ।
६) असोजमा पद्मनाभ नारायण र धिमा लक्ष्मी हुन्छ ।
७) कार्तिकमा दामोदर नारायण र महिमा लक्ष्मी हुन्छ ।
८) मंसिर महिनामा केशव नारायण र श्री लक्ष्मी हुन्छ ।
९) पौष महिनामा नारायण र वागिश्वरी लक्ष्मी हुन्छ ।
१०) माघ महिनामा माधव नारायण र कान्ति लक्ष्मी हुन्छ ।
११) फाल्गुणमा महिनामा गोविन्द नारायण र क्रिया लक्ष्मी हुन्छ ।
१२) चैत्रमा विष्णु र शान्ति लक्ष्मी हुन्छ ।

साथै पुरुषोत्तम महिनामा नारायणको नाम पुरुषोत्तम र लक्ष्मी माताको नाम श्री लक्ष्मी रहन्छ । माघ महिनामा नारायणको नाम माधव हुने भएकोले माधवनारायणको पूजा गर्ने चलन चलेको हो ।

तर, यस व्रतमा स्वस्थानीको मात्र पूजा नगरी स्वयं भगवान माधवनारायणको व्रत, पूजा, उपासना गरिन्छ । यसको तात्पर्य गुरु ब्रम्हा, गुरु बिष्णु, गुरु देवो महेश्वर, गुरु साक्षात् परमब्रम्ह तस्मै श्री गुरुवे नमः हुन जान्छ । यो व्रत अन्य व्रत जस्तो सरल नभई कठिन अवश्य छ । तर स्वस्थानीको व्रतले आफ्नो मनोकांक्षा अवश्य पूरा हुन्छ ।

(राजोपाध्याय माधवनारायणका मूल पूजारी हुन् ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button