सगरमाथाका पाइलाहरू !

H2O Nepal Book Journey

डा. विष्णुबहादुर जी.सी.

विश्व मानचित्रमा सर्वोच्च शिखर- नेपालीमा सगरमाथा, अंग्रेजीमा एभरेस्ट, तिब्बती भाषामा चोमोलुङमा फ्रेन्च भाषामा मोन्ट एभरेस्ट आदि आदि नामले ख्याति प्राप्त गरेको छ। सर्वोच्च शिखरको नाम सुनेका, चिने बुझेका मानिसहरूको सङ्ख्या संसारमा धेरै नै होलान् । तर यसको भौतिक उचाइ र संवेदनशीलताको अनुभव र महसुस गर्नेहरूको सङ्ख्या भने धेरै नै कम छ । पारिवारिक सानो जमघटको बेला यसै सेरोफेरोमा छलफल र आआफ्ना विचारहरू अभिव्यक्त गरिएका थिए । त्यसलाई समेत मध्यनजर गर्दै यो लेखले आफ्नो आकार लिएको हो ।

सन् १९२१ देखि संयुक्त अधिराज्य ब्रिटेनका British expedition टिमहरूले सगरमाथाको चुचुरो चुम्ने प्रयास गरे तापनि सन् १९५३ मा मात्र कर्नेल जोन हन्टले नेतृत्व गरेको सगरमाथा आरोहण गर्ने अभियान सफल हुन सक्यो । यो संयुक्त अधिराज्यको तर्फबाट नवौँपटकको प्रयास थियो । प्रमुख रूपमा १५ जना पर्वतारोहीहरू संलग्न यो टोलीका सदस्यहरूमध्ये सर एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पाले सन् १९५३ को मे २९ का दिन सगरमाथाको चुचुरो चुम्ने प्रथम पर्वतारोहीको कृतिमान कायम गर्न सफल भए ।

सन् १९५३ अघि र पछि, अहिलेसम्म सगरमाथाको चुचुरो चुम्ने प्रयासमा जीवनभरको सम्पूर्ण स्रोत साधन खर्चने र ज्यानको बाजी राख्ने कैयन पर्वतारोहीहरूले सगरमाथाको चुचुरोमा उभिने प्रयासमा सफलता पाएका छैनन् भने कसैकसैले चुचुरोमा उभिएर पनि ओर्लने क्रममा जीवन त्याग गर्नु परेका केही घटनाहरु हामी समक्ष ताजा नै छन् । त्यसैले अपेक्षित र अनपेक्षित विषम परिस्थितिलाई सामना गर्दै चुचुरोमा पुग्नु एउटा चुनौती हो भने सुरक्षित रूपमा आफ्ना प्रियजनहरू बीच फर्किन सक्नु अर्को चुनौती रहेकोछ, पर्वतारोहीहरूको लागि ।

यो वास्तविकतालाई सगरमाथा बेसक्यामको मेरो बसाइ र जिम्मेवारीका कारण विषयवस्तुको सानो अंश साक्षात्कार गरे जस्तै अनुभूति भइरहेको छ यो क्षणमा । वास्तवमा सगरमाथाको इतिहास पढ्दा र त्यसको काखमा उभिएर नियाल्दा र साक्षात्कार गर्दा हुने अनुभूति एउटै नहुँदोरहेछ। त्यसैले इतिहासका पानामा पढिएका घटना जब आफ्नै आँखाअगाडि घट्छन्, तब तिनको अर्थ र गहिराइ झन् फरक रूपमा महसुस हुँदोरहेछ । सन् १९९३ को वसन्त ऋतुमा सगरमाथा आधार शिविरमा रहँदा मैले यस्तै केही घटनालाई नजिकबाट अनुभव गरेको छु ।
सरकारी सेवामा रहँदा सन् १९९३ बसन्त ऋतुको बेला DHL British 40th Anniversary Everest Expedition को लागि सम्पर्क अधिकृत र यही अवधिमा Nepalese Women San Miguel Everest Expedition को समन्यकारी भूमिकाको लागि समेत मलाई जिम्मेवारी दिइएको थियो। साथै, हिमालयन ट्रस्ट काठमाडौँमा मैले काम गर्दा सर एडमन्ड हिलरीसँग भएको भेटघाटको विषय पनि प्रसङ्गबस यहाँ जोड्न चाहे ।

पासाङ ल्हामु शेर्पाले नेतृत्व गरेको Nepalese Women San Miguel Everest Expedition मा १० जना पर्वतारोहीहरू संलग्न थिए । यो टिमले आधार शिविरमा आइपुगेका अन्य टिमहरूभन्दा करिब एक हप्ताअघि आरोहण अभियान सुरु गरी दलकी नेत्री पासाङ ल्हामु सहित अरु दुईजना सदस्यहरूलाई सगरमाथाको चुचुरोमा उभ्याउन सफल भयो ।

यो आरोहणसँगै पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोमा पुग्ने पहिलो नेपाली महिला बनिन् । उनले नेपालको वीराङ्गना तथा राष्ट्रिय विभूतिको रूपमा आफ्नो नाम इतिहासमा अमर बनाउन सफल भइन् । तर यो गौरवपूर्ण सफलताको पछाडि एउटा अत्यन्त दुःखद अध्याय पनि जोडियो । सगरमाथाको चुचुरोमा विजयको झण्डा फहराएर फर्कने क्रममा मौसम अचानक प्रतिकूल बन्दै गयो। लगातार हिमपात हुन थालेपछि आरोहीहरू कठिन र जोखिमपूर्ण परिस्थितिमा परे। यही क्रममा पासाङ ल्हामु शेर्पा र सोनाम छिरिङले हिउँको ओडारमा आश्रय लिए। तर प्रतिकूल मौसम र निरन्तरको हिमपातका कारण उनीहरू त्यहाँबाट बाहिर निस्कन सकेनन् र अन्ततः हिमपहिरो तथा हिउँमा पुरिएर दुवैले हिमालमै प्राणको आहुति दिए ।

त्यतिबेला सगरमाथाका सबै क्याम्पहरूमा लगातार हिमपातका कारण आरोहीहरू कठिन अवस्थामा रहेको समाचार आधार शिविरमा आइरहेका थिए । यसमध्ये पासाङ ल्हामु शेर्पाको टिम अझ कठिन अवस्थाबाट गुज्रिरहेकाले सो टिमलाई सहयोग र उद्धार गर्नका लागि पासाङ ल्हामु रहेको वरपर क्षेत्रका सम्पूर्ण पर्वतारोही दल तथा पर्वतारोहीहरुलाई सहयोगका लागि आधार शिविरबाट बारम्बार अनुरोध गरिएको थियो। तर प्रतिकूल मौसम, कठिन भौगोलिक अवस्था र जोखिमपूर्ण परिस्थितिका कारण तत्काल उद्धार सम्भव हुन सकेन ।

यसरी सगरमाथाको चुचुरोमा पुगेर इतिहास रचेकी पासाङ ल्हामुको जीवनयात्रा हिमालको काखमा टुङ्गियो। उनले संसारलाई आफ्नो साहस र दृढताको परिचय दिइन्; सगरमाथाले शायद उनलाई आफ्नै काखमा सदाका लागि अँगाल्न चाह्यो । उनको यात्रा नेपाली महिलाको साहस, संघर्ष र अदम्य इच्छाशक्तिको अमर प्रतीक बनेर इतिहासमा अजर अमर रह्यो। यसैगरी सोनाम छिरिङ पनि आफ्नो अन्तिम सास सगरमाथामै फेरे र आफ्नै किसिमको इतिहास रचे ।

DHL British 40th Anniversary Everest Expedition को कथा अलिक पृथक किसिमको छ । यो आरोहण अभियानमा मेडिकल रिसर्चर समेत १२ जना ब्रिटिस पर्वतारोहीहरू थिए भने चारजना शेर्पाहरु साथमा थिए । Base camp स्थापनाले पूर्णता पाइसकेपछि आरोहण अभियान सुरु भयो । यो बेला धेरै पर्वतारोहण दलहरूले पनि आरोहण सुरु गरिसकेका थिए। अनुकूल मौसम, आरोहीहरूको ऊर्जा, आपसी सहयोग र समन्वयले आरोहणका लागि वातावरण सहज बनिरहेको थियो । यही क्रममा सन् १९९३ मे १० का दिन ३७ जना पर्वतारोहीहरूले एकै दिन सगरमाथाको सफल आरोहण गरे। यो सफलताले यसअघिका एकै दिनमा सबैभन्दा धेरै आरोहीले सफल आरोहण गरेको कीर्तिमानसमेत तोड्यो। त्यही ३७ जनामध्ये DHL British 40th Anniversary Everest Expedition का Harry Taylor पनि थिए। त्यो ३७ जना भित्र उनको नाम समावेश भयो ।

यसको केही दिनपछि अर्थात् मे १७ का दिन बिहानै DHL British 40th Anniversary Everest टिमबाट Rebecca Stephens ले दुईजना शेर्पा आरोहीको साथमा सगरमाथाको चुचुरोमा संयुक्त अधिराज्य ब्रिटेनको पहिलो महिलाको रूपमा आफूलाई उभ्याउन सफल भइन् । ब्रिटिस expedition टिमले ४० वर्षअघि पहिलोपटक मानव इतिहासमा आफ्ना पर्वतारोहीहरू सर एडमन्ड हिलरी र तेन्जिङ नोर्गे शेर्पालाई सगरमाथामा उभ्याउन सफल भएको थियो । यो अभियानमा पुरुष पर्वतारोही मात्रको सहभागिता थियो । यसको ठिक ४० वर्षपछि सन् १९५३ को पहिलो सफल आरोहणको सम्झनामा आयोजित DHL British 40th Anniversary Everest पर्वतारोहण अभियानले ब्रिटिस महिला पर्वतारोहीलाई चुचुरोमा पुर्‍याउन सफल भयो ।
Rebecca Stephens सागरमाथामा पहिलो पाइला राख्ने पहिलो ब्रिटिस महिलाका रूपमा इतिहासमा नाम अमर अजर गरिन् । सौभाग्य भनौ या संयोग भनौ इतिहासमा आफ्नो नाम अमर अजर बनाउने यी तिनै जना अदम्य साहसी पराक्रमी योद्धाहरु Sir Edmund Hillay, पासाङ ल्हामु शेर्पा र Rebecca Stephens सँग नजिकमा बसेर काम गरेको स्मरण गर्दा यो पंक्तिकारलाई पनि गर्व महसुस भइरहेको छ,यो क्षणमा । गर्व यस अर्थमा पनि हुँदो रहेछ कि महान् उद्देश्य हासिल गरेका व्यक्तित्वहरू व्यवहारमा कति सरल र सहज हुन सक्छन् भन्ने कुरा मैले नजिकबाट अनुभव गर्ने अवसर पाएँ।

सगरमाथा आधार शिविरबाट प्रत्यक्षदर्शीका रूपमा प्राप्त थोरै ज्ञान र अनुभवका आधारमा मलाई लाग्छ—सगरमाथाको चुचुरोमा पाइला राख्नु कुनै चानचुने विषय होइन रहेछ। यो त लामो तयारी, राम्रो स्वास्थ्य, दृढ अठोट, अदम्य आँट, आरोहण सीप, अनुकूल मौसम र राम्रो संयोगको अद्भुत मिलनबिन्दु रहेछ । त्यसैले सगरमाथाको चुचुरोमा पाइला राख्ने व्यक्तिले कति साहस गर्‍यो, साहस बटुल्नका लागि कहाँबाट कसरी ऊर्जा प्राप्त गर्यो, कति संघर्ष गर्‍यो, कति त्याग गर्‍यो र त्यसपछि आउने पुस्ताका लागि कस्तो पाठ सिकायो भन्ने कुरा निकै महत्वपूर्ण छ । सगरमाथाको चुचुरोमा राखिएको प्रत्येक साहसी पाइला आफ्नै अर्थ बोकेर आएको हुन्छ। कसैको पाइला इतिहासको पहिलो पाना बन्छ, कसैको पाइला नयाँ सम्भावनाको ढोका खोल्छ, अनि कसैको पाइला बलिदानको अमर कथा बनेर रहन्छ ।

सगरमाथाको चुचुरोमा पाइला राख्ने सोच बनाउनेदेखि आरोहणका प्रत्येक पाइलाहरू अघि बढाउँदै अन्ततः चुचुरोमा पाइला राख्न सफल हुने प्रत्येक आरोही सम्माननीय छन्। उनीहरूले आफ्नै साहस, संघर्ष, धैर्य र संकल्पका माध्यमबाट आ–आफ्नै किसिमको इतिहास रचेका छन्। ती साहसी मन र पाइलाहरूप्रति मेरो हार्दिक सलाम छ । ती ऐतिहासिक पाइलाहरूलाई नजिकबाट नियाल्ने अवसर पाएको एउटा साक्षीका रूपमा, आज पनि म सगरमाथातर्फ फर्केर हेर्दा एउटै कुरा सम्झन्छु—सगरमाथाको उचाइ हिमालको मात्र उचाइ होइन; त्यो मानव साहसको उचाइ पनि हो ।

….

नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button