स्वस्थानी सिरिज १ः स्वास्थ्य, शालीनदी र स्वस्थानी ०७७
साँखुको शालिनदीमा चल्ने १ महिने श्री माधवनारायण स्वस्थानी व्रत र मेला । अघिल्ला बर्षहरु २०–२५ लाख भक्तजन आउने यो मेला । तर, यो बर्ष स्थिति सहज छैन ।
‘आउँदो माघ १५ गतेदेखि फागुन १५ गतेसम्म चल्नुपर्ने यो मेला सञ्चालनको लागि स्वास्थ्य सुरक्षाको मापदण्डे सबैको चासो भएको र विभिन्न पक्षबाट बारम्बार मेला रोक्न दबाव समेत आइरहेको छ’, शंखरापुर नगरपालिकाका मेयर सुवर्ण श्रेष्ठले भने, ‘के-कसरी व्रत सञ्चालन र मेला व्यवस्थापन गर्ने भन्ने विषयमा काठमाडौँका सिडियोसँग छलफल गर्नेछौं ।’
कोभिड–१९ लाई ध्यानमा राख्दै श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिले व्रतालु संख्या ६०-७० जनामा सीमित हुने गरी व्रत पूजा सञ्चालन गर्ने कार्यविधि ल्याएको छ भने मेला सञ्चालनको लागि स्थानीय प्रशासन, जिल्ला प्रशासन कार्यालयको सहमति भए सञ्चालन गर्ने नभए मेला सञ्चालन नगर्ने तर व्रत पूजा सुरु गर्ने निर्णय सार्वजनिक गरेको छ ।
समितिले मेला सञ्चालन नगर्दा पनि केही भक्तजनहरु शालिनदीमा नुहाउन आउने हुँदा उनीहरुको पनि स्वास्थ्य सुरक्षालाई ध्यान दिएर ठाउँ ठाउँमा साबुन पानी, स्यानिटाईजर र मास्क वितरण गर्ने तथा होर्डिङ बोर्डहरु राखेर जनचेतना जगाउने लक्ष्य लिएको छ ।
व्रतालुहरुको सुरक्षालाई ध्यानमा राखेर माधवनारायणको दर्शन गर्न दूर दर्शनको व्यवस्था मिलाइएको छ भने व्रतालुहरु र भक्तजनहरुबीच दूरी कायम गराउनको लागि व्रत परिसरमा बार लगाएर ठाउँ खाली गरिएको समितिले जनाएको छ ।
सीमित संख्यामा व्रतालुहरु राखिने र व्रतालुहरुको पिसिआर-एण्टीजेन परीक्षण माघ १३ गते गर्ने गरी व्रत बस्न चाहनेहरुको लागि आवेदन खुल्ला गरिएको समितीले जनाएको छ ।
भीडभाड नहुने गरी मेला व्यवस्थापन गर्ने र माधवनारायण व्रतालु नुहाउने पोखरीमा सबैलाई नुहाउन प्रतिबन्ध लगाउने गरी कार्यविधि अपनाउने समेत समितिले जनाएको छ ।