
युवतीलाई देखेर लेखेको त्यो कविता, जसको जगमा निर्मला-गोपी बिहेको रजत वर्ष मनाइरहेछन्
बिम्बमा हेर्दा प्रेयसी कवि गोपी सापकोटाले आज भन्दा सत्ताइस वर्ष पहिले लेखेको कविता हो । काठमाडौंको रत्न राज्य क्याम्पसमा एम. ए. पढ्दै गर्दा उनले आफ्नै कक्षामा पढ्ने एक युवतीलाई देखेर लेखेको यो कविता त्यतिखेरको एउटा साप्ताहिक पत्रिकामा छापिएको थियो । पत्रिकामा छापिएपछि कविता ती युवतीले पढिन् र आफ्नो लागि लेखिएको भन्ने थाहा पाइन् । यही कवितालाई उनले गोपीको प्रेमपत्र ठानिन् । त्यसपछि गोपी र ती युवती बीच प्रेम भयो । कविता लेख्ने बेलामा गोपीले सोचेका थिएनन् कि यो कविताले नै उनको प्रेमको अभिव्यक्तिलाई ती युवतीसम्म पु¥याउनेछ । गोपीले यो कविता निर्मला प्रसाईका लागि लेखेका थिए । यतिखेर गोपी र निर्मला बिहेको रजत वर्ष मनाइरहेछन् । प्रेम दिवसको अवसरमा नेपालनाम्चाका पाठकका लागि प्रस्तुत छ कविता– बिम्बमा हेर्दा प्रेयसी ।
गोपी सापकोटा
मेरी प्रेयसीलाई म
बिम्बमा हेर्दो रहेछु– कविताजस्तै
सायद यसैले ऊ
राम्री भएर पनि राम्री लाग्दिन
नराम्री भएर पनि नराम्री लाग्दिन
मात्र केही रङहरुका बिम्बभित्र
उसलाई हेरिदिँदा ।
आवरणमा ऊ निर्मल छे, जूनजस्तै
अन्तर्मन कसले देखेको छ र जूनको !
बस्, ऊ त्यस्तै छे, जस्तो उसको नाम छ ।
उसका पाखुराबाट पोखिने
राता पछ्यौरीहरु जब फहराउँछन्
चैतको उराठे बतासमा
प्रेमको झण्डा फहराएको देख्छु म
चुम्बनको प्रतिक्षामा बसेका
उसका ओठहरुदेखि
नजानिँदो डर लाग्छ
र भाग्न मन लाग्छ ।
राता रङहरुमा प्रेयसी
साह्रै नै राम्री देखिन्छे
मेरी प्रेयसीलाई म
बिम्बमा हेर्दो रहेछु – कविताजस्तै
सिर्जनाको रङ पोतेका
उसका हरिया लुगाहरुमा
बसन्त टुसाउन लागेको देख्छु म
साँच्चै मुर्झाउन लागेको बैंसमा प्रेयसी
यौवनका दुई वसन्त बोकेर
साँझमा पर, केही पर
हरियो डाँडामाथि उदाउनै लागेको
जूनजस्तै छे,
न छुन सकिने, न दृष्टि फेर्न सकिने
मात्र सधैं–सधैं हेरिरहुँ–हेरिरहुँ
जस्तो लाग्दो रहेछ ।
हरिया रङहरुमा प्रेयसी
साह्रै नै राम्री देखिन्छे
मेरी प्रेयसीलाई म
बिम्बमा हेर्दो रहेछु– कविताजस्तै ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)