के को लागि घमण्ड !

सुशील लामा
पाँचखाल, काभ्रेपलान्चोक, हाल- लिमासोल, साइप्रस

मान्छे
न तिमी अज्ञात अजम्बरी छौ
न तिमी निराकार आकाश झै
अमर छौ
न तिमी जंगल, खोला, पहरा-छहराको
स्वामित्व बोकेको
गगन हौ !

न तिमी बादल,वर्षा, मनसुन हौं
प्रत्येक साल घुमी-घुमी फर्कने
मान्छे तिमी
हरेक नयाँ दिनले
पुरानो बनाऊँदै गरेको
अनिश्चित नियात्राको
बटुवा मात्रै हौं !

ढाकार भरी दु:ख-पीडा, खुशी-उमंग
ढाकछोप गरि बोकि हिड्ने
अस्थायी ढाक्रे हौं !

र पनि घमण्ड !

मान्छे
एक दिन खुद तिमी आफ्नो हुन्न
तिम्रो जवानी ओईलिएर
शिशिरको हिँमपादले झारेको
बुडो रुखको पात झैं खसी झर्छन्
बुडो रुख झैं नांगिन्छौं
तिम्रो सुन्दता
सिसाकलमले ड्रोईङ्ग गरेको चित्र झैं
बिस्तारै-बिस्तारै फुंङ्ग
ऊडेर जान्छ
तिमिले मेरो आफ्नै साख्के हो भन्नेहरु
तिम्रो बुड्यौंली नरुचेर
बिस्तारै टाढिन खोज्छ
तिम्रो शरीरको मासुले त छोडेर
तिम्रो जिबन
हड्डीलाई जिम्मेवार बनाएर
बिलाउदै जान्छ।
अरुको के कुरा गर्ने
र पनि अझै घमण्ड !!

मान्छे
जिबन टुंगो लाग्ने
तर कहिले टुंगिने हो भनेर थाहा नभएको मुद्धा
फैसला केबल मृत्यु हो ।

बक्यौतामा खटाई- खटाई
वकालत गर्ने वकिल
नचिनेको, नदेखेको र नभेटेको
भेटेपछि छुट्टिनु नमान्ने
यमलोक को यमराज हो ।
थाहा छ त !
आमाको न्यानो गर्भको बाटो हुँदै
दुनियाँमा पाईला टेक्दा पाऊँदा
पहिलो बस्त्र थाङ्गनो र भोटो देखि
दुनियाँबाट पाईला उठाउने बेलामा पाऊने
कात्रोमा लोभ हाल्ने
गोजि,खल्ती,पोकेट हुँदैन !

र पनि लोभको
त्यत्रो घमण्ड !!!

मान्छे
तिमी केही दिन हो।
केही दिनको पऊँना मात्रै हो ।
पाऊँना जस्तै हो
जसरी तिम्रो घरमा आएको पाहुँना
आऊँछ जान्छ।
त्यस्तै तिमी पनि जाने नै हो
जानू नै पर्छ।
शाश्वत सत्यलाई छल्न सक्दैनौं ।
तिमिले जे- जे मेरो हो भनेर
हुकांर गर्दै
सानो मुटुलाई दुख्ने गरि
ड्याम-ड्याम छात्तिमा थप्पड बजाएर
यो मेरो हो!
यो तेरो हो !
हल्काराले चिठी बाडेसरी
बाँड्दै छौं
बाड्न हुने चिज,बाँड्न नहुने चिज।
त्यो सब भ्रम हो
पर्दामा देखिने सिनेमाको
कथामा बग्ने पात्र जस्तै हो ।

अन्ततोगत्वामा तिमी
खाली हात हो!
एक कुईंन्टल दाऊरा हो
एक मुस्लो बादल छुन हिडेको
धुँवा मात्रै हो
एक मुरि खरानी हो
खरानी पखाल्न ल्याएको
एक गाग्री पानी हो
तिमिलाई सम्झनेहरुको
केवल याद हो ।

हार्दिक श्रद्धाञ्जली थाप्न
फ्रेम भित्र कैद भएको
नबोल्ने, नचल्ने, नहाँस्ने
फोटो मात्रै हो ।
त्यसैले भन्छु,
मान्छे तिमी नगरे हुन्छ घमण्ड !

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button