आमा, माघेसक्रान्ती र घ्युखट्टे

रामेश्वरी पन्त

आज माघेसक्रान्ती ! जीवनका पचपन्न माघेसक्रान्ती काटीसक्दा पनि उही बाल्यकालका माघेसक्रान्ती नै याद आउने । आफ्ना हातले पुसको पाकी जति बनाए पनि आमालेकटौरा´मा जमाएर राखिदिएको घ्युखट्टे जस्तो मीठो हुँदैन । जति लड्डु बटारे पनि आमाले जामाएर राखिदिएको खुदोखट्टे बिहानै उठेर आँखा मिच्दै खाएको जस्तो मीठो हुँदैन । जति मेहनतले खिचडी पकाएर खाए पनि आमाले पकाएको `खिर्चो´ जस्तो मगमग बास्ना आउँदैन ।

सम्झन्छु, चाड भनेका त बाल्यकालकै रमाइला । आमाले पकाएकै खाना मीठा, बुबाले किनिदिएकै नाना राम्रा । अनि सोच्छु मनमनै, के मेरा छोराछोरीले पनि मैलेजस्तै सोच्दाहुन् ? अथवा मैलेजस्तै सोच्नेछन् ? होइन होइन, यिनीहरूको लागि त्यो दिन आएकै छैन सायद नआउला पनि । अबको उनीहरूको जीवनशैलीले यो सब अनुभव गर्न र अनुभूत गर्न कहाँ देला र ! यिनीहरूलाई केको खिचडी ! केको घ्युखट्टे ! यी सबको ठाउँ त चिकेनचिल्ली, पिज्जा, मोः मोः आदिले लिइसके । आमाबुबाको ठाउँ युटुब र गुगल र अनलाइनले लिइसके ।

जेसुकै होस् , आज मलाई आमाको खूब याद आइरहेको छ । आफू जन्मेको, हुर्केको त्यो घर, खेलेको आँगन, रमाउँदै उकाली ओराली गरेको त्यो गाउँको याद आइरहेको छ । सबैभन्दा बढी त माघेसक्रान्तिको बिहानै अँगेनाको छेउमा भित्ताको आड लागेर आमाले हिजोबेलुकी कटौरामा खुदोसङ्गै मलेर जमाएर राखिदिएको घ्युखट्टे बल्लतल्ल नङ्ग्राले कोपर्दै खाँदै गरेको सम्झना आइरहेको छ र त्यही स्वादको कल्पनामा एक्लै हराइरहेकी छु । न आमा छन् मसङ्ग, न छोराछोरी नै ।

धेरै सम्झेकी छु आमा हजुरलाई ! थाहा छैन अब फेरि कुन जन्ममा भेट हुने हो ।

कत्ति थकाइ लाग्दैनथ्यो है आमा रातको जूठोभाँडा सकेपछि खट्टे भुटेर खुदो र घ्यु मोली छवटा अलगअलग कटौरामा जमाएर राखिदिंदा ? बिहान सबैले एउटा एउटा कटौरा पाएपछि झगडै साफ ! कति मायालु, कति विवेकी मेरी आमा !

आमा ! अहिले त न घ्युखट्टे मीठो लाग्छ न खिर्चो । किन थाहा छ ? किनकी यो सब खान दिने हजुरका मायालु हात छैनन् नि ! साँच्ची आमा ! यस्तो बिलौना लेखेर हजुरको आत्मालाई दुखी बनाउने मेरो उद्देश्य हुँदै होइन । आज यस्तो लागिरहेछ, हजुर यहीँ कतै, मेरै वरिपरि हुनुहुन्छ र भन्दै हुनुहुन्छ- खाऊ बा ! जे छ मीठो मानेर खाऊ !! म तिमीसङ्गै त छु नि !!!

(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button