आचार्य आलोचनामात्र होइन, प्रशंसा पनि उत्तिकै गर्छन्
खासगरी संवैधानिक मामिलामा यो वा त्यो पक्ष नभनी स्पष्ट तर्क र तथ्यमा आधारित भएर आफ्ना विचार निर्भिकतासाथ राख्ने संविधानविद् भीमार्जुन आचार्य आलोचनामात्र होइन, विषयका आधारमा प्रशंसा पनि उत्तिकै गर्छन् । यो नियमिततामा पछिल्लो उहाहरण थपिएको छ । यति बेला संसद् भंग प्रकरणमा आलोचनाको सम्भवत् सबैभन्दा शक्तिशाली स्वर प्रस्तुत गरिरहेका ‘ओपिनियन लिडर’ आचार्यले प्रधानमन्त्री केपी ओलीको जबरजस्त प्रशंसा गरेका छन् ।
उनले लेखेका छन्, ‘कानून र संविधानमाथि प्रधानमन्त्री केपी ओली र उहाँको सरकारले गरेका तमाम हर्कतमाथि मेरा असहमति छन् । तर, प्रधानमन्त्री ओलीले हालसालै भारतीय मिडियाका लागि दिनु भएको अन्तर्वार्ताको म उच्च सम्मान गर्छु । देशको सार्वभौमिकता र स्वाधीनताको सम्मान र प्रतिरक्षा गर्नु हरेक नागरिक र राज्यका पदाधिकारीको कर्तव्य हो । प्रधानमन्त्री ओलीले अन्तर्वार्तामार्फत यो कर्तव्य पूर्णरुपमा पालना गर्नु भएको छ । अरूको उस्काहटमा नलागेर कानून-संविधान र आफ्नो विवेक अनुसार उहाँ चल्न सक्नु भएको भए वा उहाँलाई चल्न दिइएको भए मुलुकले उहाँमाथि सधैं गर्व गर्न सक्थ्यो । उहाँ निकटस्थ कतिपय चाटुकार र लम्पटहरूले उहाँलाई कानून र विवेक अनुसार चल्न दिएनन् । जसबाट आज स्वयम् प्रधानमन्त्री र सिंगो मुलुक प्रभावित हुन पुगेको छ ।’