
अर्को एउटा महाभूकम्प जाने अवस्था थियो तर जमीनमा हैन, मेरो जीवनमा

भूकम्प र पराकम्पहरु
सरिता शर्मा
शैलीले भेट्ने मन गरिन् । केहि बेरपछि हामी सङ्गै थियौं । अस्ति कुरा गर्दागर्दै अधुरो रहेको थियौं । उनले मलाई हेरिन् अनि बोल्न सुरु गरिन् ।
अरूले के भन्लान् ? को निरन्तर ध्वनिले अत्यन्तै विचलित गराइरहेको थियो । यस्तोमा केही आफन्तहरु त मेरो समस्याको निकासको रूपमा मेरो जीवनको अन्त्यको कामना समेत गर्न थालिसकका थिए । कहिलकाहीँ त आफैंलाई पनि यो भूमरीको हल त्यहि अन्त्य नै हो कि जस्तो लाग्न थालिसकको थियो । म आफूले आफैलाई प्रश्न सोध्ने गर्थें, म किन जीवित छु अझै ?
बारम्बार यो प्रश्नले घोचिरहँदा पनि कुनै उत्तर मिल्दैनथ्यो । जीवन सारै कठिन र निरस हुँदै थियो । एक दिन एक महिना जस्तो, एक हप्ता एक वर्ष जस्तो लामो लाग्थ्यो । कसैसँग बोल्न मन नलाग्ने, भेट्न मन नलाग्ने । व्यक्तिगत हेरचार समेत गर्न मन नलाग्ने । मोबाइल फोन अधिकांश समय बन्द गरेर राख्थें । कसैको फोन आएको देख्दा पनि हेरिरहन्थेँ, उठाउन मन नलाग्ने ।
जीवनको पहिलो प्रेम र सर्वप्रिय साथी अक्षरसँग समेत रमाउन सक्दिनथेँ । जीवनमा एक प्रकारको यस्तो शान्ति छाएको थियो कि त्यो शान्तिलाई के नाम दिने ? मुर्दा शान्ति ? शम्सानघाटको शान्ति ? सुनामीअघिको शान्ति ? या महाभूकम्पअघिको शान्ति ?
नेपालमा महाभूकम्प आएर गएको केहि बर्ष बितिसकेको थियो । त्यत्रो बबण्डर मच्चाएर, बर्षौंदेखिको संरचनाहरुलाई तहसनहस् गरेर, सर्वत्र अस्तब्यस्त गरेर गएको महाभूकम्पको असरलाई पनि समयक्रमले सामान्य गराउँदै लगेको थियो । सम्पूर्ण अस्तित्वकै अवसान जस्तै गराएको भूकम्प पछि फेरि जनजीवन सामान्य बन्दै गएको थियो । भूतकालमा परिणत भएर अनुभवको एक हिस्सा भएको थियो । महाविनाशपछि फेरि नवसंरचनाहरु निर्माण हुँदै थिए, नवसिर्जनाका रेखाहरू कोरिदै थिए । भूकम्पबाहेक अन्य केहि चर्चा नगर्नेहरु नयाँ विषयबस्तुमा ब्यस्त र अभ्यस्त हुँदै थिए । भूकम्पलाई नै सर्वश्वको अन्त्य ठान्नेहरू नयाँ दैनिकीमा रमाउँदै थिए । कहिलकाहीँ भूकम्पको बारेमा चर्चा त चल्थ्यो तर केहि बेरमा नै कुराकानीको विषयवस्तु अर्कैतिर मोडिन्थ्यो ।
अब अर्को एउटा महाभूकम्प जाने अवस्था थियो, तर जमीनमा हैन मेरो जीवनमा । मेरा लागि यो महाभूकम्प नै थियो । किनकी तीन दशक पूरानो संरचनाको अवशान हुँदै थियो । बाहिरबाट झलक्क हेर्दा सलक्क र टलक्क देखिने त्यो संरचना बर्षौदेखि धमिरा लागेर लगभग खोक्रो भैसकेको थियो । धमिरा निवारण गर्न नखोजेको होइन तर आफनो सम्पूर्ण प्रयास निरर्थक भइसकेपछि त्यो खोक्रो संरचना ठड्याई राख्नु भनेको आफूले आफैलाई छल गर्नु झै थियो । अरूले के भन्लान् ? भन्ने त्रासले बेला बेलामा रंग रोगन र इनामेल पालिस गरे पनि त्यसलाई मजबूत गर्न सक्ने कुनै सम्भावना बाँकी थिएन । खोक्रिएको संरचनाभित्र बसिरहनु भनेको कुनै पनि बेला अकाल मृत्युलाई निम्त्याउनु जस्तै थियो । त्यसैले, संरचनाभित्र रहेका सबैलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेपछि अब आइपर्ने जस्तोसुकै परिस्थितिलाई पनि स्वीकार र सामना गर्न मानसिक रूपमा आफूलाई तयार गरेँ । त्यसपछि त्यो सम्बन्धहिन सम्बन्धको संसारमा भुकम्प आयो ।
यो भूकम्पले पूरानो संरचनाको त अन्त्य भयो नै, त्यसपछि आएका पराकम्पहरुले पनि निकै तरङ्ग ल्याई रह्यो । मलाई थाहा छ, पराकम्पहरु जीवनभर आइरहने छन् । तर मक्किएको संरचनामा बसेर सुरक्षित छु भन्ने भ्रमबाट मुक्ति दिलाइदियो । अनि पूरानो शरीर र अनुहारमा नयाँ अस्तित्वका साथ पुनर्जन्म लिने र आफ्नै सोच र शैलीमा जीउने मौका प्राप्त भयो ।
यति भनेर शैली मलाई हेरेर मुसुक्क हाँसी, उसको मुहारमा मुस्कान देखेर म पनि मुसुक्क हाँसे ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)