पल शाह र सन्दीप लामिछानेको समाचारले मभित्र ‘मानवता’ हरायो !

चिरञ्जिवी काफ्ले

घटना मसँगको पनि हैन
घटना ऊसँगको पनि हैन
घटना तपाईंसँगको पनि हैन
तर, घटना जोसँग जतिबेला पनि घट्न सक्छ ।

झमक्क साँझ । सडकमा कोभन्दा को कमको दौडमा हेडलाइटको बत्ती बालेर सबै खाले सबारी साधन तँछाँड र मछाँड गरेर दगुरिरहेका छन् । यस्तो लाग्छ कि एक छिन ढिला भयो भने ठूलै उपलब्धि हातबाट उम्कन्छ । म पनि त्यही दौडमा हुन्छु ।

अलि पर एक जना युवती सडकपेटीमा एक्लै उभिएर आफूलाई पछि पारेर अघिल्तिर दौडदै गरेका एक एक सवारी साधनलाई रोक्न दुई पाइला अघि सर्दै हातले इसारा दिँदै गर्थिन् । सायद उनलाई पनि कहीँ पुग्नु थियो । उनी एक्लो हुनुको पिडा बुझ्ने त्यो ब्यस्त सडकमा कोही थिएनन् । एक एक गरी सबैखाले सवारी साधन उनलाई त्यही व्यस्त सडकको पेटीमा एक्लै छोडेर कुदिरहेका देखिन्थे । सायद उनीसँग पनि धेरै खाले सवारीमध्ये कुनै एक साधन हुन्थ्यो भने ढिलो छिटो जसरी भए पनि त्यसै गरी कुदिरहेकी हुँदिहुन् जसरी अरु कुदिरहेका छन् ।

विवश छिन् विचरी, कोही उनको छेउमा उभिएर ऊतिर नहेरी दिनाले । पटक पटक दुई पाइला अघि सर्दै हात उठाउँदै फेरि दुई पाइला पछि सर्दै पहिलेकै ठाउँमा उभिदै । यो दृश्य त्यो साँझमा मेरो सवारी साधनको हेडलाइटको प्रकाश उनीसँग ठोकिंदा म देखिरहेको छु ।

मलाई लाग्यो, यति धेरै सवारी साधन गइरहेका छन्, एक न एकले रोकेर उनलाई सहयोग गरिदिको भए के बिग्रन्थ्यो ? मलाई लाग्यो, मानवता भन्ने कसैसँग छैन, सकिएछ । यति बेलासम्म मेरो सवारी साधन पनि तिनै युवतीको छेउमा पुग्यो । अरुलाई झैं मलाई पनि रोक्न खोजिन् । मभित्रको मानवता बाहिर निस्केर उनलाई सहयोग गर्न के खोज्दै थियो, त्यसै बेला पल शाह र सन्दिप लामिछानेबारे समाचारले मभित्रको मानवतालाई रोकेर खबरदारी गर्दै खुरुखुरु आफ्नो बाटो लाग्न भने ।

आ, जेसुकै होस् भनेर म पनि त्यसै गरी कुदिरहें जसरी अरु कुदिरहेका थिए । तपाई पनि त्यसै गर्नु है !


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button