पठाओ भन्दै छोरी त शंकर सरको बाइकमा सरर

लघुकथा: बहाना

शान्ता तिम्सिना
भक्तपुर, सिर्जनानगर

छोरीले अफिसमा मिटिङ छ छिटो जानुपर्छ भन्दै पठाओ बोलाई र लुसुक्क हिँडी । बेलुका ढिलो घर फर्की ।

आमाले सोधिन्, ‘किन ढिलो आएकी ?’

‘मिटिङ ढिलो सुरु भयो आमा’, छोरीले स्पष्टीकरण दिँदै भनी ।

अर्को दिन पनि ‘साथी बिरामी भएकी छ, म पठाओमा तुरुन्तै अस्पताल पुगेर आउँछु’ भन्दै घरबाट छोरी निस्की ।

प्रत्येक दिन एउटा न एउटा कामको बहाना पार्दै छोरी घरबाट निस्कन्थी र अफिसबाट पनि सधैँ ढिलो घर पुग्ने गर्थी ।

आमालाई सधैँ झुट बोलेरै टार्दै गइ । कहिले साथीको जन्मदिन, कहिले मिटिङ, कहिले जाम एउटा न एउटा बहाना बनाउन सिपालु ।

‘आज अफिसले वनभोजको कार्यक्रम आयोजना गरेको छ, हामी गोदावरीमा भेला हुने भनेका छौँ । मलाई छिटो पुग्नु छ’ भन्दै आमाको अगाडि नै पठाओ चढेर वनभोज तिर हुइँकिई ।

रात परिसक्यो, छोरी घर फर्किन । आमालाई चिन्ता पर्‍यो । छोरीकी साथीलाई फोन लगाइ ।

साथीले अचम्म मान्दै भन्दै थिई, ‘आमा ! ऊ त सधैँ शङ्कर सरको बाइकमा पो जाने आउने गर्थी त !’


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button