
आमाले मनाएको तीज मेरो स्मरणमा
कविता: तीज
लक्ष्मी रायमाझी
विराटनगर
आमाले
मनाएको तीज
मेरो स्मरणमा
ताजै छ
मैले
मनाउँदै गरेको तीज
मसँगसँगै
हिजो आजै छ
समय सँगसँगै
दृष्टिकोण
बदलिएको छ
सुविधा
थपिएको छ
रौनकताको
रम्झमभित्र
अलि निकै
शृङ्गार थपिएको छ
मान्यतामा विशेषता
उस्तै उस्तै छन्
यो पनि सत्य हो
स्वाद
र मीठासको के कुरा
परिकारका असर हुन्
खुशी
र संवेदनाको सम्मिश्रणमा
सात डाँडा भदौरे भेल
उर्लेको खोला
धमिलो पानी
चेली
माइतीको अनमोल मेल
सासु बुहारीको खट्पट
आमा छोरीको माया
हिजो पनि थियो
आज पनि छ
त्यसमा थप्घट त
केवल सोचाइ
बुझाई मात्र हो
यदि फरक छ भने
सायद
हिजोको जे थियो
मौलिक थियो
आजकोमा बनावटी
मिसिएको छ
बाँकी तीज महिमा
गुनगान
हिजोको तीज सम्झनलाई
तीजकै दिन आउनु पर्थ्यो
अरु दिन
उसलाई सम्झिन
आमा
दिदीबहिनीहरूले
मेलापात
घाँसदाउरा भुल्नुपर्थ्यो
जुन कुरा
त्यो समयका लागि
अपराध थियो
आज युगले
कोल्टे फेरेको छ
भित्तेपात्रोले
पहिले नै सम्झाई दिन्छ
हरेक कुरा
योजनामा हुन्छ
यो समयको विकास हो
उत्पीडन
र उन्मुक्तिको निकास हो
आज अगाडि बढेका
धेरै यस्ता कुरा छन्
जसलाई रोक्न
न व्यक्तिले सकेको छ
न राज्यले सकेको छ
मात्र हामी
सचेत नागरिकको
विचारमा
भर परेको छ
आजको मसँगको तीज
र मेरो आमाले
मनाएको तीज
हृदयङ्गम गर्नक लागि ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)



