विश्वेस्वर र म

कविता

रञ्जना निरौला

म सुम्निमा, शारीरिक प्रेमको व्याख्या गरे निवस्त्र,
कपालमा फूल सिउरिएर
म पूलोमा, आदर्शभित्र पनि शरीरकै माया गरें,
वेदवेदान्त पढेर
ईन्द्रमाया म,
तिनै मोढमा भौतिकतालाई सर्वोपरी ठाने परिस्थितिलाई जीतेर
चन्द्रवदन भै शृङ्गारिएं
आन्तरिक चाहलाई झल्काउँदै भ्यालमा बसेर
विश्वेस्वर ! तिमी मानवीय जिजीविषलाई कला प्रदान गर्ने कलम र
मानवीय जीवनेच्छालाई व्याख्या गर्ने म तिम्रो पात्र,

नरेन्द्रसंग कहिल्यै गुनासो राखिन, म गौरी !
नरेन्द्रलाई सबैथोक ठाने माने र छोडें पनि, म मूनरिया !
हिटलर र यहुदिका मोढहरूमा किसोरी , बयस्क र सुन्दरी
समय अघिनै परिपक्व भएं र मात्र वर्तमानमा बाँचे म
डालो भरि माछा बोकेर बेच्दैहिडें अतृप्त आशा लिएर
माहाभारत देखि वर्तमान सम्म
प्रतिक्षामा मरणोपरान्त थाकिन म,
बाबु र छोराको बीचमा आमा बनेर पिल्सदै ढाकें नियम
नियतिको सामु केही बोलिन म ,

अचेतन मनका अन्तरद्वन्दलाई तिम्रो कलमको नीवले टिपेर कुद्यो
संगसंगै म पनि कपिएं शब्दशब्द भै
जीवन र जगतका आन्तरिक यथार्थलाई कला बनायौ,
म सौन्दर्य भएं
मेरो परिवेशलाई प्रतीक बनायौ अनि
म ब्याख्या भएं
नियती नियती को स्वीकारोक्तिमा तिम्रो बिचारले समर्पण गर्यो
त्यसको परिणति म विवस र बाध्य पात्र भएं,

व्यत्तित्व निर्माणका पक्ष र वृतिहरूमा मनको अवस्थाको महत्व दर्शायौ
मनोलोकीय विश्लेषणमा मेरै अन्तरकुन्तर छाम्यौ
अनि त म मधेशतिर दौडिएं, श्वेतभैरवी बनी उफ्रिएं
पवित्रा, दुलहि, सखी, प्रेम आदि भित्रकी म
आफैंले आफुलाई बिर्सिएं, तर्सिएं र रिसाएं
मानवीय संवेग र द्वन्द्धको तिम्रो खोजाइमा
म स्वभाविक प्राप्ति भएं,

साहित्यको नयाँ आकासका, नवीन आयामको प्रारम्भमा
स्वर्णिम आभायुक्त तिमी रवी र म किरण भएँ
फ्रायडीय बिख्यात चिन्तनलाई भित्र्याउने
तिमी साधन र म माध्यम भएं

निजी परिवेश, संस्कार र संस्कृतिका शृङगारमा
मेरो शरिर र मनोलोक सजाएर
मिश्रणको संयोगमा जीवन्त बनेकीछु म तिम्रा शव्दशव्दभरी
अमर बन्यौ तिमी मलाई पनि अमर अमर बनाएर

आज शतक बितेछन तिमी मरेर बाँचेको
आज बरसौं बितेछन तिमी संगै म हांसेको
अनन्त सम्म तिमी नक्षत्र बनिरहने छौ
र चम्किरहनेछु म तिमी संगै किरण बनेर
अभिन्न तिमी र म तिम्रो विचारको नियती भएर
आज तिम्रो स्मृतीमा तिमीसंगै मलाई पनि संझिएर
तिमीले शब्दमा सजायौ र
तिमीलाई पनि सजाए कवितामा अटाएर !!


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button