
जापानबाट एक नेपालीको उत्प्रेणात्मक आत्मकथन
पुरा भएको मेरो एउटा सपना
विमल गाउँले
ठूलाचौर, गुल्मी, हालः जापान ।
भनिन्छ मान्छे समयको बन्दी हो । समय थियो सन् २०१२ जुलाई । म फुकुओका शहरको एउटा क्याम्पसमा अध्ययन गर्ने मौका पाएर जापान आइपुगेको थिएँ ।
जापानको भाषा, संस्कृति नितान्त फरक थियो । पहिलो चोटि म नेपालबाट अन्तराष्ट्रीय हवाई जहाज़ चढेर थाइल्याण्ड हुँदै जापानको फुकुओका आइपुगेँ । जहॉ घना बस्तीका साथै ब्यवस्थित शहर, बाटो, पुल र शहरको यताउता सफा नदी बगिरहेका देखिन्थ्यो । म तिनै खोला नाला, आधुनिक घर, बाटो, पुल, आफै खुल्ने, बन्द हुने ढोका, ठूला ठूला सुपरमार्केट, जापानको व्यस्तता, जापानीहरूको संस्कृति, अरूप्रतिको सहयोगी भावना र उनीहरूको दयालु भाव देखेर तिनछक् पर्थें र मनमनै सोच्थेँ, मेरो देश पनि आफ्नै किसिमको सुन्दर त छ तर जापानजस्तो विकसित कहिले हुने होला ?
यस्तै यस्तै कौतुहुलताबीच फुकुओका एयरपोर्टबाट बाहिर निस्कनासाथ क्याम्पसबाट मेरो स्वागतका लागि प्रोफेसरहरू पुष्पगुच्छा लिएर उभिनु भएको रहेछ । मलाई देख्नासाथ हात मिलाउँदै स्वागत गर्नुभयो । त्यसपछि म उहाँहरूको साथमा क्याम्पसको होस्टेलतिर लागेँ ।
अर्को दिन क्याम्पसमा सबै नयाँ विद्यार्थीहरूको लागि स्वागतको कार्यक्रम थियो । म पनि सहभागी भएँ । विभिन्न देशबाट मजस्तै सपना बोकेर अध्ययनको लागि आउनु भएका धेरै साथीहरू देखेँ तर नेपालबाट भने म मात्रै थिएँ ।
फरक बोली, फरक भाषा, फरक संस्कृति, फरक भेषभुषा र फरक कार्यशैली तर उद्देश्य भने एउटै थियो ।
दिनहरू होस्टेल, क्याम्पस र कहिलेकाहिँ शहरको विभिन्न दृश्य अवलोकन र खोज अनुसन्धानमै बित्ने गर्थे । लाग्थ्यो, जापान त अमेरिका वा अन्य विकसित देशभन्दा पनि विकसित, सभ्य, शिष्ट मानिस, सहयोगी भाव र नयॉ टेक्नोलोजीका साथै सुक्ष्म अनुसन्धानमा पनि अगाडि नै छ । वास्तवमा जापान अन्य विकसित देशको दाँजोमा कम छैन पनि ।
यसैक्रममा क्याम्पसको पढ़ाई सकाएर कुनै व्यवसाय गर्ने निधो गरेँ र जापानको राजधानी टोकियोमा बसाई सरेँ । फुकुओकाभन्दा सबैकुरा ठुलो र अनौठो लाग्ने खालका थिए ।
२-३ दिनको होटल बसाईपछि आफ्नै एउटा कोठा लिएर बसेँ । दिनदिनै के गर्ने होला भनेर सोच्न थालेँ ।

समय बित्दै थियो । एकदिन खाना खान इन्डियन रेष्टुरेन्ट पुगेँ । रेष्टुरेन्टका मालिकले रेस्टुरेन्ट बिक्री गर्ने सोच छ भनी कुराकानी गर्दैगर्दा मेरो मनमा त्यसै बखत धेरै कुराहरू खेल्न थाले । त्यो दिन खाना खाएर फर्किएँ र मनमनै मैले पनि व्यवसाय गर्ने सोच बनाएँ । तर सोच मात्रैले सपना पूरा गर्न कठिन थियो । त्यसका लागि म १, २ दिनपछि खाना खाने बहानामा सोहि रेष्टुरेन्ट गएँ । त्यसै बखत मेरो मनको सबै कुरा सुनाएँ । अन्तिममा कुरा मिल्यो र भोलि नै कम्पनी खोलेर रेष्टुरेन्ट व्यवसायी बन्ने सोचसँगै निवासतिर फर्कें ।
मसँग चाहिने सबै पैसा त थिएन तर आँट भने ठूलै थियो । मसँग भएको पैसा र आफ्न्तबाट केहि ऋण लिएर व्यवसाय सुरू गरेँ । अहिले व्यवसायी भइसकेको छु ।
इच्छाशक्ति भए हरेक कुरा सम्भव हुन्छ भन्ने प्रमाणित गरेको छु ।
प्रयास गरे के सम्भव छैन भनेजस्तै, सोचेजस्तै म पनि जापानको सुन्दर शहरमा एउटा नेपाली व्यवसायी बनेको छु ।
जिन्दगीमा केहि गर्नु पहिले सपना देख्नु पर्छ,
उद्देश्य पुरा गर्न निरन्तरता पनि जारी राख्नुपर्छ,
एक दिन अवश्य पूरा हुन्छ नै भने जस्तै मेरो पनि पुरा भयो
तपाईंले पनि प्रयास जारी राख्नुस्, सफलता अवश्य मिल्नेछ ।
…
(नमस्कार ! एउटा कुरा भनौं है, तपाईं पनि लेख्नु न । जीवन र जीवनसँग सम्बन्धित कुनै पनि कुरा लेख्नु । नेपालनाम्चा तपाईंको मिडिया साथी त हो । र, nepalnamcha@gmail.com यसको इमेल हो । यही इमेलमा आफ्नो परिचय, फोटोसहित आफ्ना मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)