मरुभुमिमा सिन्चित पसिनाले सुन फल्छ, हाम्रो हरियाली पाखाभित्तामा हिरा

सायुसुसन राई ‘चरन’
सुनसरी, हालः दोहा, कतार ।

सुनसान एकान्त बालुवाको शहर कर्मथलो उसको । पर क्षितिजको निलो आकाश अनि धुलाम्मे उजाड मरुभूमिका ससाना पोथ्राहरुसँग मितेरी लाउँदै निस्सन्देह आफ्नो कर्ममा लगनशील परिश्रमी हातहरु । अनि विभिन्न उपकरणहरुसँग त्यो बिरानो ठाउँमा बिरानो भाषा अनि संस्कृतिमा रमाउँदै आफ्नो मनमा मीठो भविश्य सजाउँदै विभिन्न वसन्तहरु कटाइरहेका देशका अदक्ष युवाशक्ति परदेशमा दक्ष भै निरन्तर कर्मशील भै चिल्लो सडकका टिलपिल बत्तीहरुमा आफ्नो सुनौँलो भविश्यको मीठो सपना सजाउँदै चुर्ल्लुम्म पसिनाले भिजेका डाङ्रीलाई हेर्दै रमाइरहेका ती कर्मयोगी मानवलाई हेर्दै लामो सुस्केरा लिने एक व्यक्ति । कथित सुस्केरा लिइ छेउमा भएको टुमलेट बाट ४५-५० डिग्रीको घामले स्वाद नै हराइसकेको पानीले आफ्नो गला भिजाउँदै अनि निधारको पसिना पुछ्दै घन्टा अनि दिन हुँदै महिना बिताइ रहेको हुन्छ ।

यसरी आफ्नो करार अवधि गन्दै छुट्टिको मीठो पर्खाइमा क्षितिजपारी रहेको आफ्नो जन्मथलोको हरियाली पाखा भित्तालाई अनि घर परिवारलाई सम्झिदै क्षणिक टेलिफोन बार्तालाप गर्दै भन्दछ, अब आउँदो दशै सँगै मानौँला । बालबच्चा र घरगाउँको सबैलाई सोध्दै मीठो सपना देखाई ठिक्क पार्ने बिचरा कर्मयोगी, आफ्नो मनलाइ सम्हाल्दै पुनः लालबालहरुलाइ सम्झदै एकान्तमा सुँक्कसुक्क गरी आफ्नो मनको भारीलाइ आँशुले पखाल्दै पुन फेरि भोलिको सुर्योदयसँगै फेरि आफ्नो कर्मलाई निरन्तरता दिने कर्मयोगी देशका अदक्ष जनशक्ति तर परदेशमा दक्ष भै कर्मशिल हुन्छ ।

यसरी आफ्नो कर्ममा तल्लीन मान्छे । अब त्यस मरुभुमिमा रहने त्यहाँका स्थायस् बासिन्दाको अचम्मको संस्कृतिलाई देख्छ अनि सोच्दछ । गगनचुम्बी महलमा बस्ने एउटा सानो बालकलाई हेर्दै छक्क पर्छ । बिचरा ती अबोध बालक चिल्लो मार्बल ओछ्याइएको घर अनि वरिपरि नोकर र चाकरले ओतप्रोत बालकलाई के थाहा जङ्गलको बसाइ । बिचरा के गरोस्, परम्परादेखि चलिआएको रिती मान्नै पर्यो । ४५, ५० डिग्रीको तातो बाफलाइ कृतिम चिसो एयर कन्डिसन (एसि)को चिसो हावामा बस्ने बालकलाई कठ्याङ्ग्रीने चिसो प्राकृतिक हावा अनि शहरभन्दा कोशौ टाढा उजाड मरुभुमिमा टेन्टको बास बस्दा कठै ।

मार्बल ओछ्याइएका चिल्लो घरको बसाइ अनि त्यो मरुभूमिमा भएको बालुवासँग उसको प्रगाढ सम्बन्ध अनि उसको मानसपटलमा घुमिरहेका बालमनस्थिती । ऊ के सोच्दै होला ?

कर्ण शाक्यको एउटा तीतोसत्यवाला भनाइ मेरो मानसपटलमा घुमिरहन्छ । अमेरिका बस्ने नेपालीको सन्तान नेपाल जानसाथ बिरामी पर्ने अनि त्यही अमेरिकाको नागरिक नेपाल आउदा बिरामी नपर्ने ? के ती अमेरिकनहरुभन्दा माथि उठेका छन् त ती प्रवासी नेपालीहरु ? शाक्यको यो मीठो अनि तार्किक भनाइलाई आत्मसाथ गर्दै ती गगनचुम्बी महल र नोकरचाकरले सबै काम गरिदिने बालकलाई सम्झदै अनि त्यस्तो उराठ र उजाड मरुभुमिमा ४-५ महिना बिताउने बालकले पाएको शिक्षा अनि हाम्रा प्रवासी नेपालीको बच्चालाई दिइएका शिक्षा साथै जनावरहरुको सङ्गत साँच्चै नै कर्मयोगी शिक्षा छ भन्ने मेरो मानसपटलमा तर्कवितर्कहरु भइरहन्छ ।

त्यसैले कयौ जीवनका प्रहर अनि वसन्तहरु पार गरिन्छ भने आफ्नो कर्मशील परिश्रमी हातहरु अनि नयनबाट बहेका अश्रुरुपी जलहरुले अवश्य नै सुनौला भविस्य अनि दक्ष छु भन्ने अनुभुतिहरु गराइरहन्छ । तर, तिनै बाकलको कठोर शिक्षालाई हेर्दा अनि ती व्यक्तिका दक्षतालाई हेर्दा साँच्चै नै रुखो अनि उजाड मरुभुमिमा सिन्चित पसिनाले सुन फल्छ भने हाम्रो हरियाली पाखाभित्तामा हिरा फल्नेछ भन्दै ती परिश्रम र दक्षतालाइ मेरो सम्मान छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button