कतारबाट कालीलाई रामेको पत्र

जीवन भुजेल
दोहा, कतार ।

मेरा प्रिय !

मलाई थाहा छ काली ! ‘कस्तो दाजु होलान् मेरो बारेमा केही पनि चिन्ता छैन भनेर सोचिरहेकी छौ’ ।

तँ त मेरो मनमा छस् । तँलाई कसरी भुल्न सक्छु ? मेरी एक्ली प्यारी बहिनी, तेरो आउँदो माघमा बिहे । त्यो निर्णयले मलाई साह्रै खुसी तुल्याएको छ ।

आमा ! म आएर कालीको बिहे बाजा बजाएर सारा गाउँलेलाई भतेर खुवाएर गर्ने ल । मेरै हातबाट अन्माएर बिदा गर्ने छु । अस्तिसम्म मेरो हात समाएर स्कुल गएको अझै मलाई हिजो जस्तो लाग्छ ।

काली ! कति ठुली भई सकिस् पत्तो छैन । बुबा आमाको ख्याल राखेस् है । काली यसपाली आउँदा तलाई मन पर्ने गुलाबी रङको सलवार लिएर आउछुु अनि तेरो सबै साथीहरुलाई मेरो दाइले परदेशबाट ल्याइदिएको भनेर देखाउनु । आमालाई धेरै ढिकी जातो गर्न नदे ल ।

बुबाको खोकी पनि बढेको छ भन्ने सुनेको थिएँ । ख्याल गर्नु होला है आमा ।

अहिले यहाँ लगभग तीन लाख नेपालीमध्ये पाँचसय मेरै कम्पनीमा छन् । सबै साथीहरु यहाँ दिन रात, घाम पानी अनि दुख कष्ट नभनी काम गरिरहेका छन् । सबैको कुरा सुन्दा मन साह्रै भारी भएर आउँछ । अनि आफु छोरा मान्छे भन्दै मन दरो पारेर हाँस्ने गरेका छन् । नेपालीहरु आफ्नो पहिचान विदेशी भूमिमा पसिनाले दिइरहेका रहेछन् ।

कोरोना पनि ठुलो रोग बनेर आएको छ । सबैलाई सावधानी अपनाउन भन्नुहोला । बाहिर धेरै ननिस्कनु होला । जानै परे राम्रोसँग हात साबनले छोएर मात्र घरभित्र पस्नु होला । यो रोगले स्वाशप्रश्वास एवम् प्रतिरक्षा प्रणालीमा असर गर्छ । त्यसैले पनि धेरै सावधानी अपनाउनुपर्छ । बाहिर जाँदा अनिवार्य मास्कको प्रयोग गर्नुहोला ।

हामी यहाँ सबै सकुशल छौँ । अहिलेसम्म कसैलाई पनि केहि भएको छैन । अवस्था छिट्टै साधारण हुन्छ । यो साल त म जसरी पनि आइहाल्छु नि । चिन्ता कसैले पनि नलिनु होला । बाँकी आएर सबै कुरा गरौँला । अहिले मेरो नाचिरहेको कलम अनि मेरा भावनाहरूलाई यहि थाती राख्दै बाँकी अर्को पत्रमा लेख्ने वाचा गर्दछु । साथै हजुरको स्वास्थ्यको कामना गर्दछु ।

उहि हजुरको छोरा रामे
दोहा, कतार ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button