बच्चालाई खाना खुवाउने पास्नी भद्राईको काल !
चरी-चर्चा
जय भण्डारी
खेतबारी, रुख, काँडाघारी वा बुच्का
झाडीभित्र लुक्छ अनि डुल्छ टुप्पा टुप्पा
चतुर बोली, तीक्ष्ण बुद्धि सर्वभक्षी भद्राई
भाग्यमानी बन्छ मान्छे चुच्चोले भात खुलाई ।
एशियका अधिकाँश देशहरु (विशेष गरी दक्षिण तथा दक्षिण पूर्वी एशियाका देश) हरुमा पाइने भद्राई नेपालमा चाहीसमुन्द्र सतहदेखि लगभग १५० देखि ३००० मी सम्मको उचाइसम्मका अधिकांश ठाउँहरुमा पाईने गरको छ ।
खेतबारी, बुट्यानहरु तथा काँडाका झाडीहरुमा यसको बासस्थान रहेको हुुन्छ । यो रुख तथा झाडीका टुप्पाहरु तथा तारहरुमा बस विव्–विव्–विक्, च–दित र चिर्पिङ्, गुएर्लेक्–गुएर्लेक्, र यँओउ–यँओउ गरी कराउँछ भने किरा, चरा, चराको अण्डा, माछा, सर्प, छेपारो, उभयचर, गङ्गटो र फलफूलहरू खाएर जिउँछ, जियाउँछ ।
यसको एउटा गज्जबको बानी के छ भने एकैचोटी खान वा निल्न नसक्ने चिज बिशेष गरी सर्प, मुसा र भ्यागुताहरुलाई कुनै रुखका हाँगा, चोईटा वा चोकेमा बगरेले झैं उनेर राख्छ र पल पल वा समय समयमा फारु गरी मस्तसँग खान्छ ।
मानिसहरुको संस्कृतिसँग यसको सम्बन्ध जोडिएको छ । समाजका सौखिनहरु आफ्ना बालबच्चाको पास्नीमा भद्राईको चुच्चोको माथिल्लो भागले खाना खुवाउने गर्दछन् । पास्नीको अवसरमा भद्राईको चुच्चाले खाना खुवाउँदा बालबालिकाहरु चतुर र बिद्ध्वान हुने विश्वास गरिन्छ । यही चलनले गर्दा भद्राइको संख्या दिनानुदिन घट्दै गइरहेको छ । चरा अवलोकनका क्रममा केही समयअघि नागदह जाँदा त्यहाँका स्थानियसँग चराहरु र यिनको अवस्थाको बिषयमा छलफल गर्दा यो कुरा उठाएको पनि थिएँ ।
हाम्रा कतिपय रितीरिवाज, संस्कार र संस्कृतिले अरुको जीवनमा हानी नोक्सानी पनि हुने गर्दछ । यो बुझ्न जरुरी छ, हाम्रा संस्कार र संस्कृति पनि बचुन् र जगतका अन्य जन्तु तथा पंक्षीहरु पनि ।
(सत्यकथा, कथा, लघुकथा, कविता, मुक्तक, दैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)