स्मार्ट् लकडाउन, स्मार्ट् डायरी !

ब्राह्मणपुत्रको लकडाउन डायरी–५०
भरत शर्मा

‘चुनौती हाम्रो श्वास हो
दृढता हाम्रो लक्ष्य हो,
विपत्ति आउने छ जब
मातृभूमि हाम्रो सर्वस्व ।’

चिनियाँ सङ्गीतकार चुु फैख्ह्वाले रचना गरेको गीतको नेपाली अनुवाद हो यो । महामारीमा अग्रपंक्तिमा खटिएका चचियाङ स्वास्थ्य टोलीको निम्ति रचना गरिएको थियो । गतबर्ष चीनमा कोरोना महामारीका समयमा यो गीत निकै चर्चित भयो ।

नेपालमा कोरोना महामारीका दोस्रो लहरपछि सरकारले लकडाउन घोषणा गरेको आज ५० दिन भयो । पछिल्लो निर्णयअनुसार ७ असारसम्म लकडाउन जारी छ । त्यसपछि पनि सरकारले ‘स्मार्ट लकडाउन’ गर्ने तयारी गरेको छ । यो स्मार्ट लकडाउन भनेको के हो ?

नेपाल बन्द, आम–हडताल, नाकाबन्दी, तालाबन्दी आदि शब्दबाट परिचित हाम्रा लागि यो लकडाउन र अब हुने स्मार्ट् लकडाउन नयाँ शब्दजाल हुन् ।

‘लकडाउन’ कहाँबाट शुरु भयो भनेर खोज्दै चीनतिर फर्के । सन् २०२० को जनवरी २३ तारिखको बिहान १० बजे चीनको हुवेई प्रान्तको उहानमा पहिलोपटक लकडाउन शुरु भएको थियो । विहान २ बजे उहानका जनतालाई स्थानीय सरकारले सूचना पठाएको थियो ।

सार्वजनिक यातायात, बस, सुरुङमार्ग, डुङ्गा र लामो दूरीका यात्रु सेवा, बाहिर जाने हवाई जहाज, रेलहरु स्थगित हुनेछन् । यी सेवाहरु अर्को सूचना नआएसम्म बन्द हुनेछन् ।

कोरोना महामारी शुरु भएको उहान शहरमा जारी लकडाउनको पहिलो सूचना थियो यो । उहानमा ८६ दिनसम्म कडा लकडाउन गरिएको थियो ।

उहान चीनको प्रमुख एक सहर थियो । उहानबाट चीनको राजधानी पेइचिङ, सङ्घाई, छोङछिङ शेन चेन र हङकङलगायतका शहरसँग द्रुत गतिको रेलले पाँचघण्टा र विश्वका अन्य देशमा सिधा उडान हुने निकै चलाउनमान शहर थियो उहान शहरमा ‘लकडाउन’ गरिएको छ भन्ने सुनेको हो हामी सबैले ।

उहानबाट देखिएको कारोना र त्यहाँबाट शुरु भएको लकडाउन यात्राले विश्व यात्रा ग¥यो । नेपालमा गतबर्ष पहिलो चरण र अहिले दोस्रो चरणको महामारीमा अबलम्बन गरेको पहिलो काम ‘लकडाउन’ भयो ।
लकडाउन गरेको ५० दिन भइसक्यो । अझै स्मार्ट् लकडाउन भन्दै छ हाम्रो सरकार ।

होइन, चीनले कोरोना महामारी र लकडाउन गरेर कसरी महामारीविरुद्व कार्य गरेको रहेछ भनेर विगततिर फर्कदै दुई पुस्तक हेर्न थाले ।

चीनको विदेशी भाषा छापाखानाले प्रकाशित गरेको पहिलो चिनियाँ भाषा पुस्तक नेपाली भाषामा अनुवाद भएको छ ।

१) कोरोना भाइरसविरुद्वको लडाइँमा चीन

२) साहस र दृढ सङ्कल्पका कथाहरुः कोरोना भाइरसले बन्दी बनेको उहान

यी दुई अभिलेखमूलक पुस्तक पढ्दा र पछिल्लो समय चीनले महामारीविरुद्व हाँसिल गरेको सफलताको कथा पढेर खुसी हुँदैछु आज ।

लकडाउन डायरीको विगत ५० दिनमा नेपाल–भारत र चीनको दर्शनीय स्थल, पर्यटन, साहित्य, संस्कार, संस्कृति, यात्रा र मानिसका दुःख सुखका कुरा लेखेँ । अब स्मार्ट लकडाउन डायरी लेख्नु छँदैछ ।

आज ५० औं दिनको यात्रामा सुखको कुरा लेख्छु भनेर बिहानैदेखिको योजना मुताविक यी दुई पुस्तक र चीनलाई सम्झदै छु ।

सन् २००६ मा पहिलो पटक चीन पुगेको थिएँ । त्यसपछि पटक–पटकको यात्रा पछि सन् २०१९ एक बर्ष चीनमा बित्यो । २०२० जनवरी १५ तारिख चीनको युनान प्रान्तको खुमनिङबाट नेपाली समय चार बजे काठमाडौं ओर्लिएको थिएँ ।

त्यतिबेलासम्म कोरोना महामारी र लकडाउन भन्ने केही थिएन । तर, खुमनिङ्ग विमानस्थलमा मानिसहरु मुखमा मास्क लगाउनचाहिँ थालेका थिए । मैले पनि हनानबाट १४ जनवरीको रात १० बजे राति फर्कदा मास्क लगाएर फर्केको थिएँ ।

मैले तातो कपडाको मास्क लगाएको थिएँ । मैले मास्क लगाउनुको कारण चिसोबाट बच्न थियो । म बसेको शहर लोयाङ्गमा पुरै हिँउबर्षा भएको थियो । सकडभर हिँउको थुप्रो थियो । विमानस्थल आउँदा दायाँबायाँ सडकभर हिँउमात्र थिए । चिसोले शरीर काँपेको थियो । सानैमा भारतको तातोमा बसेको, नेपालको सुन्दरतामा रमेको शरीरले हनान प्रान्तको चिसो थेग्न सकेको थिएन् । प्रा.डा वाङचुङले विश्वविद्यालयबाट विदाई गर्दा मास्क लगाउन अनुरोध गरेका थिए । १४ जनवरीसम्म कोरोना र मास्कको कुनै हल्ला थिएन चीनमा ।

चीनबाट फर्केको ८ दिनपछि २३ जनवरी विहान चीनबाट प्राध्यापक वाङचुङ र अन्य मेरा मित्रहरुले विच्याटमा भने, ‘चीनमा एउटा महामारी देखापरेको छ, उहान शहरमा लकडाउन घोषणा गरिएको छ ।’ २३ जनवरीमा सुनेको महामारी र लकडाउन शब्द अहिले सामान्य भइसक्यो ।

मास्क लगाउन थालेको १७ महिना पुरा हुँदैछ । अहिले त घरमा बस्दाबाहेक बाहिर निस्कँदा मास्क पहिलो शर्त भएको छ ।

अहिले चीनले कोरोना महामारीविरुद्वको युद्वलाई परास्त गरिसकेको छ । जनसंख्याको तीनभाग अर्थात ८० करोड भन्दा बढी मानिसले कोरोना विरुद्वको खोप लगाइसकेका छन् । उहान पुरानै लयमा फर्केको छ । चीनमा अहिले स्वास्थ्य मापदण्डको पालना नियम छ तर कोरोना महामारीमा चीनले जीत हाँसिल गरिसकेको छ ।

चीन हामीले सोचको जस्तो छैन । चीन हामीले देखेको जस्तो पनि छैन । चीनले के गर्न खोजेको हो, त्यो पनि कसैले भन्न सक्ने जस्तो छैन । सरकार कम बोल्ने, काम धेरै गर्ने गर्छ । ‘हाम्रो सरकारले हाम्रो लागि काम गर्छ र सरकार हाम्रो भगवान’ भन्ने भरोसा छ त्यहाँका जनतामा । सरकारको काम जनताको सेवा, सुविधा र जनतालाई खुसी र सुखी बनाउने मात्र हो भन्ने नीतिबाट बनेको छ ।

तपाईंहरुले चीनको बारेमा अलि बढी भयो कि भन्न पनि सक्नुहुन्छ । मैले जे देखेँ, त्यति लेखेँ ।

कोरोना महामारीविरुद्व चीनको केन्द्रीय र प्रान्त सरकार एक भएर एउटै नीति लिएर अघि बढे । सरकारको निर्देशन अनुसार लकडाउन र स्वास्थ्य मापदण्डको पालना भएको कारण चीनल छिटो सफलता पाएको हो ।

चीनमा नियम कडै छ । नियम पालना नगर्ने हो भने कारवाही पनि कडै हुन्छ । त्यहाँ ठूला साना भन्ने छैन । प्रशासन र सरकार कडा छ । त्यसैले जनता सरकार र प्रशासनको नियम पालना नगर्न डराउँछन् ।

हाम्रो जस्तो सडकमा प्रहरीसँग झगडा गर्ने हिम्मत चिनियाँको छैन जस्तो लाग्छ । भारतमा कोरोनाविरुद्वको खोप लगाउन गाउँ पुगेको स्वास्थ्थकर्मीलाई कुटेको तस्वीर चिनियाँ सामाजिक सञ्जालमा फैलिएको थियो ।

चीनको बखान गर्नुको कारण छ । चीन सरकार र चिनियाँ जनताले कोरोना महामारीलाई परास्त गरेर आफनो लयमा फर्केको महिनौं भइसक्यो ।

माथिका उल्लेख गरिएका दुई वटा पुस्तकमा यस्तै दुःख र सफलताका कथा लेखिएको छ । चीनको केन्द्रीय सरकारले उहानमा लकडाउन भएको दिन महामारीविरुद्व लड्न प्रान्त सरकारलाई १० करोड आरएमबी (एक रुपैयाँ चिनियाँ बराबार १८ रुपैयाँ नेपाली हुन्छ) सहयोग घोषणा गरेर महामारीविरुद्व अगाडि बढेको चीन । र, ८६ दिनपछि चीन प्रमुख राष्ट्रपति सी चिनपिङले उहान भ्रमण गरेका थिए ।

उहान भ्रमणपछि राष्ट्रपति सीले भनेका थिए, ‘कुनै पनि अग्नि परीक्षाले चिनियाँ राष्ट्रको स्वाभिमान तोडन सकेको छैन । प्रत्येक परीक्षा पार गर्दै हामी झन्झन् विशाल र बलियो बन्दै माथि उठिरहेका छौं ।’

सीको यो छोटो भनाइमा धेरै तथ्यहरु लुकेको छ । अग्निपरीक्षा, स्वभिमान, बलियो हुने र उत्साह लिएर अघि बढ्ने मनोबल भरिएको छ ।

आज हाम्रो सरकारले गरेको निर्णयले पनि हामी नेपालीको मनोबल बढेको छ । हाम्रो सरकारले पनि राम्रो काम भन्दै तपाई पनि खुसी हुनुहोस् ।

खुसी नम्बर १ः खोप खरिद

नेपाल सरकारले चीनबाट कोरोना महामारीविरुद्वको ४० लाख खोप किन्ने निर्णय गरेको छ । यसअघि चीन सरकारले दिएको १८ लाख ‘भेरोसेल’मा थप ४० लाख डोज किनेर २० लाख नेपाली जनतालाई खोप लगाउने प्रयासलाई सलाम गर्नु नैं पर्छ ।

सरकारले अमेरिकाको जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख खोप ल्याउने तयारी गरेको छ ।

यसअघि भारतबाट २० लाख खोप किन्ने निर्णय गरेर रकम समेत दिइसकेको नेपाल सरकारले १० लाख खोप मात्र पाएको छ । भारतमा महामारी फैलिएपछि भारतले अन्य देशलाई खोप नदिने भनेपछि नेपालले पनि १० लाख खोप नपाएको हो ।

पहिलो डोज ‘कोभिशिल्ड’ लगाएका हजारौं नेपाली नागरिक दोस्रो कहिले होला भनेर कुरेर बसिरहेका छन् ।

सरकारले भनेको छ, ‘अब यसै हप्ता चीनमा १० लाख खोप ल्याउने छ, स्मार्ट् लकडाउन गर्दै खोप अभियान पनि शुरु गर्नेछ ।

खुसी नम्बर २ः किसानलाई मल

किसानलाई अर्को खुसीको खबर छ, सरकारले चीन र बंगलादेशबाट रोपाइँ गरेपछि खेतमा राख्नुपर्ने विकासे मल आयात गरेर छिट्टै वितरण गर्दैछ ।

खुसी नम्बर ३ः स्मार्ट् लकडाउन

लकडाउन–लकडाउन खेपिरहेका बेला स्मार्ट् लकडाउन कस्तो हो ? यस्तै स्मार्ट् लकडाउन कहिलेसम्म चल्ने हो ? हेरौं, सकारात्मक सोचौं । पछिल्लो दिनमा कोरोना संक्रमितको संख्या र मृत्युलोक जानेहरुको संख्या पनि घट्दो छ ।

(सत्यकथाकथा, लघुकथा, कविता, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button