संस्कृत पढिएन, यही छ पछुतो

ब्राह्मणपुत्रको लकडाउन डायरी–४७
भरत शर्मा

‘यस घडी लाग्दै छ, अंग्रेजी पछि पढे पनि हुँदोरहेछ, संस्कृत भाषा त अक्षर आरम्भसँगै पढ्नु पर्ने रहेछ । धेरैमध्येको एउटा विशेष पछुतो जीवनको’, निबन्धकार युवराज नयाँघरेले हिजोमात्र आफनो फेसबुक स्टाट्समा लेखे ।

निबन्ध लेखनमा अब्बल युवराजको यो अभिव्यक्तिले एक मन निकै खुसी र अर्को मन दुःखी पनि बनायो । मैले हर्दासम्म नयाँघरेको स्टाट्समा १४ जनाले कमेन्ट गरेका थिए । त्यसमध्ये नवराज न्यौपानेले लेखेको छन्, ‘मलाई पनि त्यस्तै लाग्दैछ हजुर ! संस्कृत ६ र ७ कक्षामा मात्र पढियो ।’

नवराज बोहोरा लेख्छन्, ‘एकदम मनको कुरा ! संस्कृत संसारको जेठों भाषा । धेरै भाषाहरुको स्रोत । यसलाई बीएसम्म अनिवार्य गर्नु पर्ने हो ।’

रामचन्द्र सुवेदी लेख्छन्, ‘सत्यम् बचनम् अग्रज ।’

नवराजद्धय र रामचन्द्रबाहेक अन्य पाठकहरुले नयाँघरेका भनाईमा सहमति जनाएका छन् ।

भाषा बोल्न, लेख्न, पढ्न र सुन्न मात्र बनेको माध्यम होइन । भाषा हाम्रो चिनारी पनि हो । भाषा सबैको साझा सम्पत्ति पनि हो । त्यसको उपयोग र संरक्षण गर्ने हो भने त्यो त सभ्यताको पहिचान पनि हो । संस्कृत भाषा सनातन भाषा हो । यसभित्र अथाह ज्ञान छ । कलिकालको गृहस्थ जीवनभर पढेर, जानेर र सिकेर नसक्ने भाषा ‘संस्कृत’ नै हो ।

वेदमा एक लाख मन्त्रहरु छन् । त्यसमध्ये ८० हजार कर्मपरक, १६ हजार उपासनापरक र ४ हजार मन्त्र ज्ञानमा आधारित छन् ।

वेद शब्दको उत्पत्ति संस्कृतको ‘विद’ धातुबाट भएको हो, जसको अर्थ ज्ञान हुन्छ । संस्कृत साहित्यमा ज्ञान र विद्याको वाचक नै वेद हो भनिएको छ । मानव जातिको प्राचीन इतिहास, मानिसको सामाजिक नियम, मर्यादा, सदाचारको आधार नै वेदलाई मानिँदै आएको छ ।

विद्वानहरुले भनेका छन् ‘ईश्वरको श्वास हो वेद ।’ संस्कृत भाषाको कुरा गर्दा सबैभन्दा पहिले जान्नु पर्ने विषय वेद नै हो । त्यसैले सनातनीहरुको आस्थाको केन्द्र भनेको वेद हो ।

पशुपति क्षेत्र मृगस्थलीमा चन्द्रेश्वर सत्तलमा स्वामी प्रपन्नाचार्य (काले राई)ले वेद र संस्कृत भाषाको महत्वबारे घण्टौंसम्म प्रवचन दिने गरेका थिए । कयौं पटक उनको प्रवचन सुन्न गएको थिएँ । उनमा निकै सरल तरिकाले वेद र संस्कृत भाषाको बारेमा बुझाउने कला थियो । नेपाली भाषामा ‘वेदमा के छ’ भन्ने पुस्तक प्रपन्नाचार्यले लेखेका छन् । पुस्तकमा वेदभित्रका ज्ञानहरुलाई सरल र सहज नेपाली भाषामा बुझिने गरी लेखिएको छ ।

‘धर्म, अर्थ, काम र मोक्ष चारै पुरुषार्थ जीवनमा प्राप्त गर्ने हो भने संस्कृत भाषा र वेद पढनु पर्छ‘, त्यतिबेला प्रपन्नाचार्यले भनेको कुरा हो, ‘वेद र संस्कृत भाषा भनेको कुनै हिन्दू–आर्य र ब्राह्मणको मात्र होइन, समस्त भूमण्डलमा बस्ने सम्पूर्ण मानव जातिको यो पहिलो शब्द हो ।’

वेद शब्द ज्ञान पनि हो, विज्ञान पनि हो । यो कसैबाट लेखिएको पनि होइन, अपौरुषेय वेदलाई देववाणी पनि भनिन्छ । वेदमा दुई प्रकारको सुख र आनन्द उल्लेख छ, जसलाई अभ्युदय र निःश्रेयस भनिन्छ ।

आजको डायरीमा वेदको कुरा गर्न खोजेको होइन, संस्कृत भाषा साहित्यको कुरा गर्न खोजिएको हो । तर, संस्कृतको कुरा गर्दा वेदका कुरा नगर्ने हो भने फेद नभएको रुख जस्तो हुन्छ । ऋग्वेद, यजुर्वेद, सामवेद, अर्थववेद चार वेद छन् । आयुर्वेद, धनुर्वेद, गन्धववेद, स्थापत्यवेद चार उपवेद छन् ।

संस्कृत शिक्षामा षट्शास्त्रहरु शिक्षा, कल्प, निरुक्त, ज्योतिष, छन्द र व्याकरण छन् । १ सय १२ उपनिषद, १८ पुराण र ४६ उपपुराणलगायत संस्कृतमा लेखिएका हजारौं ग्रन्थहरु छन् ।
संस्कृत पढ्न थाल्ने हो भने सय बर्षको आयुले पुग्दैन । कलियुगमा मानिसको अल्पायु नै छ । बेलाबखत आइरहने प्राकृतिक विपत्ति र महामारीसँग बचेर पनि संस्कृतमा सबै ज्ञान लिन मुश्किल छ ।

संसारमा मानिसका आ–आफना मातृभाषाहरु छन् । हामी नेपालीले बोल्ने भाषा नेपाली हो । तर, सबैको भाषाको जननी संस्कृत हो भन्ने मान्यता छ । अङ्गेजी, रुसी, चिनियाँ, अरबी, हिन्दी आदि सबै भाषामा संस्कृतको प्रभाव परेको छ ।

निबन्धकार नयाँघरेले जस्तै संस्कृत भाषा अध्ययन गर्न नपाएको पछुतो गर्नेहरु धेरै छन् । अङ्ग्रेजी भाषा बरु पछि पढ्न सकिन्छ तर विद्यालय र उच्चशिक्षासम्म संस्कृत पढ्ने र पढाउने हो भने समाज सुसंस्कृत र देशमा समृद्वि हुने थियो । मानिसको सोचाई र जीवन पद्वतिलाई संस्कारित बनाउने शिक्षा दिने भाषा हो संस्कृत ।

साहित्यभित्रको रस, माधुर्य, कला, गला, सबै शुद्व र पवित्र बनाइदिने संस्कृत भाषालाई शासकहरुले आगो लगाए । ‘जनयुद्वता’का संस्कृत भाषा पढाउन हुँदैन भन्दै संस्कृत साहित्य जलाउने नेता देशमा प्रधानमन्त्री भए । यस्तो ‘विधर्मी’ शासकहरुलाई कति गाली गर्नु ! यिनीहरुलाई ‘रौरव’ नामको नरककुण्डमा लगेर कारवाही गरेको हामीले देख्न त पाउँदैनौं होला । तर, कामना गरौं, यस्ता पापीहरुलाई संस्कृत साहित्यमा लेखिएको २८ नरक यात्रा होस् भनेर कामना गर्नुबाहेक केही छैन् ।

हामी संस्कृत भाषाका कुरा गर्दै थियौं । निबन्धकार नयाँघरेले गरेको जस्तै पुछतो म पनि गर्दैछु । त्यसैले उनले लेखेका यी शब्दले मलाई निकै भावुक बनायो । त्यसैले आजको डायरीको विषय नै यही चुनेको हुँ, सम्पादकज्यू ।

तपाई हिजो भन्दै हुनुहुन्थ्यो, ‘लकडाउन थप हुँदैछ, अब तपाईले लेख्ने विषय भनेको संस्कृत साहित्यभित्रका कथा हुन् ।’

आज यस्तो पो लेखेँ ।

लकडाउन यात्रामा तपाईले मलाई एउटा प्रश्न कहिल्यैं सोध्नु भएन, ‘तपाई आफूलाई के कुरामा दुःखी भएको ठान्छुहुन्छ ? तपाई सधै खुसी देखिनुहुन्छ, कहिलेकाहीँ दुःख हुने विषय के हो ?’
उत्तरः मैले जीवनमा कुनै पछुतो छ भने संस्कृत भाषा, साहित्यलाई छिचोल्न सकिन भन्ने मात्र छ । अहिले पनि संस्कृतको छात्र हुँ, केही जानेको छैन तर सिक्ने जाँगर छदैछ । श्रीमद्भागवत महापुराण पाठ गर्न थालेको ११ बर्ष भयो । सयभन्दा बढी आवृत्ति भए होलान् । अझै त्यसको भावलाई सङ्गहित गर्न नसकेकोमा पछुतो छ ।

धर्तीमा बाँच्ने अधिकार भएसम्म साधना गर्ने इच्छा छ । जीवनमा निबन्धकार नयाँघरे र मैलेजस्तो संस्कृत अध्ययन गर्न नपाएको पछुतो गर्ने सबैजना यो कुरालाई सही भनेर सहमत हुनसक्नु हुन्छ ।

नेपालनाम्चाका सम्पादक पनि बेलाबेलामा संस्कृत भाषाका मन्त्र सुन्दा आनन्दित भएर होला, कुनै मन्त्र पढेर सुनाएँ भने ‘फेरि एकपटक’ भनेर दोहोर्याउन लगाउँछन् ।

मन खोलेर भन्न नसकेको मात्र होला, सम्पादक अशोक सिलवाल पनि संस्कृतका मन्त्र पढ्न नपाएको/नसकेकोमा दुःखी छन् ।

(कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button