हाम्री आधुनिक आमा अब केवल सम्झनामा

विश्वराज अधिकारी

मेरी आमा, सावित्री देवीले कसैले भनेको यो वाक्य “धर्म कर्म डाँडामा चामल हाल्छु भाँडामा” सुन्नु भएको थियो र बेला बेलामा यो वाक्य भन्ने गर्नु हुन्थ्यो । यो वाक्य उहाँले भन्नुको आशय हुन्थ्यो( म कर्ममा विश्वास गर्छु तर आडम्बरी धर्ममा विश्वास भने गर्दिन । यो कारणले पनि होला मेरी आमाले कहिले पनि आडम्बरी धर्म मान्नु भएन । सामान्य धर्म, संस्कार मान्नु भयो ।

२०६२ सालमा उहाँका पति (मेरो पिता) देवराज उपाध्यायको देहान्त भयो । बिधुवा भएपछि उहाँले सेतो लुगा लगाउनु भएन । उहाँलाई रङ्गिन लुगाहरू मन पर्थ्यो । आमाको मृत्यु (जेठ ९ गते, २०७८) पूर्वसम्म पनि रङ्गिन लुगाहरू नै उहाँका पहिरन रहे । विधुवाहरूले सेता लुगा लगाउनु पर्छ । चुरा पोते लगाउनु हुँदैन भन्ने धार्मिक विश्वासको उहाँ विरोधी हुनु हुन्थ्यो ।

विधुवा भएपछि पनि, धार्मिक कट्टरताको विरोध गर्दै आमाले लहसुन प्याज खानु भयो । माछा मासु खानु भयो । सार्वजनिक स्थान र विशेषगरी भोजभतेरमा उहाँलाई माछा, मासु खान असजिलो लाग्थ्यो । कारण के थियो भने उहाँले माछा मासु खाएको देखे पछि धेरैले उहाँको उपहास, उहाँकै सामुन्ने गर्थे । खासगरी धर्ममा कट्टरताका साथ विश्वास गर्ने महिलाहरू र विशेष गरी विधुवाहरूले उहाँले मासु खाने गरेकोमा बढी चाँसो राख्थे । कसैले सामुन्नेमा त कसैले पछाडि उहाँको आलोचना गर्थ्ये । यो कारणले गर्दा पनि कुनै भोजभतेरमा मैले आमालाई साथमा लगेको बेलामा उहाँलाई दिएको खानाको प्लेटमा मासुलाई अन्य खानेकुराहरूले छोपिदिन्थ्ये । मैले त्यस्तो गर्छु भन्ने उहाँलाई थाहा थियो ।

सहजतामा विश्वास गर्ने मेरी आमाले बिधुवा(जीवन व्यतित गर्दा खाने र लगाउने कुराहरूमा आफ्नो धार्मिक विश्वास हामीमाथि कहिले लाद्नु भएन । जे दियो त्यो खानु भए, जे दियो त्यो लगाउनु भयो ।

हामी चार दाजु भाइ उहाँलाई बेलाबेलमा विभिन्न् स्थानाम भ्रमण गर्न लग्थ्यौ । स्थाइ वसोबासको रुपमा काठमाडौमा बसेता पनि बेलमा बेलामा हामी आमालाई अमेरिका ल्याउने गर्थ्यौ ।

एकपटक मैले उहाँलाई (सन् २०१५ तिर) मेरो साँहिलो भाइ बस्ने शहर टोरन्टो ९क्यान्डा० लग्ने योजना गरे । म बसेको स्थान ओक्लहोमा (अमेरिका) बाट टोरन्टोको उडान समय झण्डै पाँच घण्टाको थियो । हबाइ जहाजमा चढ्नु पर्ने, उत्रिनु पर्ने, सेक्युरिटी चेक, कानूनी प्रकृया ९इमिग्रेसन आदि० आदि जस्ता कार्यहरू गर्न उहाँको पहिरन साडीले असजिलो पर्ने हुँदा मैले उहाँलाई पैन्ट सर्ट लगाउन अनुरोध गरें । आधुनिकता र सरलतामा विश्वास गर्ने मेरी आमा सँधैभरि साडी लगाउन आफ्नो बानीपरित्याग गरेर पैन्ट सर्ट लगाउन तयार हुनु भयो । आजिवन चोलो, पेटिकोट, साडी लगाउने मेरी आमा पेन्टी, पेन्ट, सर्ट लगाउन तयार हुनुभयो र त्येही आधुनिक परिहनमा टोरन्टो पुग्नु भयो । टोरन्टोका विभिन्न स्थानहरूको भ्रमण समेत पनि गर्नु भयो । ८० वर्षको उमेरमा पैन्ट र सर्ट लगाएर टोरन्टो शहरको भ्रमण गर्नु भयो ।

आमा टोरन्टोमा हुँदा नै एक दिन, शनिवार साँझ हामी दुई भाइ (मेरो साँहिलो भाइ) वाइन खाँदै थियो। आमालाई प्रशन्न राख्नु पर्छ भन्ने मेरो विचार स्वरुप आमालाई मैले एक ग्लास (सानो) वाइन खान दिएँ। आमाले सोध्नु भयो, ‘के हो ?’

मैले जवाफ दिएँ, ‘आमा, अँगुरको रस हो ।’

आमाले पुनः प्रश्न गर्नु भयो, ‘खाए हुन्छ ?’

‘हुन्छ ।’

आमाले वाइन खानु भयो र एक घण्टा जति त्यसको नसामा मस्तसङ्ग सुत्नु भयो ।

आमा उठेपछि उहाँले मलाई गाली गर्नु होलाझै लागेको थियो तर त्यस्तो भएन । उहाँ प्रशन्न मुद्रमा देखिनु भयो । आमाले वाइन मन पराउनु भएछ, मैले अनुमान गरें । यो घटनापश्चात उहाँले एक दुई पटक पुनः वाइन खानु भयो ।

मेरी आमाको विवाह भने धार्मिक-उदार परिवारमा भएको भने होइन । पर्सा जिल्लाबाट विवाह भएर रौतहटको छतौना भन्ने गाउँमा जाँदा आमाको उमेर १२ वर्षको थियो र उहाँले घरबाट निस्किंदा मुख नदेखिने गरी हरेक दिन घुम्टो तान्नु पर्थ्यो। उहाँका ससुरा कट्टर पण्डित हुनु हुन्थ्यो । एकपटक, १२ वर्षे उमेरका मेरो पिता जनकपुरको मेलाबाट फर्किदाँ हाफ पैन्ट लगाएर घर फर्केका थिए । रहरमा परेर पहिलो पटक हाफ पैन्ट लगाउन पुगेका थिए । हाफ पैन्ट लगाएर घर पस्न थालेका मेरा पितालाई उनका पिता (मेरो हजुरबा)ले घर भित्र पस्न दिएनन । छोरा (मेरा पिता) लाई घरको नजिक रहेको बाग्मती नदीमा लगेर, स्नान गराएर, बालुबा ख्वाएर, गौदान गर्न लगाएर, पूर्ण रुपमा चोख्याएर मात्र घरभित्र पस्न दिएका थिए ।

आमा ८५ वर्षै उमेर बाँच्नु भयो । सुन्तुष्ट भएर आधुनिक जीवन बाँच्नु भयो । धर्मान्धताका अनेक बोझहरुले थिचिएर बाँच्नु भएन । र त्यसरी बाँच्न हामी परिवारका सदस्यहरूले उहाँलाई सहयोग गरे ।

मेरी आमाको बयान गर्नका लागि, उहाँलाई महान् देखाउनका लागि मैले यी शब्दहरूको सृजना गरेको भने होइन । मेरो यो आलेखको उद्देश्य भने विधुवा महिलाहरूले स्वन्त्र भएर बाँच्न पाउनु पर्छ भन्ने सन्देश प्रवाह गर्नु हो । उनीहरूले आफ्नो इच्छा अनुसार जीवन निर्वाह गर्न पाउनु पर्छ भन्ने विचारलाई जन समक्ष राख्नु हो । हाम्रो देशमा अहिले पनि धर्मान्धता छ । विधुवाहरूको जीवन कष्टकर छ । विधुवाहरूले विवाह गर्ने चलन शून्य वराबर छ । तर, यस्तो चलनमा भने सुधार आउनु पर्छ । हामीले हाम्रो पुरातन सोचमा परिवर्तन ल्याउनु पर्छ । पुरुष र महिलाले समान किसिमले जीवन निर्वाह गर्न पाउनु पर्छ । महिलाहरूको बिधुवा-जीवन सरल हुनु पर्छ ।

(तपाईं पनि आफ्ना कविता, कथा, लघुकथा, मुक्तकदैनिकी, संस्मरण, लेख आदि नेपालनाम्चाको इमेल nepalnamcha@gmail.com मा पठाउनु होला ।)

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button