प्रशान्त महासागरमा क्रुजयात्रा

डा.विष्णुबहादुर जीसी

६७ वर्षको उमेरमा हिँडिरहँदा आजको दिनसम्ममा मैले नसोचेका धेरै विषयवस्तुहरूले प्रभावित पारेको छ मेरो जीवन चक्रलाई । यही चक्रमा अहिले अस्ट्रेलियाको लामो बसाई र यी बसाइका प्रत्येक क्षणहरू, ठाउँहरू, क्रियाकलापहरू हाम्रो लागि अनपेक्षित तर स्मरणीय बनेका छन् । यसमध्ये क्रुजयात्रा पनि एक हो । क्रुजयात्रा ठूलो पानीजहाजमा रमाइलो, आराम, दृश्यावलोकन, र विभिन्न क्रियाकलापहरू समाविष्ट यात्रा हो । भूपरिवेष्ठित मुलुकका बासिन्दा भएको हैसियतले अधिकांश नेपालीहरूलाई क्रुजयात्रा एवं सामुद्रिक बहार र आनन्दको ज्ञान र अनुभव नहुनु स्वभाविक नै हो । त्यसैले पनि सामुद्रिक बहारको अनुभव गर्ने केही नेपालीहरूमध्ये म पनि एकजना थपिएको प्रसङ्गमा विषयवस्तु र सन्दर्भलाई उजागर गर्नु, उदृत गर्नु मेरो लागि खुसीको विषय बनेको छ ।

प्रशान्त महासागर संसारकै सबभन्दा गहिरो र ठूलो महासागर हो । पृथ्वीको करिब एक तिहाई भाग ओगट्ने यसको पश्चिमतर्फ एसिया र अस्ट्रेलिया अवस्थित छन् । हामीहरू भने अस्ट्रेलियाको राजधानी सिडनीबाट क्रुजयात्रा सुरु गरी तेस्रो दिनमा टाङ्गालुमा मोरेटन आइल्यान्ड पुगेर पाँचौं दिनमा सिडनी फर्केपछिको अवस्थामा यो मेरो यात्रा स्मरण गर्ने प्रयत्न हो ।

काठमाडौँबाट सिडनी आइपुगेको दशौं दिनमा हामीहरू क्रुज यात्राका लागि सिडनीको आकर्षक केन्द्र हार्बर ब्रिज क्षेत्रमा पुग्दा P & O नाम गरेको एक विशाल क्रुजले यात्रुहरूलाई कुरिरहेको थियो, जसमध्ये हामीहरू एकै परिवारका छ जना पनि यो क्रुजका यात्रुहरू थियौँ । क्रुजभित्र प्रवेश गर्न लामबद्ध सयौं मानिसहरूको बीचमा हामीहरूले पनि आफ्नो पाइलाहरू अगाडि बढायौं । पासपोर्ट लगायतका चेकिङहरू पार गर्दै यात्रु सेवाको लागि खटिएका कर्मचारीहरूको सहायतामा क्रुजसम्म पुग्न हामीलाई सजिलो भयो । चेकिङ गर्ने क्रममा हामीहरुलाई आआफ्नो कोठाहरूको साँचो ( एटिएम जस्तै कार्ड ) उपलब्ध गराइएको थियो । यो विषयमा ठूलो छोराले पनि यात्रा सुरु हुनु अघि केही ब्रिफ गरेको थियो ।

१७ वटा डेक अर्थात् तला भएको यो विशाल क्रुजको आठौं तलामा म र बिमलालाई ८६११ नम्बरको कोठाको साँचो उपलब्ध गराइएको थियो भने छोरा बुहारीहरूको लागि छुट्टाछुट्टै कोठाहरू बुक गरिएका थिए । हामीहरू क्रुजमा प्रवेश गर्न बित्तिकै आआफ्नो कोठातर्फ लाग्यौँ । कोठामा पुगिनसक्दै हाम्रो लगेजहरू त्यहाँ पुगिसकेको रहेछ । हामीहरु पनि कार्डको प्रयोग गरी कोठाभित्र प्रवेश गरी अबको चार रात यो कोठासँग सानिध्यता बढाउने अवसर पाएकोमा खुसी भयौँ ।

कोठामा केही क्षणको आरामपछि हामीहरू लन्चको लागि १४ नम्बर डेक/तलामा पुग्यौ जहाँ इटालियन, इन्डियन, अस्ट्रेलियन, चाइनिज, कन्टिनेन्टल लगायतका खानाका परिकारहरु राखिएका थिए । यसैगरी थरीथरीका डेजर्टहरूले यात्रुहरूलाई भोजनको थप स्वाद प्रदान गरेको थियो । बच्चाबच्चीदेखि बुढाबुढीसम्मका लागि वाटरफल, वाटरपुल, स्विमिङपुल, जिप लाइनिङ, वाटर स्लाइडिङको व्यवस्था पनि १४औं तलादेखि सत्रौँ तलासम्म उपलब्ध थियो । साथै, क्रुजमा म्युजिक, डान्स, योगा, जिम, ब्युटीपार्लर, क्यासिनो, लगायत विविध मनोरञ्जनात्मक,स्वास्थ्यवर्धक, उपयोगी कार्यक्रमहरू पनि चलिरहेका थिए । समयसमयमा क्रुजका क्याप्टेनले यात्रुहरूलाई स्वागत गर्दै त्यहाँभित्र उपलब्ध गराइएका सेवा सुविधाहरूको बारेमा अनाउन्समेन्ट दिइरहन्थे । उनको भनाइ अनुसार करिब ३००० यात्रु र करिब २००० कर्मचारी गरी ५,००० भन्दा बढी यात्रुहरू सवार गरिरहेका थिए, त्यस क्रुजमा । यसै हेर्दा पनि मेरो अनुमानमा नेपालको पाँच तारे होटेल भन्दा तीन चार गुणाले बढी ठूलो थियो, यो क्रुज र यसले प्रदान गरेको सेवा र सुविधाहरु ।

“P&O” को पूर्ण रूप “Peninsular and Oriental” रहेको कुरा अनलाइन documentहरूबाट जानकारी भयो । P&O Cruises एक प्रसिद्ध क्रूज कम्पनी हो, जसले विश्वभरका विभिन्न क्षेत्रहरूमा सेवा प्रदान गर्दछ, यसमा अस्ट्रेलिया पनि समावेश छ । यसको लामो इतिहास छ; यो १९औं शताब्दीमा ब्रिटेनमा शिपिङ कम्पनीको रूपमा सुरु भएको थियो । आजकल, P&O Cruises ले विभिन्न क्रूज छुट्टीहरूको व्यवस्था गर्छ, र सिड्नी प्रमुख प्रस्थान पोर्टहरूमध्ये एक हो । हामीहरू यो विशाल क्रुजले प्रदान गरेका धेरै सेवा सुविधाहरुको उपभोग गर्न कोसिस सम्म गर्‍यौँ । त्यसैले विविध क्रियाकलापहरूमा थोरै धेरै सहभागी हुँदै, खानाहरूको परिकारको स्वाद लिँदै र सामुद्रिक मनोरम दृश्यको अवलोकन गर्दै हाम्रो गन्तव्यस्थल टुमालुङमा मोरेटन आइल्यान्डमा पत्तै नपाई तेस्रो दिनको बिहान ७ बजे आइपुगेछौँ ।

पानीजहाजलाई समुद्रमै छोडेर बिहानको ब्रेकफास्टपछि हामीहरुलाई बोटहरूद्वारा करिब ३ किलोमिटर टाढाको मोरेटन आइल्यान्डको तटमा (Beach) पुर्‍याइयो, जहाँ विविध सामुद्रिक गतिविधिहरू चलिरहेका थिए । ती गतिविधिहरूमध्ये Quad Bike Riding,प्यारासेलिङ (Parasailing), स्कुबाडाईभिङ (Scuba Diving), स्ट्यान्डअप प्याडल बोर्डिङ ( Stand up Paddle boarding), कयाक, अन्डरवाटर सी स्कुटर सफारी ( Underwater Sea Scooter Safari), Helicopter Scenic flight, Motor Boating, Fishing यात्रुहरूको प्रमुख चाहनाको गतिविधिहरूमा पर्दछन् । अब यहाँ हामीहरुले दिनभरिको समय बिताउनुपर्ने थियो । त्यसैले कान्छो छोरा विशेष सहित चारजना समुद्री तटमा पानी र बालुवामा खेल्ने विचार गरे । सानो छोरा विशेषले स्ट्यान्डअप प्याडल बोर्डिङ बुक गरिहाल्यो भने बाँकी अरुहरु स्विमिङतिर लागे ।

म आफू पहाडमा जन्मेको, हुर्केको र लाखौं रुपैयाँ खर्च गरेर हिमाल आरोहणको लागि नेपाल आएका पर्वतारोहीसँग केही संगत भएको कारणले मोरेटन आइल्यान्डको टुप्पोमा पुग्ने रहर जागेर आयो त्यसैले ठूलो छोरा विविधको साथ र सहयोगमा हाम्रो सानो टिमले समुद्रको किनारा हुँदै पहाड चढ्ने बाटो पहिल्याउन थाल्यौं । करिब आधी घण्टाको पैदल यात्रापछि पाइला अडाउने सानो गोरेटो जस्तो देखेपछि हामीहरु उकालो लाग्यौ र भुइमा लडेका रुखका हाँगाहरू समाउँदै डाँडाको टुप्पोमा पुग्न सफल पनि भयौं । यहाँबाट टाढा देखिने ब्रिस्बेन र अन्य सहरहरूको ससाना आकारलाई कुन कुन सहर कता कता परे भनेर अनुमानसम्म गर्यौ । सफा सुन्दर समुद्र, सफा क्षितिज, मनोरञ्जन दृश्यका माझमा हामी दुई बाबु छोरा यस्तो ठाउँमा बिरलै भेट्न सकिने यथार्थतालाई मैले मनभित्रै मनन गरेँ । प्रकृतिको वरदानलाई महसुस गर्‍यौं,यो क्षणमा ।

मोरेटन आइल्यान्डको आरोहणबाट फर्केपछि म र विविध पनि स्विमिङको लागि समुद्रमा पस्यौ । विशेष टाढा टाढासम्म स्ट्यान्डअप बोर्ड प्याडलिङ पछि थाकेर आराम गरिरहेको थियो भने विविध,म, र बिमला एकअर्काको नजिक नजिक swimming गर्दै थियौँ । एक्कासी बाबु बाबु भन्ने अत्तासिएको आवाज सुनियो; पछाडि फर्केर हेर्दा त्यो आवाज आफ्नै सहयात्री बिमलाको रहेछ । उनी त्यतिबेला पनि पानीमा डुब्दै उत्रदै ‘ बाबु बाबु ‘ भनिरहेकी थिइन् । हामीहरु केही टाढा भएकोले तुरुन्त त्यहाँ पुग्न सकेनौँ तर अस्ट्रेलियन आमा छोराले बिमलाछेउ पुगेर उनलाई साहस दिन र उद्धार गर्न सके । हामी सबैको प्यारो मान्छेलाई ठूलो दुर्घटना हुनबाट बचाउने सहयोगी र शुभेच्छुक ती अस्ट्रेलियनहरू र समुद्रप्रति हामीहरुले व्यक्त अव्यक्त रुपमा धन्यवाद दियौं र कृतज्ञता महसुस गर्यौ ।

यसैगरी यो क्रुजयात्राले मलाई आफ्नो परिवारसँग अन्य अविस्मरणीय समयहरु पनि बिताउने अवसर जुटाएको छ । सिडनी फर्कने क्रमको यो हाम्रो यात्राको चौथो दिन लन्च खाइसकेपछि कान्छो छोरा र मैले समुद्रको दृश्य अवलोकन गर्दै , समुद्री छालको आनन्द लिँदै P&O ले विगतमा गरेको विकासलाई नियाल्दै अबको १०० वर्षमा हुनसक्ने सामुद्रिक उपलब्धि तथा सामुद्रिक स्रोत उपयोगको उत्कृष्ट अवस्थाको कल्पनासम्म गर्न भ्यायौँ । विशाल समुद्रको अथाह क्षमता र शक्तिलाई महसुस गर्यौ । सरसर्ती संसार पुस्तकका लेखक जीवा लामिछानेले ‘ समुद्रमाथि एक रात ‘ लेखमा समुद्रको अद्भुत शक्तिलाई प्रष्टाउन खोजेका छन् । उनले प्लेटोलाई उदृत गर्दै “१० हजार वर्षअघि समुद्रको यस्तो अद्भुत शक्ति थियो जसले युरोप र अफ्रिकाका धेरै देशमा शासन गर्थ्यो” भनेका छन् । यसबाट मलाई अहिले अझ स्पष्ट भयो कि सामुद्रिक शक्ति अथाह नै रहेछ । यसैगरी हामीहरूले नेपालका विशाल हिमाल, पहाड, मधेशको विशेषता, खोलानाला, मनोरम दृश्य, संस्कृति, जनशक्ति आदि विषयमा कुराकानी गर्दै प्रकृतिको वरदान लाई उपयोग गर्न मान्छेको इच्छाशक्ति, सीप र जाँगरको त्यत्तिकै आवश्यकता रहेको वास्तविकतालाई हृदयङ्गम सम्म गरियो ।

समग्रमा क्रुज यात्रा आफैमा रमणीय त रह्यो नै साथै यसले मिठामिठा खानाका परिकारहरू, विभिन्न रमाइला क्रियाकलापहरू,रोमाञ्चित गतिविधि,पारिवारिक जमघटको अवसर,प्रकृति र साहसिक यात्रासँगको सानिध्यता र खुसीका धेरै अवसरहरु जुटाइदिएको छ । यो घुमफिरको कार्यक्रमले हामीहरुलाई व्यस्त र कोलाहाल सहरबाट टाढा, एकान्त, शान्त तर सुविधा सम्पन्न सेवाहरूको सुमधुर अनुभूत भयो । क्रुजमा कार्यरत सम्पूर्ण कर्मचारीहरू/व्यक्तिहरूको हार्दिकता तथा आतिथ्यतालाई बुहारी रिशनले विशेष प्रशंसा गरिन् भने सम्पूर्ण क्रुज टिमलाई धन्यवाद दिन हामी सबै सहमत भयौँ । काठमाडौँबाट अस्ट्रेलिया उड्न करिब एक महिना बाँकी छँदै हाम्रो जेठो बुहारी अनुसाले फोनमा कुरा गर्दै एउटा सरप्राइज दिने संकेत गरेकी थिइन् । “हजुरहरूलाई यो पटक हामीहरुले सरप्राइज दिँदै छौँ”। हामीले बुझ्यौ यो अवश्य पनि खुसीको कुरा हो । तर कौतुहलता रहिरह्यो, यो के होला ? अहिले यो लेखको बिट मार्ने अवस्थामा आइपुग्दा अझ बढी महसुस भयो कि यो त जीवन पर्यन्त सम्झन सकिने र खुसी हुन सकिने surprise रहेछ । धन्यवाद छोराहरू र बुहारीहरूलाई ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button