शर्माजी, जो चीनमा खिचडी खाइरहेका छन्

भरत शर्मा हाल चीनको युनान विश्वविद्यालयमा दक्षिण पूर्वी एसियाली भाषा विभाग अन्तर्गत भाषा विशेषज्ञका रुपमा प्राध्यापन गर्दैछन् । उनको मुल पेशा पत्रकारिता हो । भाषा साहित्यमा रुचि राख्ने शर्मा संस्कृत र हिन्दी भाषामा पनि अध्ययरत छन् । विगत एक दशकदेखि नेपालमा अध्यात्म पर्यटन व्यवसायमा लागेका छन् । सनातन धर्मशास्त्रका विषयमा खोज, अनुसन्धान र प्राध्यापन गर्ने शर्मा विद्यावारिधीका छात्र पनि हुन् । आममानिसको मिडिया साथी नेपालनाम्चाले सुरु गरेको ‘मनपरेको १०’ स्तम्भमा उनै शर्मा ।

१. तपाईंलाई सबैभन्दा मनपर्ने खाना के हो ? किन ?
मलाई मन पर्ने खाना नेपाली दाल भात नै हो । बच्चैदेखि त्यही खादै आइयो । तर, पछिल्लो समय मन पर्ने खाना खिचडी र सातु हो । यो दुवै खानाले स्वास्थ्यलाई राम्रो गर्ने भएकाले पछिल्ला दिनमा विहान सातु र बेलुका खिचडी खाएर जिन्दगी चलेको छ । विद्यार्थी जीवनमा काशीमा बस्दा पनि खिचडी, काठमाडौंमा पनि बस्दा पनि खिचडी नैं मनपर्ने, अहिले ४० लागेपछि पनि चीनमा बसेर धेरै खाने भनेको खिचडी नै हो । दाल, भात, तरकारी मसला सबै एकै ठाउँमा राख्ने र पकाउने । यसलाई जोगी खाना पनि भनिन्छ ।

२. तपाईंलाई सबैभन्दा मनपरेको ठाउँ कुन हो ? किन ?
मलाई मन परेको ठाउँ भनेको पशुपतिनाथ, मुक्तिनाथ, विश्वनाथ र जगन्नाथ हो । पशुपति र मुक्तिनाथ नेपालमा पर्छ भने विश्वनाथ र जगन्नाथ भारतमा पर्दछ । यि चार नाथहरुको दर्शन गरेर नेपालको त्रिवेणी देवघाटमा गएर दर्शन गर्दा हुने आनन्द र सन्तोष कही गएर प्राप्त गर्न सकिदैन । यि चार स्थान मेरा लागि सबैभन्दा प्रिय छन् ।

३. तपाईंलाई सबैभन्दा मनपरेको किताब कुन हो ? किन ?
मलाई सबैभन्दा मन पर्ने पुस्तक भनेको श्रीमद्भागवत महापुराण हो । किनकी, यो पुस्तक सनातन धर्मको सबैभन्दा महत्वपूर्ण ग्रन्थ हो । यसभित्र हाम्रो लागि चाहिने धर्म, अर्थ, काम र मोक्षको कुरा छन् । ज्ञानीको लागि, अज्ञानीहरुको लागि भक्तहरुको लागि र भक्ति गर्नेहरुको लागि सबैका लागि यो पुस्तकमा सबै ज्ञान भेटिन्छन् । विद्धानहरुको परीक्षा लिने ग्रन्थ पनि यही हो । त्यसैले म हरेक दिन यो पुस्तकका एक श्लोक भए पनि पढने र सुन्ने गर्छु ।

४. तपाईंलाई सबैभन्दा मनपरेको मान्छे को हो ? किन ?
मलाई सबैभन्दा मन परेको मान्छे म आफै हो । किनकी सबैभन्दा पहिले आफूले आफैलाई चिन्ने हो । आफू भलो त जगत भलो भनिन्छ नि । अपो दिपो भवः हाम्रो आफ्नो लागि आफैले गर्न हो । तपाईलाई केवल कर्म गर्ने अधिकार छ । फल दिने र प्राप्त फललाई कहाँ र कसरी उपयोग गर्ने काम पनि हाम्रो हो । त्यसैले सबैभन्दा मन परेको मान्छे म आफै हो ।

५. तपाईंलाई सबैभन्दा मनपरेको आफ्नै बानी के हो ? किन ?
मलाई मन परेको आफ्नो बानी भनेको म आफ्नो काममा निरन्तर लागिरहन्छु । त्यो काम गरेवापत के प्राप्त होला, त्यसबाट लाभ हानी धेरै सोचेर होइन, कर्म गरेपछि त्यसबाट केही न केही फल पाउने छु भन्ने आशा होइन विश्वासमा चलेको छ । आशा राखियो भने दुःख प्राप्त हुन्छ । त्यसैले आफ्नो आफ्नो दायित्व र जिम्मेजारीमा निरन्तर लागिरहने मेरो बानी मलाई मन पर्छ ।

६. तपाईंलाई सबैभन्दा मनपरेको नेता को हो ? किन ?
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सी चिनफिङ । यि दुवै नेताले सत्तामा आएपछि आफ्ना देशका जनताका लागि नाना, खाना र छानाको पक्षमा काम गरेका छन् । जनहितको पक्षको पक्षमा काम गर्ने मात्र नेता हुन भन्ने मेरो मान्यता छ । नेपालमा नेताहरुले पछिल्लो दशकमा जनताको पक्षमा काम गर्ने नेता नैं भेटिएन । त्यो चाहिँ निकै दुःखको कुरा हो ।

७. तपाईंलाई सबैभन्दा मनपरेको चाडपर्व कुन हो ? किन ?
नेपालमा मनाइने सबैजसो चाडपर्व मलाई मन पर्छ, संस्कृतिप्रेमी छात्र भएकाले । तर मलाई सबैभन्दा मन पर्ने चाड र पर्व भनेको महाशिवरात्रि हो । त्यो रात ज्ञान र साधना गर्ने रात हो । भगवान ब्रह्मा र विष्णुले प्रथम पटक ज्योतिर्लिङ्गको पूजा गरी शिवकृपा प्राप्त गरेको पावन तिथि हो महाशिवरात्रि । सनातनी हिन्दुहरुको पावन पर्व हो । ज्ञानको आरधना गर्ने रात हो ।

८. तपाईंलाई सबैभन्दा मनपरेको पेशा कुन हो ? किन ?
मलाई मन परेको पेशा भनेको सेवामूलक पेशा हो । अध्ययन, अध्यापन, यज्ञ अनुष्ठान, दान दिने र लिने, जन्मदा जे लिएर आएको छु, त्यही काममा रमाइरहेको छु ।

९. तपाईंलाई सबैभन्दा मनपरेको रंग कुन हो ? किन ?
मलाई सबैभन्दा मन पर्ने रंग रातो र पहेलो हो । रातो रंग उर्जा भरिएको हुन्छ । पहेलो रंग मेरो जन्मदाको राशि अनुसारको रंग हो । यो दुवै रंगमा दुख र सुख दुवै पाइन्छ । रातो क्रान्ति अर्थात् दुःख पहेलो शान्ति अर्थात् सुख दुवै रंग प्यारो लाग्छ ।

१०. तपाईंलाई सबैभन्दा मनपरेको गीत कुन हो ? किन ?
मलाई गीत भन्दा पनि भजनतिर अलि बढी मन जान थालेको छ । चालिस टेकेपछि गीत भन्दा पनि भजनमा मन जान थालेको हो । गीत संगीत र बाँसुरीको धुन मन नपराउने व्यक्ति कमै भेटिन्छन् । तर म अहिले बाँसुरीको धुन, भजनको शब्द र राधा र कृष्णको प्रेममय गीत र भजनमा आनन्द प्राप्त गर्दैछु । यो सबै समयको खेल हो ।


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published.

सम्बन्धित समाचार

Back to top button