झरनाः नेपाली प्रोफेसरको नायगरा नोस्टाल्जिया
झरनाहरुको अदभूत समूह नायगरा फल्स
प्रा.डा वीणा पौड्याल
संयुक्त राज्य अमेरिका (स.रा.अ.) र क्यानडा भ्रमण गर्ने पर्यटकहरुको प्रमुख रोजाइमा पर्दछ नायगरा फल्स ।
उत्तर अमेरिका र क्यानडालाई बिजुली बत्तीको झलमल्ल पार्ने, सिंचाई गर्ने र मनोरञ्जन प्रदान गर्ने सबै काम बगेको नायगरा नदी र विशाल रुपमा झरेको झरनाले गरेको छ । बाह्र हजार बर्षदेखि बग्दै आएको नायगरा नदिको प्रसिद्धी विशाल र सुन्दर स्वरुप झरनामा परिवर्तित भएपछि अझैै बढेको देखिन्छ ।
मिसिसिपी नदीको खोजमा निस्किएका फादर लुइस हेन्नीपिन र रेने रोबर्ट केभिलायरले सन् १६८३ मा नायगरा देखेपछि यस विशाल सुन्दर झरनाप्रति मानिसहरुको चासो बढेको थियो ।
सन् १८१९ मा स.रा.अ. र क्यानडाको राजनैतिक सिमारेखा नायगरा नदिकै आधारमा खिचियो । यस ऐतिहासिक घटनापश्चात यस स्थानले अझै चर्चा पायो । सौन्दर्य र उर्जा बत्ती दुवैको श्रोत हो नायगरा । स.रा.अ.को सरकार र क्यानडा सरकारले बेला बेलामा नायगरा झरनाको अवलोकन र विकास प्रवर्धनको लागि संयुक्त वार्ता र संझौता गरेका छन् ।
तीन वटा बेग्लाबेग्लै झरनाको संयुक्त नामाकरण नै नायगरा फल्स हो । क्यानेडियन हसै सज फल्स, अमेरिकन फल्स र ब्रिडल भिल फल्स नामाकरण गरिएका यी सुन्दर मनमोहक विशाल छाँगोको एक झलक पाउन विश्वभरकै पर्यटक लालायित देखिन्छन् । दुइवटा हाइड्रोइलेक्ट्रिक प्लान्टस्ले रिजरभ्वाएरमा पानी संकलन गरेपश्चात झरनाको रुपमा प्रभावित हुन्छन् । अमेरिकाको जियोलोजिकल सर्भेको रिपोर्ट अनुसार १÷३ क्यानेडियन झरनाको पानी अमेरिकन क्षेत्र भएर बग्दछन् । टेरापिन भने क्यानडामा पर्दछ ।
अमेरिकाको न्यूयोर्क स्टेट र क्यानडाको ओनटारियो प्रोभिन्स अन्तर्गत पर्ने नायगरा फल्स अवलोकन गर्न वर्षमा बाह्र मिलियन (एक करोड बीस लाख) पर्यटक पुग्ने गरेको तथ्याङ्क सार्वजानिक गरिएको छ । जाडोको मौसममा नायगरा नदी र झरना दुवै जमेर टक्क बसेका हुन्छन् ।
सन् १८८८ मा झण्डै बीस हजार मानिसले जमेको नायगरा नदीमा वार पार गरेको, फोटो खिचेको पेय पदार्थ कीन बेचको समाचार प्रकाशित भएको थियो । १९१२ मा हिउँ पुल पग्लेर तीन जना पर्यटक बगेर बेपत्ता भए । यस्ता फाटफुट दूर्घटनाबाहेक नायगरा फल्सको दृश्यावलोकन पूर्णत सूरक्षित मानिन्छ । ६३ बर्षिया स्कुलकी शिक्षिका र एक जना भद्र पुरुषले आफ्नो म्यानेजरलाई ढाडमा बोकेर डोरीमा हिँडेर झरना वारपार गरेको अवस्थाका चित्रहरु उत्तरी अमेरिकाको संग्रहालयमा अवलोकन गर्न सकिन्छ ।
क्यानडा र स.रा.अ.को भ्रमणको क्रममा मेरो रोजाइमा सधैँ नायगरा फल्सको अवलोकन प्राथमिकतामा पर्दछ । पानीप्रतिको आकर्षण, पानीलाई उर्जामा परिवर्तन गरेर आँखै तिरमिराउने गरेर बालिएका बत्ती एवम् तिनका खोला, अदभूत प्राकृतिक छटा र विश्वभरका पर्यटकको ओइरो, विभिन्न राष्ट्रका मानिसहरु नायगरा फल्सको अवलोकन भ्रमणमा आए पनि सबैभन्दा बढी भारतिय र चिनिँया मूलका पर्यटक देखिन्छन् । त्यसैले रेष्टुराँहरु पनि भारतिय र चिनिँया पर्यटक लक्षित गरेर खोलिएका छन् ।
अमेरिका र क्यानडा दुवैको भूभागबाट नायगरा झरनाको दृश्यावलोकन गर्न सकिए पनि क्यानडा पट्टिबाट नायगरा फल्सको दृश्य विहंगम, सुन्दर र विस्तृत रुपमा देख्न सकिन्छ । क्यानडाको ब्रामटन प्रविन्स अन्र्तगत पर्ने नायगरा फल्स अवलोकन गर्न आउने विभिन्न उमेरको पर्यटकको मनोरञ्जनलाई ध्यानमा राखेर पानी र हवाई जहाजबाट झरनाको नजिकैको दृश्यावलोकन, झरनाको नजिकैको स्थानमा पदयात्रा, डोरीमा गर्ने जीप फ्लाएर, विभिन्न परिकार खान पाइने, रेष्टुराँ, होटल, मनोरञ्जनको लागि जुवा घर (क्यासिनो) रिप्लेको म्युजियम, फो.डी. सिनेमा घर, विलिभ इट् अर नट् जस्ता रमाइला संग्रहालय पनि अवलोकन गर्न सकिन्छ । दिनमा नायगरा झरनालाई केन्द्र विन्दू बनाएर गर्न सकिने मनोरञ्जन र रातमा आताशवाजी फायर ओर्क र झरनामा पारिएको रङ्गिन बत्तीको प्रकाशले शास्त्रमा वर्णित सानो सानो इन्द्रलोकको आभास दिन सक्छ ।
उच्च स्थानबाट नायगरा फल्स र वरपरका क्षेत्रको दृश्यावलोकन गर्न १७५ फीट (५३.३ मीटर) अग्लो स्काइ ह्वीलको व्यवस्था पनि गरिएको छ । दस्तुर स्वरुप १२ क्यानेडियन डलर तिरेर ठूलो रोटेपीङ्गमा चढेपछि सबैभन्दा माथि पुगेपछि १÷२ मिनेट टक्क रोकिन्छ । धित् मर्ने गरेर झरनाको दृश्यावलोकन र फोटो खिच्ने काम गर्न सकिन्छ । ३÷४ पल्ट सम्म यो क्रम दोहोरिने भएकोले झरना, बजार, बगैँचा र मानिसको चहलपहल सबै हेर्न पाइन्छ । हवाई यात्राबाट देख्न सकिने दृश्यावलोकन १७५ फीट अग्लो रोटेपिङ्ग स्काई ह्वीलबाटै लिन सकिन्छ । माथि पुगेपछि अमेरिकी पानी जहाजमा नीलो रङ्गको रेनकोट वरसाती लगाएका र क्यानेडियन पानी जहाजमा गुलाबी रङ्गको बरसाती लगाएका मानिसको झुण्ड झुण्ड तल खोलामा सलवल गरेको देखिन्छ । माथिबाटै बजारको रमाइलो चहलपहल देख्न सकिन्छ । गल्फ खेल्ने पार्कमा सजाइएका विभिन्न प्रजातीका डाइनोसरका प्रस्तर आकृतिहरु र तिनका मुखबाट आउने बाफ र आवाजले वातावरणमा बेग्लै प्रागऐतिहासिक रमाइलोपन थपेको छ । केटा केटीहरु रमाउदैँ मनोरञ्जन गर्दै हेर्ने, खाने, खेल्ने, कीनमेल गर्ने ठाँउहरु पनि आकर्षक ढंगले मिलाएर बनाइएको छ । पर्यटकलाइ झरना मात्रै हेरेर फर्कन नपरोस् भनेर पूरा दिन मनोरञ्जन गर्दै बस्ने थलोहरु हरेक महिना थपिँदै गएको देखिन्छ ।
एक घण्टामा झरना अवलोकन गरेर फर्कन खोज्ने पर्यटकलाई एकरात वा ५-६ घण्टा व्यस्त राख्न सकिन्छ भन्ने ज्वलन्त उदाहरण हो नायगरा फल्सको व्यवस्थापन पक्ष । मनोरञ्जनलाई महत्व दिएर बनाइएका सुख सुविधाका साधनहरुले गर्दा पनि नायगरा फल्सको भ्रमण रमाइलो हुन्छ । मेड अफ दी मीष्ट अथवा हर्न ब्लोर नायगरा क्रुज जहाज चढेर दृश्यावलोकन र पानीको छीटाको शीतल स्पर्श गर्ने इच्छा भएन भने अमेरिका र क्यानडा दुवैतर्फ निर्मित सुन्दर चौर, बगैँचा र तटहरुबाट धीत मर्ने गरेर झरनाको अवलोकन गर्न सकिन्छ । झरनाको नजिकै पदयात्रा गरेर ढुङ्गा, माटो, बोट, विरुवा, पंक्षी, जनावर, पर्यावरण बारे पनि मनोरञ्जनात्मक अध्ययन अवलोकन भ्रमण गर्न सकिन्छ । केम अफ द वीण्डस् को यात्रा अमेरिकी भूमिबाट गर्न सकिन्छ । ब्राइडल भील फल्सको पछाडि पर्ने गुफाको नाम हो केम अफ द विण्डस् । सन् १८३४ मा पत्ता लागेको यो गुफा १३० फीट अग्लो, १०० फीट चौडा र ३० फिट गहिरो छ । पंहेलो रङ्गको रेनकोट वरसादी लगाएर पथ प्रर्दशकद्वारा जानकारी लिदैँ गरिने गुफाको भ्रमण निकै रोचक छ ।
नायगरा फल्स वरिपरि दृश्यावलोकन गर्ने, अध्ययन भ्रमण गर्ने थलोहरुको पहिचान गरेर पर्यटकको लागि व्यवस्थापन गरिएको छ । पर्यटनलाई टेवा दिएर आर्थिक विकास गर्न नेपाल जस्तो देशले नायगरा फल्सको व्यवस्थापन गर्न अमेरिका र क्यानडाले गरेका संझौता र सर्तहरुबाट गम्भिर भएर सिक्ने कुरा धेरै छन् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)
Ramro lagyo