जो १ सय ७० भाषामा अनुदित भए, जसले विश्वका प्रमुख ५ पुस्तक लेखे, जो एक समय भीख माग्थे

जीवनीः रुसी साहित्यकार फयोदोर दोस्तोभस्की

सुशीला शर्मा

सन् १८२१ मा रुसको मस्कोमा जन्मिएका फयोदोर दोस्तोभस्की प्रसिद्ध रसियन उपन्यासकार, लघुकथाकार, निबन्धकार तथा पत्रकार थिए । उनका रचनामा १९औं शताब्दीको रसियाको राजनैतिक, सामाजिक र आध्यात्मिक वातावरण तथा विभिन्न किसिमका दार्शनिक र धार्मिक संस्थामा संलग्नता आदि पाईन्छ ।

उनको अस्तित्ववादी साहित्यको लेखनको शुरुआत नोट्स फ्रम अन्डरग्राउण्डबाट भएको थियो । दोस्तोभस्की सन् १८४६ देखि १८८० सम्म सक्रिय लेखनमा रहे, कयौं उपन्यास तथा कथाहरु लेखे । उनको जीवनकालमा उनलाई लेखकको रुपमा कुनै महत्व दिईएन् । मृत्युपश्चात दोस्तोभस्कीलाई यथार्थवादका प्रवर्तक मानियो । साथै रुसका महान लेखकमा उनको नाम पनि सामेल भयो ।

दोस्तोभस्की रुसी विचारक तथा सामाजिक कार्यकर्ता मिखाईल पित्रअशेवस्कीको राज्य विरोधी गोप्य दलको सदस्य भएको कारणले अन्य २० जना व्यक्तिसँगै गिरफ्तार गरियो र उनलाई मृत्युदण्डको सजाँय सुनाईयो । तर यो सजाय पूरा हुुनुपूर्व अन्तिम समयमा उनीहरुको सजाँयलाई ४ वर्षको सश्रम साईबेरियामा कारावासमा बदलियो ।

दोस्तोभस्कीले सजाँय हुनुपूर्व नै लेख्न शुरु गरिसकेका थिए । साईवेरियामा कारावासको सजाँय विताएपछि उनले फेरि लेख्न शुरु गरे । द ब्रदर्श, डिमोन्स, क्र्राईम एण्ड पनिसमेन्ट, द ईडियट जस्ता प्रसिद्ध कृतिहरु दोस्तोभस्कीले लेखेका छन् । आफ्नो लेखनद्धारा रुस तथा पश्चिमका कयौं लेखकलाई यिनले प्रभावित गरेका छन्, जसमा अन्तोन चेखव पनि सामेल छन् । सन् २००२ मा नर्वे पुस्तक क्लवले विश्व साहित्यको सय प्रमुख पुस्तकमा दोस्तोभस्कीको ५ वटा पुस्तक पनि समावेश गरेको थियो ।

दोस्तोभस्कीका पिता मिखाईल दोस्तोभस्की जारको सेनामा डाक्टर थिए । उनलाई सन् १८१८ मा मस्कोको सैन्य अस्प्तालमा नियुक्त गरियो, जहाँ उनको परिचय मस्कोका ठूला व्यापारी फयोदोर निचाएफकी छोरी मारिया निचाएफसँग भयो । पछि त्यो परिचय प्रेममा बदलियो र सन् १८२० मा यी दुईले विवाह गरे । परिवारमा दोश्रो सन्तानको रुपमा फयोदोर दोस्तोभस्कीको जन्म भयो । दोस्तोभस्कीको परिवार धर्मपरायण थियो । उनले भनेका छन्, जबदेखि मैले होस सम्हाल्न थालेँ, तबदेखि नै म आफ्नो परिवारलाई गहिरो माया गर्दै आईरहेको छु । उनको परिवारमा पिता नै परिवारको प्रमुख मानिन्थ्यो । घरमा पिताकै राज चल्दथ्यो ।

दोस्तोभस्कीको परिवार पढेलेखेका परिवार मानिन्थ्यो । बाल्यकालदेखि नै फयोदोर दोस्तोभस्कीको परिचय पुश्किन, झुकोबस्की, करमजीन तथा दिरझाविन जस्ता लेखकको रचनाबाट भएको थियो । चार वर्षको उमेरदेखि नै दोस्तोभस्कीले अक्षर चिन्न थालेका थिए । उनलाई निकोलाई करमजीनद्धारा लेखिएको रुसको विस्तृत ईतिहास १० वर्षको हुँदा मुखाग्र थियो ।

सन् १८२८ मा जारले दोस्तोभस्की परिवारलाई कुलिन वर्गमा सामेल गरे । त्यसपछि यो परिवारलाई कृषि दाश राख्ने अधिकार प्राप्त भयो । फयोदोरको पिताले आफ्नो वचत र केही सापटी लिएर ३० हजार रुवलमा सन् १८३१ मा मस्कोबाट १५० किमि पर तुला प्रदेशमा दरअवोय नामको एउटा गाउँ किने, जसमा कृषि दाशका नौ परिवार बस्दथे । केही समयपछि उक्त गाउँमा आगलागी भयो । कृषि दाशका महिलाहरु दोस्तोभस्की परिवारका बच्चाहरुलाई निकै माया गर्दथे । बाल्यकालको स्मरण गर्दै दोस्तोभस्कीले नरपिशाच र गरीब मान्छे उपन्यास लेखेका छन् ।

विद्यालयमा दोस्तोभस्कीलाई शारीरिक यातना दिईएको थाहा पाएपछि उनका बाबुले आफ्ना छोराहरुलाई विद्यालयबाट निकाले र घरमा नै उनीहरुको पढाई शुरु गरे । सन् १८३४ तिर दोस्तोभस्की परिवारसँग करिब सय कृषि दाश तथा सातहजार एकड जमिन थियो । त्यसै समयमा दोस्तोभस्कीलाई पुस्तक पढ्ने बानी लाग्यो । सन् १८३४ मा दोस्तोभस्कीले वाल्टर स्टकको सबै उपन्यास पढे । ती रचनाले दोस्तोभस्कीको मनमा गहिरो प्रभाव पार्यो । उनले साहित्यिक पत्रिकामा अलेक्जाण्डर पुश्किनको एक कथा पहिलो पटक पढे । पत्रिकाकै माध्यमबाट उनको परिचय ओनेरो दे बालज्याक, भिक्टर ह्युगो जस्ता विश्वप्रसिद्ध लेखकसँग भयो । त्यससँगै दोस्तोभस्कीले पनि मनमनै आफू पनि लेखक बन्नेबारे सोचे ।

दोस्तोभस्की १६ वर्षको भएपछि उनका पिताले उनलाई लिएर सेन्ट पिटर्सवर्ग लगे र ईञ्जिनियरिङ्ग कलेजमा भर्ना गरिदिए । ईञ्जिनियरिङ्गको पढाई दोस्तोभस्कीको लागि कठिन भयो । पढाईको दौरान उनले होमर बालजाक, ह्युगो, हाफम्यान, सिलर, शेक्सपियर तथा वायरनका रचनाहरु पढिभ्याए । उनको पहिलो उपन्यास पुअर फोल्कले पिटर्सवर्गको साहित्य घेरामा प्रवेश पायो । उनी पश्चिम युरोपतिर भ्रमणमा निस्केपछि जुवाको नशामा पनि परेका थिए, जसले आर्थिक अभाव हुन थाल्यो ।

एक समय उनले पैसाको लागि भीख माग्नु परेको थियो तर उनी पछि गएर धेरैले पढिने रसियन लेखकहरुमा परे । उनका पुस्तकहरु १ सय ७० भन्दा बढी भाषामा अनुवादित भएका छन् । उनका मित्र बेलिनेवस्कीसँगको संगतले दोस्तोभस्कीले फ्रेन्च विचारकहरुको समाजवादी अवधारणाबारे बुझाई फराकिलो बनाए तर यिनको र बेलिनेबस्कीको सम्बन्ध दीर्घकालिन भएन् । दोस्तोभस्की रसियन अर्थोडक्स धार्मिक विश्वाससँग सम्बन्धित थिए भने बेलिनेबस्की नास्तिक थिए ।

दोस्तोभस्कीका केहि महत्वपूर्ण भनाईहरु
आफैसँग झुठो बोल्नु सबैभन्दा खतरनाक हुन्छ ।
तिमी आफ्नो जीवन सही तरिकाले बिताईरहेका छौ भने तिमीसँग सुनाउनको लागि कयौं कथाहरु होलान् ।
दुईटा काम गर्न मानिसहरु डराउँछन् । पहिलो नयाँ कदम बढाउन, दोश्रो नयाँ शब्द बोल्न ।
मानिसलाई आफ्ना दुखः गन्ती गर्न मात्रै आउँछ । उनीहरु कहिले पनि आफ्नो खुसीलाई गणना नै गर्दैनन् ।
प्रेमको अर्थ नै पीडा हो, यो बिना प्रेम सम्भव छैन ।
आत्मालाई शान्ति पुर्याउनको लागि बच्चासँग जीवन बिताऊ ।

(स्रोतः इन्टरनेट)


(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित समाचार

Back to top button