
‘छोरा! नेपाल खेल्दै छ, विश्वकप हेर्नुपर्छ, कार्टुन होइन’
पारसमणि घिमिरे
अहिले विश्वकपको मौसम छ । एसियाली राष्ट्र कतारले आयोजना गरेको यो विश्वकपको २२ औं संस्करणमा ३२ रास्ट्र सहभागी छन् तर यो प्रतियोगितामा सम्पुर्ण विश्व नै सहभागी छ भन्दा फरक नपर्ला । प्रत्यक्ष सहभागी नभएका देशमा आफ्नो मनपराइएको देशलाई समर्थन गरिन्छ, हरेक देशमा ३२ देश खेलिरहेका छ्न् भन्दा फरक नपर्ला ।
अरब राष्ट्र कतारमा भैरहेको यो संस्करण अरु संस्करणभन्दा फरक छ। अरुबेला जुन–जुलाइ महिनामा हुने यो प्रतियोगिता अहिले सुरु भयो । एसियामा दोस्रो पटक हुँदै गरेको यो प्रतियोगितामा सानो राष्ट्र कतारले आफ्नो प्रतिष्ठाको विषय बनाएर भव्य रूपमा आयोजना गरिरहेको छ । २०१० मा जब फिफा ले २०२२ को २२ औं संस्करण कतारलाई दिने निर्णय गर्यो, त्यो निर्णय विवादास्पद पनि बन्यो । फिफाका तत्कालीन एसिया अध्यक्ष मोहम्मद बिन हमाम, फिफा अध्यक्ष सेप ब्लाटरलगायत अन्य पदाधिकारीलाई भ्रष्टाचार मुद्दा लाग्यो तर कतार निरन्तर रूपमा आयोजनाको लागि लागिरह्यो । उसले करिब २०० अरब अमेरिकी डलर खर्च गरेर सात वटा भव्य खेल मैदान, सुसज्जित रोड संजाल, छुट्टै विमानस्थल र अन्य भौतिक संरचना बनायो । भौतिक संरचना बनाउने क्रममा दक्षिण एशियाली २०१हरु नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायतका देशका हजारौं श्रमिकहरुको मृत्यु भएको, मानवअधिकार हनन भएको भनेर त्यसको व्यापक विरोध भयो । कतारबाट विश्वकप सारेर अन्य देशमा आयोजना गर्नेसम्मका कुरा आए । तर, ती सबै कुराहरु मत्थर भएर गएका छ्न् ।

यसपालीको संस्करणमा सहभागी एसियाली राष्ट्रहरुले राम्रो प्रदर्शन गरिरहेका छ्न् भलै आयोजक राष्ट्र कतारले चाहिँ एक खेल पनि जित्न सकेन तर उसले सफल आयोजक बनेर सबैको मन जितिरहेको छ । जर्मनी, बेल्जियम, उरुग्ये जस्ता विश्वकप जित्नसक्ने भनेर आंकलन गरिएका देशहरु प्रतियोगिताबाट बाहिरिसकेका छ्न् । मलाई स्पेन, अर्जेन्टिना र पोर्चुगलजस्ता देशको भाषा–संस्कृतिको बरेमा थोर बहुत जान्कारी भएको ती देशहरुमा साथीभाइ भएकोले पनि उनीहरुमध्ये कसैले जितोस् भन्ने छ तर यो विश्वकप कसले जित्ला भनेर भन्ने स्थिती अहिले नै बनिसकेको छैन । जसले जित्छ पक्कै पनि स्तरिय टोली हुनेछ, त्यसमा दुइमत छैन ।
अहिले हरेक घर विश्वकपमय भएको छ । फुटबलमय बनेको छ । हाम्रो घरमा पनि विश्वकप भित्रिएको छ । यसपाली हाम्रै समयमा, धेरैजसो खेल राती ८ देखि १० बजे हुने भएकोले प्रत्यक्ष हेर्न समस्या छैन । तर मेरो बाबु प्रतिविम्वको कार्टून हेर्ने समयमा भएकोले सबै गेम हेर्न चाहिँ अलि समस्या छ । प्रतिविम्वमा एक किसिमको देश प्रेम छ, अहिलेको विश्वकपमा हाम्रो देश खेलेको छैन तर उसलाई फकाउनु पर्यो भने नेपाल खेल्दै छ, हेर्नु पर्छ भन्यो भने उसले बडो सहज रुपमा हेर्न दिन्छ, अनि जुन टिमलाई नेपाल भन्यो त्यसको प्रदर्शनम उत्साहित बन्छ । बाबुको नेपालप्रतिको प्रेम, नेपाल विश्वकपमा खेलेको हेर्ने हुटुहुटी वास्तवमा नै तारिफयोग्य छ ।
आशा गरौं, नेपालले फूटवलमा उल्लेख्य प्रगति गरोस् र मेरो बाबुजस्तै हामी सम्पुर्ण नेपालीको सपना चाँडो पुरा होस् ।
…
(नमस्कार ! नेपालनाम्चा तपाईंको मिडिया साथी हो । र, nepalnamcha@gmail.com मा परिचय, फोटोसहित मनका अनेक कुरा, सबै कुरा पठाउनुहोला ।)

